डेढ लाख घुस प्रकरणमा पक्राउ परेकी पोखरा महानगरपालिकाको सब इञ्जिनियर उषाकिरण रोकाया तारेखमा छुटेकी छिन् । पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सब इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर चैत २८ गते घुससहित पक्राउ परेका थिए। पोखरा ५ पर्स्याङबाट उनीहरु पक्राउ परेका थिए । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिइएको भेटिएपछि अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले उनीहरूको साथबाट १ लाख ५० हजार रूपैयाँ नगद पनि बरामद गरेको थियो।यही घुस प्रकरणमा पोखरा महानगरपालिकाका अर्का इन्जिनियर शिवराज बराल पनि पक्राउ परेका छन्।
बिज्ञापन
अख्तियारले मुद्धा अगाडि बढाउनका लागि दोस्रोपटक म्याद थपको अनुमतिका लागि बिहीबार विशेष अदालतमा प्रस्तुत गरेको थियो। अख्तियारले थप १५ दिन हिरासतमा राख्न माग सहित विशेषमा अनुमति माग गरेको थियो तर अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उषाकिरणलाई तारेखमा राखी अनुसन्धान गर्न अख्तियारलाई आदेश दिएको हो।
बिज्ञापन
उषाकिरणले २६ महिनाकी शिशुलाई स्तनपान गराउनुपर्ने भएकाले तारेखमा रहन पाउन माग गरेकी थिइन्। सोही मागको आधारमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उषाकिरणलाई तारेखमा राखी अनुसन्धान गर्न अख्तियारलाई आदेश दिएको हो।
छोरीले संरक्षणमा रहन पाउने हक समेतलाई आधार मानी उषाकिरणलाई हिरासतमा राखी अनुसन्धान गर्न मनासिव नदेखिएकोले तारेखमा छाड्न आदेश दिएको विशेष अदालतले जनाएको छ।