अर्थ मन्त्रालय मातहतका दुई महत्वपूर्ण विभागहरु निमित्तको भरमा छन् । आन्तरिक राजश्व विभाग महिना दिनदेखि महानिर्देशकविहिन अवस्थमा रहेकोमा सोमबारदेखि भन्सार विभागसमेत निमित्तकै भरमा छाडिएको छ । यस अघि दीपक भट्ट एण्ड कम्पनीको कनेक्सन देखिएको भन्दै महानिर्देशक मदन दाहाललाई प्रदेशतिर खेदिएपछि आन्तरिक राजश्व विभाग महिनौदेखि रमेश अर्यालले निमित्तको रुपमा चलाइरहेका छन् । अर्थ मन्त्रालयले उपमहानिर्देशक रमेश अर्याललाई नै महानिर्देशकको जिम्मेवारी सम्हाल्न बारम्बार आग्रह गर्दासमेत उनले अस्वीकार गरिरहेको बताइन्छ । अर्यालले महानिर्देशक हुन इन्कार गरेसँगै अर्थले अन्य बरिष्ठ सहसचिवहरूलाई महानिर्देशक बन्ने प्रस्ताव गर्दा समेत उनीहरू पनि त्यस पदमा जान इच्छा नदेखाएको जनाइएको छ ।
बिज्ञापन
यता सोमबारमात्र रसुवा भन्सारबाट भित्रिएको इभी गाडीमा बदमासी भएको निष्कर्षसहित भन्सार विभागका महानिर्देशक श्याम भण्डारीलाई मन्त्रालयमा तानेर भरतमणि पाण्डेलाई निमित्त दिइएको छ । पछिल्लो समय अर्थ मन्त्रालय मातहतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रलगायत कार्यालयहरूमा कर्मचारी खटाउन अत्यन्तै कठिन भएको अर्थका कर्मचारीहरु बताउँछन् । अर्थ मन्त्रालयमा २६ जना सहसचिवको दरबन्दी रहेकोमा मन्त्रालय,मातहतका कार्यालय,निकायमा गरी ६ सहसचिवको दरबन्दी रिक्त छ । मन्त्रालयकै ९ वटा महाशाखामध्ये २ वटा माहाशाखा प्रमुखविहिन छन् भने तालिम केन्द्र, अलवा राजश्व अनुसन्धान विभागमा समेत सहसचिवकै दरबन्दी भए पनि सो विभाग खारेजी हुने भएका कारण दरबन्दी कटौती हुँदैछ ।
बिज्ञापन
यता अर्थमन्त्री स्वर्णीम वाग्लेले आफू अनुकुलको टिम बनाउने गृहकार्य गरिरहेका छन् । बजेट निर्माणमा सक्रिय समूहलाई फिल्टर गरेर मन्त्रीले नयाँ टिम बनाउने तयारी गरिरहेको अर्थ स्रोतले जनाएको छ ।
उता गृह मन्त्रालय मातहतको त्रिवि अध्यागमन एयरपोर्टमा जानका लागि यस अघि कर्मचारीहरु हानथाप हुन्थ्यो तर कुनै पुरुष कर्मचारी त्यहाँ जान नचाहेपछि सृजना थपलियालाई प्रमुख बनाएर खटाइएको छ ।

























