अघिल्लो आर्थिक बर्षमा बेरुजुको भ्योल्युम ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँले थपिएको छ ।
बिज्ञापन
महालेखाले मुलुकभरका ५ हजार ५ सय २६ निकायको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँबराबरको लेखापरीक्षण सम्पन्न गर्दा थप ८८ अर्ब ९ करोड ११ लाख रुपैंया बेरुजु थप भएको हो । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको ६३औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१ ८२ मा मात्रै ८८ अर्ब रुपैयाँभन्दा बढी बेरुजु थपिएको छ। महालेखाका अनुसार थप भएको ८८ अर्ब बेरुजु जोड्दा हालसम्मको कुल बेरुजु रकम ७ खर्ब ५३ अर्ब रुपैयाँ नाघेको छ ।
गत आर्थिक बर्षमा ,संघीय मन्त्रालय तथा निकायतर्फ ३ हजार ५० कार्यालयको २९ खर्ब १७ अर्ब ९५ करोड बेरुजु थपिएको छ । यस्तै प्रदेश मन्त्रालय तथा निकायतर्फ १ हजार १ सय २४ कार्यालयको ३ खर्ब २० अर्ब ३० करोड बेरुजु निस्कदा स्थानीय तहतर्फ ७ सय २१ निकायको ११ खर्ब ९ अर्ब ५२ करोड तथा समिति एवं अन्य संस्थातर्फ ५ सय ७७ निकायको ४ खर्ब ४७ अर्ब ७७ करोड रुपैयाँको लेखापरीक्षण गरिएको छ।
यस्तै अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको छ। त्यसमध्ये संघीय सरकारी कार्यालयतर्फ ३ खर्ब ७८ अर्ब ५४ करोड, प्रदेश सरकारी कार्यालयतर्फ ३३ अर्ब ९६ करोड, स्थानीय तहतर्फ २ खर्ब २० अर्ब ४७ करोड तथा समिति एवं अन्य संस्थातर्फ १ खर्ब २२ अर्ब २० करोड रहेको छ।गत वर्षको तुलनामा अद्यावधिक बेरुजु २।९९ प्रतिशतले वृद्धि भएको छ।
अतिरिक्त लेखापरीक्षण, राजस्व, शोधभर्ना तथा वैदेशिक अनुदान र ऋण रकमसम्बन्धी समयमै कारबाही हुनुपर्ने रकम ७ खर्ब ८७ अर्ब ८६ करोड ३ लाख रहेको छ। यस वर्ष ६३ अर्ब १२ करोड ९५ लाख बराबरको बेरुजु सम्परीक्षण गरिएको छ। त्यसमध्ये संघीय सरकारी कार्यालयतर्फ ४७ अर्ब ४४ करोड ३५ लाख, प्रदेश सरकारी कार्यालयतर्फ १ अर्ब ७४ करोड १६ लाख, स्थानीय तहतर्फ ७ अर्ब ८६ करोड ४२ लाख तथा समिति एवं अन्य संस्थातर्फ ६ अर्ब ८ करोड २ लाख रहेको छ।
बिज्ञापन
लेखापरीक्षणको प्रभावस्वरूप यस वर्ष कुल १४ अर्ब ६३ करोड २७ लाख असुल भइ सम्बन्धित राजस्व खातामा जम्मा भएको छ। त्यसमध्ये लेखापरीक्षणका क्रममा ५७ करोड ६९ लाख, प्रारम्भिक प्रतिवेदन पठाएपछि ९० करोड ४८ लाख तथा सम्परीक्षणका क्रममा १३ अर्ब १५ करोड १० लाख रुपैयाँ असुल भएको छ।



































