नेपालको प्रशासनिक संयन्त्रमा लामो समयदेखि विवादको केन्द्रमा रहेका प्राविधिक सचिव गोपालप्रसाद सिग्देल यतिबेला फेरि अर्को शक्तिशाली मन्त्रालयतर्फ लक्षित दौडधुपमा सक्रिय भएको चर्चा सरकारी वृत्तमा व्यापक रूपमा चलिरहेको छ। सहरी विकास मन्त्रालयमा लामो समयदेखि तर मारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रवेश गर्नका लागि राजनीतिक र प्रशासनिक दुवै तहमा सक्रिय लबिङ गरिरहेको स्रोतहरू बताउँछन्।
बिज्ञापन
भौतिक मन्त्रालयका सचिव केशव शर्मा बिडारी अनिवार्य अवकाशमा घर गएपछि उक्त मन्त्रालयमा रिक्त भएको पदमा पुग्ने लक्ष्यसहित सिग्देलले विभिन्न राजनीतिक शक्ति केन्द्रसँग सम्पर्क बढाएको चर्चा मन्त्रालयभित्रै सुनिन्छ। लामो समय कांग्रेस निकट प्रशासनिक अधिकारीका रूपमा चिनिएका सिग्देल पछिल्लो समय आफ्नो राजनीतिक ‘लाइन’ बदल्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकट बन्न खोजिरहेको आरोपसमेत लाग्दै आएको छ। कर्मचारी वृत्तमा उनी “कालो कांग्रेस” भनेर चिनिने पात्रका रूपमा चर्चा हुँदै आएका छन्, तर अहिले स्वार्थअनुसार नयाँ शक्ति केन्द्रतर्फ झुक्ने प्रयास गरिरहेको स्रोतहरू बताउँछन्।
भौतिक मन्त्रालयको सचिव पदका लागि अहिले मुख्य चर्चा सुनिल लम्सालको नामको भइरहेका बेला सिग्देलले पनि उक्त दौडमा आफूलाई स्थापित गर्न प्रयास गरिरहेको बताइन्छ। यसका लागि उनले राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रभावशाली नेतासँग निकटता बढाउने प्रयास थालेको चर्चा प्रशासनिक वृत्तमा चलिरहेको छ।
प्राविधिक सचिवहरूमध्ये सबैभन्दा बढी विवादमा तानिएका अधिकारीका रूपमा सिग्देलको नाम लिइन्छ। कर्मचारीहरू भन्छन्—जहाँ सिग्देल पुग्छन्, त्यहीँ विवाद पनि सँगै पुग्छ। विभिन्न मन्त्रालय र विभागमा रहँदा उनीमाथि ठेकेदारसँगको निकटता, परियोजनामा सेटिङ, र प्रशासनिक निर्णयमा प्रभाव प्रयोगजस्ता आरोप पटकपटक उठ्दै आएका छन्।
बिज्ञापन
सिग्देलसँगको विवादले चरम रूप लिएको एउटा घटनाक्रम भने सहरी विकास मन्त्रालयमै देखियो। सहरी विकासमन्त्री प्रा. डा. कुमार इङनामले सार्वजनिक रूपमा सचिव सिग्देलको कार्यशैलीमाथि कडा टिप्पणी गरेपछि मन्त्रालयभित्रको तनाव सतहमा आएको थियो। मन्त्री इङनामले सिग्देललाई हटाउन मुख्य सचिवसमक्ष समेत गुनासो गरेको स्रोतहरू बताउँछन्।
यो विवादको जरो बुझ्न भने केही महिना अघिको घटनाक्रममा फर्कनुपर्छ। गत २५ पुसमा मन्त्री इङनामले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मन्त्रालयभित्रको वातावरण सुरुदेखि नै सहज थिएन। सो दिन दिउँसो २ बजे पदभार ग्रहण कार्यक्रम तय गरिएको थियो। तर मन्त्री कार्यक्रमस्थलमा पुग्दा मन्त्रालयका सचिव सिग्देलसहित उच्च अधिकारीहरू समयमै उपस्थित नभएको घटनाले सुरुमै मन्त्री र सचिवबीचको सम्बन्धमा चिसोपना पैदा भएको स्रोतले जनाएको छ।
यसपछि मन्त्रालयभित्रको सम्बन्ध झन् बिग्रिँदै गयो। केही समयअघि मन्त्री इङनामले धन्यवाद कार्यक्रम आयोजना गर्न निर्देशन दिएका थिए। तर सचिव सिग्देल र विभागीय महानिर्देशकहरूले कर्मचारीहरूलाई धन्यवाद दिने कार्यक्रमलाई मन्त्रीको विदाइ कार्यक्रम जस्तो बनाएपछि मन्त्री आक्रोशित बनेका थिए। मन्त्री निकट स्रोतका अनुसार यही घटनाले मन्त्रीको असन्तुष्टि सार्वजनिक रूपमा पोखिने वातावरण तयार गर्यो।
मन्त्री इङनाम लामो समयदेखि संघीय संसद भवन निर्माण परियोजनाको ढिलाइप्रति असन्तुष्ट थिए। कागजमा ९२ प्रतिशत काम सम्पन्न भएको देखाइए पनि परियोजनाअन्तर्गत निर्माणाधीन १२ वटा भवनमध्ये कुनै पनि पूर्ण रूपमा सम्पन्न नभएको अवस्थामा उनले ठेकेदार कम्पनीलाई कडा रूपमा काम गर्न दबाब दिन खोजेका थिए। तर चिनियाँ कम्पनीसँग संयुक्त रूपमा काम गरिरहेको नेपाली कम्पनी तुँदी कन्स्ट्रक्सनले पाँच पटक म्याद थप हुँदासमेत काममा उल्लेख्य प्रगति नगरेपछि मन्त्री रुष्ट बनेका थिए।
मन्त्री इङनामका अनुसार सम्झौताअनुसार काम सम्पन्न नभए ठेकेदारलाई दैनिक २७ लाख रुपैयाँसम्म जरिवाना तिराउन सकिने व्यवस्था थियो। तर त्यसको सट्टा उल्टै ठेकेदारकै स्वार्थअनुसार ७० करोड रुपैयाँ बराबरको ‘भेरिएसन’ स्वीकृत भएको भेटिएपछि उनले खुला रूपमा आक्रोश पोखेका थिए। यही क्रममा उनले सहरी विकास मन्त्रालय र मातहतका निकायमा ठेकेदारसँगको नेक्सस, दुईदेखि पाँच प्रतिशतसम्मको कमिसन सेटिङ, र आर्थिक वर्षको अन्त्यमा झोला बोकेर हिँड्ने प्रवृत्ति मौलाएको आरोप सार्वजनिक रूपमा लगाए।
महानिर्देशक सरुवा गर्न खोज्दा समेत व्यापक अवरोध भएको भन्दै मन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए। सिनियरिटीका आधारमा पद्म मैनाली वा चक्रकान्तजस्ता कर्मचारीलाई जिम्मेवारी दिन खोज्दा उल्टै आफूले तीन करोड रुपैयाँ घुस लिएर सरुवा गर्न खोजेको प्रचार गरिएको भन्दै उनी आक्रोशित बनेका थिए।
यही घटनाक्रमपछि मन्त्री इङनामले प्रशासनिक संयन्त्रप्रति कडा आलोचना गर्दै ‘कर्मचारीतन्त्र नै सबैभन्दा भ्रष्ट संरचना बन्दै गएको’ टिप्पणी गरेका थिए। मन्त्रालयभित्रको यही टकरावले सचिव सिग्देलको कार्यशैली फेरि सार्वजनिक बहसको विषय बनेको थियो।
यसैबीच सिग्देलको व्यक्तिगत सम्पत्ति र आर्थिक गतिविधिमाथि पनि प्रश्न उठिरहेका छन्। सरकारी वृत्तमा उनी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा लामो समयदेखि चर्चामा छन्। यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको स्रोतहरू बताउँछन्। उजुरीमा सिग्देलले सरकारी सेवामा रहँदा आर्जन गरेको भनिएको सम्पत्ति आफ्ना ससुरा हरिप्रसाद पाठकमार्फत विभिन्न व्यवसायमा लगानी गरिएको दाबी गरिएको छ।
पाठक काठमाडौंस्थित ओम अस्पताल, ओम ग्यास तथा ओम पेट्रोल पम्पसँग सम्बन्धित व्यवसायीका रूपमा चिनिन्छन्। उजुरीकर्ताहरूले सिग्देलको आर्थिक लगानी ती पारिवारिक व्यवसायमार्फत व्यवस्थापन गरिएको आरोप लगाएका छन्।
सिग्देलको नाम अर्को विवादास्पद घटनामा पनि जोडिएको छ—सार्वजनिक जग्गा अतिक्रमण प्रकरण। टोखा नगरपालिका–७ मा सार्वजनिक जग्गामा टहरा बनाएर भाडा असुली भइरहेको विषयमा काठमाडौं उपत्यका विकास प्राधिकरणले कारबाही प्रक्रिया अघि बढाउँदा प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतले डोजर चलाउने कदम चालेका थिए। तर त्यसपछि बस्नेतलाई जिम्मेवारीबाट हटाइएको घटनालाई लिएर पनि सिग्देलमाथि प्रभाव प्रयोग गरेको आरोप लागेको थियो।
यस्तै विवाद ओम अस्पतालसँग पनि जोडिएको छ। धोबीखोला करिडोरको सार्वजनिक जग्गा मिचिएको निष्कर्षपछि बस्नेतले अस्पताल परिसरमा डोजर चलाएका थिए। उक्त अस्पतालमा सिग्देलका ससुराको लगानी रहेको बताइन्छ। अस्पतालमा डोजर चलेपछि बस्नेतमाथि प्रशासनिक प्रतिशोध गरिएको चर्चा त्यतिबेला व्यापक रूपमा चलेको थियो।
२०५५ सालमा अछामबाट इन्जिनियरका रूपमा सरकारी सेवा सुरु गरेका सिग्देलको करियरमा शक्तिशाली मन्त्रालय र आर्थिक सम्भावना भएका निकायमा बस्ने प्रवृत्ति देखिएको सहकर्मीहरू बताउँछन्। सामान्य कार्यालयमा सरुवा हुँदा उनी असहज हुने र प्रभावशाली अड्डा रोज्ने प्रवृत्तिका कारण पनि उनको नाम लामो समयदेखि चर्चामा रहँदै आएको छ।
अहिले भने अवकाश नजिकिँदै गर्दा पनि उनी फेरि अर्को शक्तिशाली मन्त्रालयमा प्रवेश गर्ने प्रयासमा रहेको चर्चा चलिरहेको छ। सिग्देल २०८३ असोज दोस्रो साता अनिवार्य अवकाशमा जाने तयारीमा छन्। तर अवकाशअघि नै अर्को शक्तिशाली मन्त्रालयमा पुग्ने प्रयास, उठिरहेका भ्रष्टाचारका आरोप र राजनीतिक शक्ति केन्द्रसँगको निकटता खोज्ने गतिविधिले उनको कार्यकाल झन् विवादित बनाएको छ।
अब प्रश्न उठेको छ—यी आरोप र विवादबीच सिग्देल फेरि शक्तिशाली मन्त्रालयमा प्रवेश गर्न सफल हुन्छन् कि प्रशासनिक तथा राजनीतिक दबाबले यो प्रयास रोकिन्छ ? यसको उत्तर भने आगामी प्रशासनिक निर्णय र सम्भावित अनुसन्धानले मात्र स्पष्ट पार्नेछ।
अकुत सम्पत्तिको आरोपले घेरिएका सचिव सिग्देल : ओम अस्पतालदेखि सरकारी जग्गासम्म विवादै विवाद
धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…


























