नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरण गरेपछि पार्टीभित्र असन्तुष्टि चर्किएको छ । शनिबार झण्डै ८ घण्टा बसेको एमाले सचिवालय बैठकमा निश्चत मापदण्ड विनै उम्मेदवार छनोट गरिएपछि नेताहरुले असन्तृष्टि जनाउन थालेका छन् ।
बिज्ञापन
विशेष गरी टिकट वितरणमा पार्टी अध्यक्ष ओलीले एकलौटी गरेको भन्दै नेताहरुले आपत्ति जनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेल पक्षधर योगेश भट्टराईसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति ओली अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औैं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।
यता, एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा २ मा पुग्दा ठाकुर गैरेको टिकट खोसिएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गरेर पाल्पा पुगेका हुन । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले देशभरीका उम्मेवारको टुंगो लगाउँदा पौडेल पाल्पा २ जाने निर्णय भएको छ । उनी यसअघि रुपन्देही २ बाट निर्वाचित हुँदै आएका थिए। यसपटक पनि उनको नाम त्यही क्षेत्रबाट एकल सिफारिस भएको थियो। तर त्यहाँ हार्ने स्थिति देखेसँगै उनी पाल्पाबाट चुनाव लड्ने भएका हुन ।
पाल्पा २ मा यसअघि ठाकुर गैरे ले निर्वाचन जितेका थिए । तर यसपटक गैरेलाई टिकट नदिइएर उपाध्यक्ष पौडेललाई टिकट दिइएकोले विवाद उत्पन्न भएको हो ।


























