भारतमा एलपिजी ग्यास अभावका कारण डिपोहरूमा देखिएको भीडले एक वृद्धको ज्यान लिएको छ। उत्तर प्रदेशको फर्रूखावादमा ग्यास लिन लाइनमा बसेका ७५ वर्षीय एक वृद्ध ढलेर मृत्यु भएको घटना सार्वजनिक भएको हो।
बिज्ञापन
बिबिसी हिन्दीका अनुसार फर्रूखावादको मनिहारी मोहल्लाका ७५ वर्षीय मुख्तार अन्सारी शुक्रबार बिहान लाल सरायस्थित ग्यास डिपोमा एलपिजी सिलिण्डर लिन पुगेका थिए। ग्यास अभावका कारण बिहानैदेखि डिपोमा उपभोक्ताको लामो लाइन लागेको थियो। घन्टौँसम्म लाइनमा उभिनुपर्दा अन्सारी अचानक ढलेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसी हिन्दीले जनाएको छ।
ढलेपछि त्यहाँ उपस्थित मानिसहरूले तत्कालै उनलाई प्राथमिक उपचारका रूपमा सिपिआर दिएका थिए। तर होसमा नआएपछि स्थानीयहरूले उनलाई नजिकैको नर्सिङ होममा पुर्याएका थिए। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
परिवारका सदस्यका अनुसार अन्सारी केही समयदेखि अस्वस्थ थिए र हालै उनको उपचारसमेत भइरहेको थियो। मृतकका भतिजा मोहम्मद वसीले घन्टौँसम्म लाइनमा उभिनुपर्दा स्वास्थ्य अवस्था बिग्रेर काका ढलेको बताएका छन्।
बिज्ञापन
घटनाप्रति भारतको विपक्षी दल समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले सरकारको आलोचना गरेका छन्। उनले ग्यासको लाइनमा बसेका एक वृद्धको मृत्यु हुनु दुःखद र दुर्भाग्यपूर्ण भएको भन्दै आपूर्ति व्यवस्थापनमा भएको कमजोरीका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको टिप्पणी गरेका छन्।
हाल मध्यपूर्वमा देखिएको तनावका कारण इन्धन आपूर्तिमा असर परेको बताइन्छ। अमेरिका र इजरायलले इरानमाथि गरेको हमलापछि उत्पन्न तनावले अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति प्रभावित भएको छ। यसको असर भारत र नेपालसहित विभिन्न देशहरूमा देखिन थालेको छ, जहाँ पेट्रोलियम पदार्थ र ग्यास डिपोहरूमा उपभोक्ताको लामो लाइन लाग्न थालेको छ।


























