नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि प्राथमिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै काभ्रेपलाञ्चोकलाई देशकै नमुना तथा सिकाइ केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखहरूले गरेका छन्।
बिज्ञापन
धुलिखेलस्थित हिमालय दृश्यमा आयोजित गोलमेच नीतिगत संवादपछि १३ स्थानीय तहका प्रमुखहरूले संयुक्त रूपमा ९ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै काभ्रेलाई प्राथमिक स्वास्थ्य सेवाको राष्ट्रिय सिकाइ केन्द्र बनाउने घोषणा गरेका हुन्।
बिज्ञापन
२०७९ भदौ १७ गतेदेखि काभ्रेपलाञ्चोकमा सञ्चालनमा रहेको उच्च रक्तचाप रोकथाम तथा व्यवस्थापन कार्यक्रमलाई थप व्यवस्थित र विस्तार गर्ने प्रतिबद्धता गरिएको छ। जिल्लाका १३ वटै पालिकाका १६७ स्वास्थ्य संस्थामार्फत उच्च रक्तचापका बिरामी पहिचान, उपचार र नियमित निगरानी हुँदै आएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार कार्यक्रम सञ्चालनका क्रममा ६१८ स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ भने करिब १० हजार व्यक्ति नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन्। उपचार र नियमित निगरानीका कारण उच्च रक्तचापबाट हुन सक्ने जटिलता घटाउन सहयोग पुगेको विभागको दाबी छ।
बिज्ञापन
स्वास्थ्य सेवा विभागको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. पोमावती थापाले कार्यक्रममा काभ्रेपलाञ्चोकमा सञ्चालन गरिएको अभियानबाट प्राप्त उपलब्धि, चुनौती र सिकाइ प्रस्तुत गरिन्। उनका अनुसार काभ्रेको अनुभव नेपालमा नसर्ने रोग नियन्त्रणका लागि प्रभावकारी नमुनाका रूपमा स्थापित हुँदै गएको छ।
काभ्रेपलाञ्चोकमा सुरु भएको कार्यक्रमलाई आधार बनाएर अहिले पर्सा, बारा, कैलाली र इलाममा समेत विस्तार गरिएको छ। आगामी दिनमा अन्य जिल्लामा पनि कार्यक्रम विस्तार गर्ने तयारी स्वास्थ्य सेवा विभागको छ।
कार्यक्रममा नेपालमा प्रत्येक वर्ष एक लाख ३७ हजारभन्दा बढी मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको र करिब ४७ लाख व्यक्ति उच्च रक्तचापको जोखिममा रहेको जानकारी दिइयो।
सहभागीहरूले नसर्ने रोग नियन्त्रणका लागि स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको उपलब्धता, प्रोटोकलअनुसार उपचार, प्रभावकारी रेफरल प्रणाली, बिरामीको नियमित ट्र्याकिङ तथा फलोअप र औषधिको निरन्तर आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
विश्व स्वास्थ्य संगठनका वरिष्ठ स्वास्थ्य नीति सल्लाहकार डा. ग्याम्पो दोर्जीले काभ्रेपलाञ्चोकमा भइरहेको काम अन्य जिल्लाका लागि उपयोगी सिकाइ बन्न सक्ने बताए। उनले उपचार सुरु गरेका बिरामीले नियमित औषधि सेवन गरे/नगरेको निगरानीसँगै औषधिको निरन्तर उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उच्च रक्तचापको उपचारबाट लाभ लिइरहेका दुई सेवाग्राहीले आफ्नो अनुभव सुनाउँदै नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्यकर्मीको परामर्श र औषधि सेवनले आफूहरूको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको बताए। उनीहरूले उच्च रक्तचापबारे जनचेतनामूलक अभियानलाई अझ व्यापक बनाउनुपर्ने सुझाव दिए।
स्वास्थ्यकर्मी तथा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका उपलब्धि र चुनौतीबारे जानकारी दिएका थिए। विश्व स्वास्थ्य संगठनले तयार गरेको वृत्तचित्र पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो। जिल्लामा उच्च रक्तचापको अवस्था र कार्यक्रमको प्रगतिबारेको संवाद सतीश विष्टले सहजीकरण गरेका थिए।
गोलमेच संवादपछि जारी ९ बुँदे प्रतिबद्धतापत्रमा नागरिकलाई स्वास्थ्य सेवाको केन्द्रमा राख्ने, नसर्ने रोगसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै विस्तार गर्ने तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य थप मजबुत बनाउने उल्लेख छ।
त्यस्तै, प्राथमिक स्वास्थ्य सेवाको दिगो प्रणाली विकास गर्ने, काभ्रेपलाञ्चोकलाई राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने, आवश्यक स्रोत परिचालन तथा समन्वयमार्फत कार्यक्रमको दिगोपन सुनिश्चित गर्ने र तथ्य तथा परिणाममा आधारित जवाफदेहिता कायम गर्ने प्रतिबद्धता गरिएको छ।
स्थानीय तहको नेतृत्वलाई राष्ट्रिय स्वास्थ्य प्रणाली रूपान्तरणको महत्वपूर्ण आधार बनाउँदै काभ्रेपलाञ्चोकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको सिकाइ र नमुना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धतामा जिल्लाका १३ वटै पालिकाका प्रमुखहरूले हस्ताक्षर गरेका छन्।
कार्यक्रम स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, विश्व स्वास्थ्य संगठन, काभ्रेपलाञ्चोकका १३ स्थानीय तह र जनस्वास्थ्य कार्यालयको आयोजनामा भएको थियो।
सामाजिक विकास मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो। विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाको सहभागिता थियो।


























