सर्वसाधरणले खाइ नखाइ बचत गरेको रकम बैंकका केही बदमास कर्मचारीहरुले कसरी दुरुपयोग गर्दछन् भन्ने उदाहरण बनेको छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिटिजन्स बैंक । सिटिजन्स बैंकको विराटनगरको कञ्चनबारी शाखाबाट करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको घटना सतहमा आएको साता दिन नबित्दै फेरि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी यस्तै बदमासीमा मुछिएको घटनाक्रम बाहिरिएको छ ।
बिज्ञापन
सो बैंक खातामा रहेको ग्राहकको ठूलो रकम आफ्नै खातामा ट्रान्सफर गरी हिनामिना गरेको आरोपमा कपिलवस्तुको तौलिहवास्थित मायादेवी गाउँपालिका वडा नम्बर १, पकडी बस्ने २८ वर्षीय रिषभ कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सो बैंकका कर्मचारी कार्कीले केही ग्राहकहरूको खातामा दर्ता भएको मोबाइल नम्बर परिवर्तन गरी आफ्नै मोबाइल नम्बर राखेर विभिन्न ग्राहकहरूको खाताबाट कुल १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरेको पाइएको हो ।
यस्तै प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गाईघाट शाखामा कार्यरत सुनिता बानियाँ पक्राउ परेकी छन् । त्रियुगा नगरपालिका वडा नं ५ की बानियाँले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको देखिएको छ । यस अघि मुद्दती निक्षेपमा पैसा राख्ने ग्राहकलाई थाहा नै नदिई नक्कली ऋण फाइल बनाएर रकम निकालिएको घटना बाहिरिएको थियो । सो बैंकको मोरङस्थित कञ्चनबारी शाखामा नक्कली ऋणी देखाएर करिब ५ करोड घोटाला भएको घटना हालैमात्र बाहिरिएको थियो । कञ्चनबारी शाखामा नक्कली ऋणी देखाएर ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको हो ।
शाखा कार्यालय सञ्चालन विभाग प्रमुख रोजी कँडेलको अगुवाइमा नक्कली ऋणी खडा गरेको देखिएको छ । बैंकले नक्कली ऋणी देखाएर लगिएको रकमबराबरको धितो रोजीको परिवारबाट संकलन गरिसकेको दाबी गरेको छ । आन्तरिक रूपमा विषय मिलाउने भन्दै बैंकले कँडेलको परिवारबाट ७ करोड रुपैयाँबराबरको जग्गा धितो राखेरमात्रै बैंक प्रशासन प्रहरी कार्यालय पुगेको हो । सिटिजन्स बैंकको कञ्चनबारी शाखाबाट पाँच वर्षअघि पनि ऋण अपचलन भएको थियो । त्यसबेला तत्कालीन शाखा प्रमुख रुपेश राजवंशी कारबाहीमा परेका थिए ।


























