दाङको तुलसीपुर उपमहानगरपालिका–१९ दोघरेकी २६ वर्षीया कमला खड्का वली हत्या प्रकरणमा उच्च अदालत तुलसीपुरले नेपाल सरकारका लेखा अधिकृत रहेका उनका श्रीमान् गोपाल वलीसहित चारै जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। यसअघि जिल्ला अदालत दाङले श्रीमान् गोपाल वलीलाई मात्र थुनामा पठाउने र उनका बुबा कर्णबहादुर वली, भाउजू टीका केसी तथा बहिनी पुतला वलीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध पीडित पक्षले पुनरावेदन गरेपछि उच्च अदालतले जिल्ला अदालतको आदेश उल्ट्याएको हो।
बिज्ञापन
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले जिल्ला अदालतको आदेशलाई ‘बेरितको’ ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम सबै प्रतिवादीलाई थुनामै राखेर मुद्दाको अन्तिम किनारा गर्नुपर्ने आदेश दिएको हो।
बिज्ञापन

अदालतले आदेशमा उपलब्ध प्रमाण, घटनाको प्रकृति तथा अनुसन्धानबाट संकलित विवरणहरूको गहन विश्लेषण गरेको उल्लेख गरेको छ। शव परीक्षण प्रतिवेदनअनुसार कमलाको मृत्यु टाउकामा लागेको गहिरो चोटका कारण भएको देखिएको छ। घटनास्थल मुचुल्कामा चारवटा चारपाटे दाउराका टुक्रा फेला परेको, मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथा प्रत्यक्षदर्शी, नाबालक छोरा–छोरी र अन्य साक्षीहरूको बयानलाई अदालतले महत्वपूर्ण प्रमाणका रूपमा ग्रहण गरेको छ।
बिज्ञापन
गत चैत १२ गते बेलुका तुलसीपुर–१९ स्थित आफ्नै घरमा कमलामाथि कुटपिट भइरहेको बेला घरमै रहेका परिवारका अन्य सदस्यले उनलाई बचाउने प्रयास नगरेको आरोप सुरुदेखि नै लागेको थियो। स्थानीयका अनुसार कमला र उनका नाबालक छोराछोरीले हारगुहार गर्दा पनि परिवारका सदस्यले हस्तक्षेप नगरेका थिए। छिमेकीहरू उद्धारका लागि घरभित्र प्रवेश गर्न खोज्दा गोपालका बुबा कर्णबहादुर वली छतमा लाठी लिएर उभिएको र कसैलाई घरभित्र जान नदिएको आरोपसमेत स्थानीयले लगाएका थिए। प्रहरी अनुसन्धानका क्रममा यस्ता विवरणहरू पुष्टि भएको जनाइएको छ।
घटनापछि गम्भीर घाइते भएकी कमलालाई उनका नाबालक छोराले घिसार्दै घरबाहिर ल्याएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो। कमला र गोपालका एक छोरा र एक छोरी छन्।
पीडित पक्षका तर्फबाट अधिवक्ता मोहनप्रसाद धिताल, प्रदीपकुमार गौतम र विजय पोख्रेलले बहस गरेका थिए भने प्रतिवादी पक्षबाट सहन्यायाधिवक्ता महेशप्रसाद खत्री र अधिवक्ता कुमारराज श्रेष्ठले कानुनी प्रतिरक्षा गरेका थिए।
उच्च अदालतको पछिल्लो आदेशसँगै अब श्रीमान् गोपाल वली, उनका बुबा कर्णबहादुर वली, भाउजू टीका केसी र बहिनी पुतला वली सबैले थुनामै बसेर मुद्दाको अन्तिम फैसला कुर्नुपर्ने भएको छ। अदालतको आदेशले जिल्ला अदालतको प्रारम्भिक आदेशलाई उल्ट्याउँदै उपलब्ध प्रमाणका आधारमा चारै प्रतिवादीविरुद्ध पर्याप्त शंका र अभियोगको आधार रहेको निष्कर्ष निकालेको छ।























