निर्वाचन आचारसंहिता लाग्नु अघिल्लो दिन हतार हतार प्रदेशका निमित्त सचिवले गरेको ४० जना कर्मचारी सरुवाको विवाद अदालत पुगेको छ ।
बिज्ञापन
कामु सचिव मधेश प्रदेशमा नभएको मौका छोपी निमित्त सचिव रामकुमार महतोले छापामार शैलीमा ४० कर्मचारी सरुवा गरेसँगै उक्त सरुवा आर्थिक चलखेल र लेनदेनमा भएको आरोपसहित केही कर्मचारीहरु उच्च अदालत जनकपुरको ढोका ढकढकाउन पुगेका हुन । गत २ माघमा मधेश प्रदेशले नवौं तहका २, आठौँ तहका १ वरिष्ठ शाखा अधिकृत १, सातौँ तहका ९ सहित पाँचौँको तहका ५ र छैटौंका १० र राजपत्रांकित प्रथम श्रेणीका १ जना सरुवा गरिएको थियो । यसरी सरुवा गरिँदा बढी बजेट भएका खरिद, कमाइ हुने शाखामा जान खोज्ने कर्मचारीबाट लाखौँ लाख असुलिएको आरोप समेत सोही प्रदेशका कर्मचारीहरुबाट लाग्दै आएको छ ।
कार्यालयले निमित्त सचिवस्तरकै निर्णयले ठूलो संख्यामा अस्वभाविक रुपमा कर्मचारी सरुवा गरेपछि सो विवाद अदालतमा पुगेको हो । मापदण्डविपरीत सेटिङमा सरुवा गरिएको भन्दै नवौं तहमा कार्यरत बबिता जयसवाल, यातायात व्यवस्था कार्यालय धनुषाका प्रमुख धन्नजय सिंह र पर्यटन विकास कार्यालय धनुषाका प्रमुख रोहितकुमार प्रशैला अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पुगेका हुन ।


























