काठमाडौं । नेपाल निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा नयाँ कार्यकारी निर्देशकका रूपमा डा. जितेन्द्र परियारले पदभार ग्रहण गरेको दिनदेखि अस्पतालको सेवा प्रवाह प्रभावित भएको छ। अस्पतालको कम्प्युटर प्रणाली (सिस्टम) डाउन भएपछि ओपिडी टिकट वितरण अवरुद्ध हुँदा उपचारका लागि आएका सयौं सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ।
बिज्ञापन
आज बिहानदेखि नै अस्पतालमा उपचार गराउन आएका सेवाग्राही टिकट लिन लामो लाइनमा बसेका थिए। कतिपय सेवाग्राही बिहान ४ बजेदेखि नै पालो कुर्दै अस्पताल परिसरमा पुगेका थिए। सामान्यतया बिहान ७ बजेदेखि सञ्चालन हुने टिकट काउन्टर निर्धारित समयमा नखुलेपछि सेवाग्राहीले कारण खोजेका थिए।
बिज्ञापन
अस्पताल प्रशासनले कम्प्युटर प्रणाली डाउन भएकाले टिकट वितरण गर्न नसकिएको जानकारी दिएपछि सेवाग्राही आक्रोशित बनेका थिए। केही समय अस्पताल परिसरमा नाराबाजीसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
सिभिल अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामी आउने भएकाले टिकट वितरणमा केहीबेरको अवरोधले पनि सेवा प्रवाहमा ठूलो असर परेको छ। विशेषगरी उपत्यका बाहिरबाट बिहानै उपचारका लागि आएका सेवाग्राही सबैभन्दा बढी समस्यामा परेका थिए। कतिपयले घण्टौं लाइनमा बसेपछि पनि समयमै उपचार सेवा नपाएको गुनासो गरेका छन्।
बिज्ञापन
अस्पताल प्रशासनले भने प्राविधिक समस्या (सिस्टम डाउन) का कारण सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या समाधान गरी सेवा यथाशीघ्र सुचारु गर्ने जनाएको छ। प्रणाली किन डाउन भयो र यस्तो समस्या दोहोरिन नदिन के उपाय अपनाइँदैछ भन्नेबारे प्रशासनले विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन।
यसअघि मात्रै सरकारले डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। उनको नियुक्ति प्रक्रिया नै विवादबीच सम्पन्न भएको थियो। नियुक्तिपछि अस्पतालको मुख्य सेवा प्रणाली अवरुद्ध हुँदा सेवाप्रवाह र व्यवस्थापन क्षमतामाथि प्रश्न उठ्न थालेको छ।
स्वास्थ्य सेवा जस्तो अत्यावश्यक क्षेत्रमा सूचना प्रविधि प्रणाली अवरुद्ध हुँदा सर्वसाधारणले प्रत्यक्ष सास्ती भोग्नुपर्ने अवस्था देखिएकाले अस्पताल प्रशासनले सेवा निरन्तरता सुनिश्चित गर्न प्रभावकारी वैकल्पिक व्यवस्था गर्नुपर्ने माग सेवाग्राहीहरूले गरेका छन्।






























