विराज काफ्लेको स्वर र संगीत रहेको गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास शीर्षकको गीत आज सार्वजनिक भएको छ। लामो समय देखि भारतको दिल्लीमा गजल र हिन्दुस्तानी शास्त्रीय सङ्गीतको वातावरणमा हुर्केका विराज काफ्लेले यसपूर्व अन्य धेरै गीतहरु गाइसकेका र ती गीतहरुमा नयांपन समेत रहेकोले यसपटक विराज काफ्लेको स्वर र संगीतमा वासन्ती सुवास ल्याइएको गीतकार डा. दामोदर रेग्मीले बताए।
बिज्ञापन
गीतकार रेग्मीका गीतहरुको विशेषता के रहेको छ भने उनी हाल सम्म आफ्ना गीतहरुमा गायक गायिकालाई नदोहोर्याई नयां गायक गायिकालाई स्थान दिइरहेका छन्। गीतकार डा. दामोदर रेग्मी उदीयमान गीतकार हुन् र उनले गीतकारिताको क्षेत्रमा छुट्टै पहिचान बनाएका छन्। आनि छोइंग डोल्माको स्वरमा उनको शव्द रहेको गीत जिन्दगीको पाठशाला कान्तिपुर नेशनल म्युजिक अवार्डमा मनोनयनमा परेको थियो जसमा वरिष्ठ कलाकार मिथिला शर्माको समेत अभिनय रहेको छ। प्रताप दास र अनु चौधरीको स्वरमा रहेको अलिकति हास्नु तिमी, आनन्द कार्कीको स्वरमा रहेको एक अन्जुली मायाको उपहार छरिदेउ, मुरलीधरको स्वरमा रहेको सिरेटोले छुदै छुन्न, समीक्षा अधिकारीको स्वर रहेको डाडापारी घाम डुव्यो र सुरेश तथा दीपाको स्वर रहेको यो मनको चाहना रेग्मीका लोकप्रिय गीतहरु हुन्। किरण कडेल, डि बि लामा, मुरलीधर र किर्ती न्यौपानेले उनका गीतमा संगीत दिइसकेका छन्।
बिज्ञापन
वासन्ती सुवास गीतका संगीतकार र गायक विराज काफ्ले भन्दछन् बाल्यकालमै परिवारले मेरो सङ्गीतप्रतिको रुचि देखाइदिएको र त्यसलाई निरन्तर प्रोत्साहन पनि मिल्यो। दिल्लीको विद्यालयमा बस्दा गजल र हिन्दुस्तानी शास्त्रीय सङ्गीतको उर्वर वातावरण भेटियो। शास्त्रीय सङ्गीत पाठ्यक्रमको अङ्ग थियो, अन्तरविद्यालयीय प्रतियोगितामा सहभागितालाई प्रोत्साहन दिइन्थ्यो। वरिष्ठहरूको प्रस्तुति सुनेर म एकान्तमा उनीहरूको अनुकरण गर्ने गर्थें। यसरी अरूका शब्द लिएर कुनै न कुनै रागमा ढाल्ने अभिरुचि बिस्तारै बलियो भयो। तेह्र वर्षको उमेरमा गीतकार कालीप्रसाद रिजाल र राजेन्द्र थापासँग भेट्ने अवसर मिल्यो। उहाँहरुका शव्दमा रेडियो नेपालमा गीत रेकर्ड भए र पछि म्युजिक नेपालबाट प्रकाशित सबैको लागि एल्बम बन्यो। उनी भन्छन् सोह्र वर्षको उमेरमा एकल गायकका रूपमा सांगीतिक कार्यक्रममा उभिने अवसर पनि आयो। वर्षौंपछि सोही एल्बमको गीत एक्लो बाटोको पुनःसृजित संस्करण पन्त फिल्म प्रतिष्ठान र म्युजिक नेपालबाट सार्वजनिक भयो । गीतकार डा. दामोदर रेग्मी संग मेरो पुरानो चिनजान भएपनि उहांका गीत गाउने अवसर जुरेको थिएन अहिले वासन्ती सुवास मार्फत उहांसंग जोडिन पाउदा खुशी लागेको छ ।
विराज काफ्ले पेशागत रूपमा दिल्ली विश्वविद्यालयसँग आबद्ध दयाल सिंह कलेजमा अंग्रेजी साहित्य पढाउँछन्। उनी भन्छन् साहित्यले ममा कलाको आस्वादन, आलोचनात्मक हस्तक्षेप र सामाजिक रूपान्तरणको लगाव जगायो मलाइ सामाजिक विषय टिप्पणी बोकेका गीत रचना गर्दा विशेष आनन्द मिल्छ जसमा बसन्त ढकालको यसपाली, कवि दुष्यन्त कुमारको हिन्दी कवितामा आधारित मेरो रचना चिराग मयस्सर नहीं र सबैको लागि एल्बममै रहेको राजेन्द्र थापाको पानी देशको पुनःसृजना पर्छन्। धेरै पछि म पुन संगीत र स्वरको साथ पुन श्रोता दर्शकको सामु सुप्रिध्द गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास मार्फत आएको छु मेरा अन्य गीतहरु जस्तै यो गीत पनि रुचाइदिनुहुनेछ उनी भन्छन्। गीतकार डा. दामोदर रेग्मी विराज काफ्ले संग अन्य गीतहरुमा पनि सहकार्य हुने र आफ्ना गीतहरुमा नयां गायक गायिकालाई अवसर दिने कार्यले समेत निरन्तरता पाउने कुरा बताउंछन्।
बिज्ञापन

























