सरकारले संघीय मन्त्रालय र कार्यालयमा कार्यरत कर्मचारीहरुलाई महिनाको दुई पटक अर्थात हरेक १५ दिनमा तलब तथा भत्ता खुवाउने भएको छ । महालेखा नियन्त्रक कार्यालयले अर्थ मन्त्रालयको निर्णयअनुसार देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै अर्धमासिक रूपमा तलब भत्ता भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
बिज्ञापन
अर्थमन्त्रीस्तरबाट २०८३ वैशाख ४ गते भएको निर्णयअनुसार शुरुमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई मात्र महिनाको दुई पटक तलब भुक्तानी गरेर प्रणाली परीक्षण गरिएको थियो। त्यसपछि यो व्यवस्था अब संघीय कार्यालयमा कार्यरत कर्मचारीहरुले पाउने भएका हुन ।
बिज्ञापन
महालेखा नियन्त्रक कार्यालयका अनुसार अर्धमासिक तलब भुक्तानीका लागि आवश्यक प्रणालीगत व्यवस्था मिलाइसकिएको छ । अब प्रत्येक महिनाको १५ दिन व्यतीत भएपछि कर्मचारीलाई तलब तथा भत्ता भुक्तानी गर्ने प्रक्रिया अघि बढ्नेछ । महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार हाललाई यो व्यवस्था संघीय सरकारअन्तर्गतका राष्ट्रसेवक कर्मचारीका लागि कार्यान्वयनमा ल्याइएको हो । प्रदेश र स्थानीय तहका कर्मचारीको हकमा भने सम्बन्धित तहले आवश्यक निर्णय गर्न सक्ने व्यवस्था रहेको छ। शिक्षकको हकमा बजेट निकासा प्रणाली फरक रहेकाले सम्बन्धित स्थानीय तहले आफ्नो अनुकूलतामा निर्णय गर्न सक्ने जनाइएको छ ।



























