मधेसमा अर्को गठबन्धन बनाउने कसरत

एकातिर कांग्रेस–एमाले गठबन्धन,संविधान संशोधन गरेर साना दल सखाप पार्ने खेलोमेला चलेसँगै मधेश केन्द्रित साना दल एकै ठाँउमा उभिने प्रयास गर्दैछन् । ठूला दल काँग्रेस र एमाले हर्कतका विरुद्धमा मधेशका दलहरु एकै ठाउँमा संगठित हुने बिषयमा केही चरण छलफल भएको जनाइएको छ ।

बिज्ञापन

काँग्रेस र एमाले दुई ठूला दलले संविधान संशोधन गरी समानुपातिक व्यवस्था हटाउने, साना दललाई समाप्त गरेर दुई दलीय व्यवस्था कायम गर्न खोजेको चर्चा भइरहेको समयमा मधेस केन्द्रित दलले त्यसविरुद्ध संगठित हुने प्रयास गरिरहेका हुन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशकेन्द्रित दलको मोर्चावन्दीको प्रस्ताव राखेका हुन । उनले संविधान संशोधनमा दबाब बढाउन मोर्चा वा गठबन्धन आवश्यक रहेकोले लोकतान्त्रिक समाजादी पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लासँग यो बिषयमा छलफल गरेको बताइएको छ । ठूला दलका हर्कतका विरुद्धमा मधेसी, आदिवासी, जनजाति तथा पिछडिएकाहरू संगठित गराउन खोजिएको हो । साझा मुद्दामा एक्लाएक्लै संघर्ष गर्नुभन्दा सबै दल मिलेर संघर्ष गर्दा प्रभावकारी हुने भन्दै मधेश केन्द्रित दलहरु संगठित हुने बिषयमा छलफल गरेको हो । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले मधेसमा एउटा शक्ति निर्माण नभएसम्म प्राप्त उपलब्धि गुम्ने र पाउनुपर्ने अधिकार पनि नपाइने हुनसक्ने भन्दै उनले त्यसका लागि मधेसमा मोर्चाबन्दीको आवश्यक रहेको बताए ।

बिज्ञापन

यस अघि ०७४ वैशाख ७ गते मधेश केन्द्रित राजनीति गर्दै आएका ६ दलको आत्मा एक ठाउँमा हुँदा राष्ट्रिय जनता पार्टी (राजपा) बनेको थियो । छाता चुनाव चिन्हसहित पार्टी एकतावद्ध गर्दा तत्कालीन महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक आवद्ध भएका थिए । त्यसपछि राजपा र समाजवादी पार्टी बिच एकता भएर जनता समाजवादी पार्टी नेपाल बनेको थियो । पछिल्लो समय जसपा नेपाल विभाजन भएर लोसपा नेपाल बनेको छ । जसपा नेपालबाट महन्थ ठाकुरहरू अलग भएर लोसपा नेपाल गठन गरे । जसपा नेपालबाट महेन्द्र राय यादवहरू पनि अलग भए । रेशम चौधरी, वृषेशचन्द्र लाल पनि अलग भए ।

अहिले एकीकृत दलबाट नेताहरू अलगअलग हुँदै छु्ट्टै दल बनाउन लागेका छन् । तर अहिले कांग्रेस–एमाले गठबन्धनले संविधान संशोधनको कुरा गर्न थालेपछि ती दलहरू गोलबद्ध हुने सुरसारमा छन् । यस अघि बनेको गठबन्धन बर्ष दिन पनि टिकेको थिएन । राजपा,जसपा हुँदै बनेको गठबन्धन नै तितर वितर बन्न पुग्यो । राजेन्द्र महतो उक्त गठबन्धन छाडेर अहिले राष्ट्रिय मुक्ति क्रान्ति भन्दै हिडिरहेका छन् । महेन्द्र राय यादव माओवादीसँग नजिकिएका छन् । राजकिशोर यादव संसदीय समितिका सभापति भूमिकामा छन् । शरदसिंह भण्डारी २० औं पटक मन्त्री बनेर सिंहदरबारमा नयाँ रेकर्ड कायम गराइसकेका छन् । अहिले मधेशमा लोसपा, जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जसपालगायतका दलहरू अस्तित्वमा छन् । यी दलबीच मोर्चाबन्दी बन्न आवश्यक रहेको मधेशका नेताहरुले बताउन थालेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।