काठमाडौं । नेपाल निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका एक चिकित्सकको उम्मेदवारीलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ। विगतमा चिकित्सकीय लापरवाहीको अत्यन्त चर्चित घटनामा कारबाही भोगेका डा. जितेन्द्र परियारको उम्मेदवारी रद्द गर्न माग गर्दै सम्बन्धित निकायहरूमा उजुरी परेपछि नियुक्ति प्रक्रियामै प्रश्न उठ्न थालेको छ।
बिज्ञापन
वि.सं. २०६८ साल साउन २६ गते चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएको एउटा घटनाले नेपालको स्वास्थ्य क्षेत्रलाई स्तब्ध बनाएको थियो। रूपन्देहीकी ३२ वर्षीया छमकुमारी बोहरा घाँटीको थाइराइड क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी थिइन्। तर नाम झुक्किएको र चिकित्सकीय लापरवाही भएको भन्दै उनको उपचारको सट्टा पाठेघर नै शल्यक्रिया गरेर निकालिएको घटना सार्वजनिक भएको थियो। उक्त घटनाले देशभर चिकित्सकीय उत्तरदायित्व र बिरामीको सुरक्षामाथि गम्भीर बहस जन्माएको थियो।
बिज्ञापन
सो घटनामा संलग्न चिकित्सकमध्ये डा. जितेन्द्र परियारमाथि अस्पतालले कारबाही गरेको थियो भने नेपाल मेडिकल काउन्सिलले समेत उनको चिकित्सक इजाजतपत्र छ महिनाका लागि निलम्बन गरेको थियो। उक्त घटना नेपालको चिकित्सा इतिहासकै सबैभन्दा विवादास्पद लापरवाहीका घटनामध्ये एक मानिन्छ।
हाल डा. परियार नेपाल निजामती कर्मचारी अस्पतालमा कार्यरत छन्। उनी सोही अस्पतालको कार्यकारी निर्देशक पदका लागि उम्मेदवार बनेपछि पुराना विवादहरू पुनः चर्चामा आएका छन्। उनको उम्मेदवारी अयोग्य घोषित गर्न माग गर्दै नेपाल मेडिकल काउन्सिल तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा छुट्टाछुट्टै उजुरी परेको स्रोतले जनाएको छ।
बिज्ञापन
मन्त्रालयका सचिव मदन भुजेललाई सम्बोधन गरिएको उजुरीमा विगतमा चिकित्सकीय लापरवाहीका कारण कारबाही भोगिसकेको व्यक्तिलाई सार्वजनिक अस्पतालको नेतृत्वमा नियुक्त गर्नु अस्पतालको प्रतिष्ठा, सुशासन र बिरामीको विश्वासका दृष्टिले उपयुक्त नहुने उल्लेख गरिएको बताइएको छ।
मन्त्रालय स्रोतका अनुसार डा. परियारको विषयमा विभिन्न तहबाट गुनासा र आपत्तिहरू प्राप्त भएका छन्। स्रोतले सिभिल अस्पतालमा कार्यरत रहँदाका केही प्रशासनिक तथा व्यावसायिक गतिविधिबारे समेत उजुरीहरू आएको दाबी गरेको छ। यद्यपि ती उजुरीहरूको आधिकारिक सत्यता सम्बन्धित निकायले परीक्षण गर्न बाँकी छ।
स्वास्थ्य क्षेत्रका जानकारहरू सार्वजनिक अस्पतालको नेतृत्वमा नियुक्त हुने व्यक्तिको व्यावसायिक क्षमता मात्र नभई नैतिक विश्वसनीयता, अनुशासन, विगतको कार्यसम्पादन र सार्वजनिक विश्वाससमेत गम्भीर रूपमा मूल्याङ्कन गरिनुपर्ने बताउँछन्। उनीहरूका अनुसार नेतृत्वमा बस्ने व्यक्तिप्रति नै प्रश्न उठिरहेको अवस्थामा अस्पतालको संस्थागत छवि र सेवा प्रवाहमा समेत नकारात्मक असर पर्न सक्छ।
सरकारले सार्वजनिक अस्पतालका प्रमुख नियुक्त गर्दा योग्यता, क्षमता, विगतको अभिलेख, अनुशासन, कानुनी अवस्था र जनविश्वासलाई प्राथमिक आधार बनाउनुपर्ने आवाज उठिरहेको छ। विगतमा गम्भीर चिकित्सकीय लापरवाहीमा कारबाही भोगेका व्यक्तिलाई पुनः ठूलो जिम्मेवारी दिइए त्यसले बिरामीको विश्वास अझ कमजोर बन्ने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन्।
यद्यपि डा. परियारको उम्मेदवारीबारे अन्तिम निर्णय सम्बन्धित छनोट समिति र सरकारले गर्नेछ। नेपाल निजामती कर्मचारी अस्पताल जस्तो संवेदनशील संस्थाको नेतृत्व चयन गर्दा सरकारले पारदर्शिता, जवाफदेहिता, नैतिक आचरण र सार्वजनिक विश्वासलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने माग बढिरहेको छ।




























