काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएपछि लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
बिज्ञापन
मन्त्रालयका अनुसार बिदा अवधि सकिएपछि पनि आफ्नो कार्यरत कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका ती कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो। प्रारम्भिक छानबिनका क्रममा उनीहरूले अस्थायी आवासीय अनुमति (TR), स्थायी आवासीय अनुमति (PR) तथा डाइभर्सिटी भिसा (DV) प्राप्त गरेको खुलेको मन्त्रालयले जनाएको छ।
बिज्ञापन
मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित कर्मचारीहरूलाई १५ दिनभित्र चित्तबुझ्दो आधार, प्रमाण र सफाइसहित लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ।
मन्त्रालयका अनुसार उनीहरूको कार्यशैली निजामती सेवा ऐन, २०४९ विपरीत देखिएकाले भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी विभागीय कारबाही अघि बढाउने अवस्था सिर्जना भएको छ। तोकिएको अवधिभित्र सन्तोषजनक स्पष्टीकरण प्राप्त नभए कानुनबमोजिम थप प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।























