रामेछापको खाँडादेवी गाउँपालिकामा प्राविधिक कर्मचारीमाथि कार्यालय परिसरमै हातपात भएको घटनापछि गाउँपालिकाको प्रशासनिक तथा प्राविधिक सेवा पूर्ण रूपमा ठप्प भएको छ। सुरक्षाको प्रत्याभूति र दोषीमाथि कानुनी कारबाही नभएसम्म काममा नफर्कने अडानसहित गाउँपालिकामा कार्यरत सम्पूर्ण प्राविधिक कर्मचारीले सामूहिक रूपमा राजीनामा दिएका छन्।
बिज्ञापन
गाउँपालिकाका इन्जिनियर रामचन्द्र ढुङ्गेलका अनुसार वडा नं. ५ मा सञ्चालन भएको एक लाख रुपैयाँ लागतको खानेपानी योजनामा लाइन खन्ने र पुर्ने कामका लागि प्राविधिक इस्टिमेट गरिएको थियो। तर, स्थलगत अनुगमनका क्रममा इस्टिमेटअनुसारको काम सम्पन्न नभएको भेटिएपछि प्राविधिक टोलीले सम्पन्न भएको कामको आधारमा मात्रै मूल्याङ्कन गरी सोहीअनुसार भुक्तानी गर्नुपर्ने राय दिएको थियो।
बिज्ञापन
यही विषयलाई लिएर वडा नं. ५ का प्रेम तामाङले पूर्ण रकम भुक्तानी गराउन दबाब दिएका थिए। प्राविधिकहरूले वास्तविक कामको आधारमा मात्रै रकम सिफारिस गर्न सकिने अडान लिएपछि विवाद चर्किएको थियो।
इन्जिनियर ढुङ्गेलका अनुसार सोही क्रममा तामाङले गाउँपालिका कार्यालयमै पुगेर सब–इन्जिनियर हरि मानन्धरमाथि हातपात गरेका थिए। घटनाका क्रममा सब–इन्जिनियर चन्द्रशेखर घिमिरेमाथिसमेत दुर्व्यवहार भएको कर्मचारीहरूको आरोप छ। प्राविधिक कर्मचारीमाथि गालीगलौज, हातपात गर्नुका साथै “पूरै रकम नदिए मार्छु” भन्दै ज्यान मार्ने धम्कीसमेत दिइएको ढुङ्गेलले बताए।
बिज्ञापन
उनका अनुसार यस्तो असुरक्षित वातावरणमा फिल्डमा खटिएर काम गर्न नसकिने निष्कर्षसहित सम्पूर्ण प्राविधिक कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतसमक्ष सामूहिक राजीनामा बुझाएका छन्। करार सेवामा कार्यरत एक प्राविधिकले पनि पदबाट राजीनामा दिएका छन्।
घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यस्थलमा सुरक्षित वातावरणको प्रत्याभूति, दोषीमाथि तत्काल कानुनी कारबाही तथा राष्ट्रसेवक कर्मचारीको सम्मान र मर्यादाको संरक्षण गर्न माग गरेका छन्। माग पूरा नभएसम्म सेवा सञ्चालन नगर्ने चेतावनीसमेत दिएका छन्।
बिहीबार मध्यान्हदेखि कर्मचारीहरूले सेवा बन्द गरेपछि गाउँपालिकाबाट प्रवाह हुने प्रशासनिक तथा प्राविधिक सेवा पूर्ण रूपमा प्रभावित भएको छ। विभिन्न कामका लागि कार्यालय पुगेका सेवाग्राही सेवा नपाएर फर्किन बाध्य भएका छन्।
यता, प्राविधिक कर्मचारीमाथि हातपात गरेको आरोप लागेका प्रेम तामाङलाई इलाका प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
























