यस वर्षको नाडा अटो शो सुरुवातमै ठूलो विवादमा तानिएको छ। भृकुटीमण्डपमा भइरहेको अटो शोमा ‘उड्ने कार (फ्लाइङ कार)’ भन्दै प्रस्तुत गरिएको साधन वास्तवमा कार नभई ठूलो आकारको ड्रोन मात्र भएको खुलासापछि सर्वसाधारण दर्शक आक्रोशित बनेका छन्।
बिज्ञापन
नाडा अटो शोमा हरेक वर्ष नयाँ प्रविधि र गाडीको प्रदर्शन हुँदै आएको भए पनि यसपटक एमएडब्लु कम्पनी र डिपल गाडीको सहकार्यमा ल्याइएको भनिएको “फ्लाइङ कार” ले दर्शकलाई ठगिएको महसुस गराएको छ।
बिज्ञापन
एक दर्शकले भने, “फ्लाइङ कार भन्छन् भनेर उत्साहित भएर हेर्न गएको थिएँ, तर त्यहाँ ठुलो ड्रोन देख्दा निराश भएँ। कार भन्नासाथ पांग्रा हुनु पर्ने होइन र ? यो त नेपालीलाई उल्लु बनाएको जस्तो लाग्यो।”
सो घटनापछि सामाजिक सञ्जालमा आलोचना चर्किएको छ। धेरैले नाडाले नदेखिएको प्रविधि देखाएर ग्राहक आकर्षित गर्ने अस्वाभाविक शैली अपनाएको आरोप लगाएका छन्।
बिज्ञापन
विशेषज्ञहरूका अनुसार, कारको नाममा ड्रोन प्रदर्शन गर्नु उपभोक्ता अधिकारविपरीत मात्र नभई कानूनी दृष्टिले पनि अमान्य कार्य हो। किनभने यस्तो साधनलाई बेच्न वा किन्न कानूनी प्रक्रिया नै नभएको र सरकारी नियमले समेत अनुमति नदिने स्पष्ट छ।
यसैबीच, अटो शोको उद्घाटनका क्रममा प्रमुख अतिथि बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आयोजकहरूले झुक्याएको आशंका गरिएको छ। उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सो–कथित ‘फ्लाइङ कार’को प्रशंसा गरेका थिए। तर पछि थाहा भएको वास्तविकता भने सडकमा गुड्न नसक्ने, केवल करिब १५ मिनेट मात्र आकाशमा उड्न सक्ने ड्रोन भएको हो।
गाडी विज्ञहरूको भनाइमा विश्वका विभिन्न मुलुकमा सडकमा गुड्ने र आकाशमा उड्ने दुवै क्षमता भएका वास्तविक फ्लाइङ कार निर्माण भइसकेका छन्। तर नेपालमा त्यस्ता कार आयात नभइसकेको अवस्थामा आयोजकले प्रधानमन्त्रीकै उपस्थितिमा तथ्य जाँच नगरी प्रविधि प्रदर्शन गर्ने दुस्साहस गरेको देखिएको छ।
उक्त ‘फ्लाइङ कार’ डिपल कम्पनीको उत्पादन हो, जसलाई चीनबाट ल्याएर नेपालमा आधिकारिक बिक्रेता चाङआन नेपाल ले अटो शोमा प्रस्तुत गरेको हो।
यस प्रकरणपछि नाडा अटो शोको विश्वसनीयतामै गम्भीर प्रश्न उठेको छ। विज्ञ र सर्वसाधारण दुवैले अबका दिनमा नाडाले प्रविधि र उत्पादन प्रदर्शन गर्दा पूर्ण पारदर्शिता र प्रामाणिकता अपनाउनुपर्ने माग गरेका छन्।
पूर्वसचिव भिम उपाध्यायले समेत सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेखेका छन् –
“Flying Car थियो कि Drone? उल्लु नबनाओस् कुनै नेपालीलाई पनि, हामी त्यति ग्वॉजे छैनौँ!”