सुरुमा म्यानपावर व्यवसायीलाई छापा मारेर कडाई गरेको श्रम मन्त्रालयले पछिल्लो समय म्यानपावरसंग नजिकको सामिप्यता बढाउँदै लागेको देखिन्छ ।वर्तमान सरकारले सुशासनमा शून्य सहनशीलता भनिरहेको बेला नियमन गर्नुपर्ने म्यानपावर व्यवसायीलाई मन्त्रालयमै बोलाएर खादा माला लाउदा सेवाग्राहीहरु अचम्मित छन्।मन्त्री विदेशमा भएको समय पारेर म्यानपावर व्यवसायीको नयाँ नेतृत्वका पदाधिकारीहरुलाई खादा माला लगाएर मन्त्रालयमा भव्य स्वागत गरिएको थियो गत शुक्रवार ।
बिज्ञापन
मन्त्रालयका सचिव,वैदेशिक रोजगार विभागका महानिर्देशक,मन्त्रालयका सहसचिवहरु मन्त्रालयकै सभाहल म्यानपावर व्यवसायीलाई स्वागत कार्यक्रम आयोजना गरे । त्यति मात्र होइन लामो वर्षौंदेखि श्रम मन्त्रालय बसेका र म्यानपावर व्यवसायीसँग साँठघाट गरेका कर्मचारीसँग मन्त्रालय प्रशासन नजिक भएको देखिन्छ । यसको उदाहरण हो शाखा अधिकृत प्रदीप कुमार ढकाल।कम्पनी रजिष्टारको कार्यालयमा हुँदा पत्रकारलाई बोलाएर पैसा दिन खोज्दा विवादमा परेका ढकाल अहिले श्रम मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बाबुराम भण्डारीको संरक्षणमा सक्रिय छन्।
श्रम स्वीकृति दिने कार्यमा आर्थिक चलखेल गरी सेवाग्राहीलाई दुःख दिने गरेको भनी शाखा अधिकृत ढकाललाई कारवाही गर्न भन्दै हेलो सरकारमा उजुरी परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोत बताउँछन्।तर उनै शाखा अधिकृत ढकालमाथि श्रम मन्त्रालय र श्रम विभाग नरम देखिन्छ । शाखा अधिकृत ढकालको विषयमा उजुरी परेपछि श्रम मन्त्रालयको काम सम्बन्धमा प्रधानमन्त्री कार्यालयबाट सूक्ष्म निगरानी भइरहेको प्रधानमन्त्री स्रोतले जनाएको छ । त्यति मात्र होइन प्रधानमन्त्री कार्यालयको निर्देशन विपरीत श्रम मन्त्रालयमा कानुनले सुविधा पाउने पदाधिकारी बाहेकका कर्मचारीहरूले समेत चार पाङ्ग्रे सवारसाधन प्रयोग गरिरहेकोमा प्रधानमन्त्री कार्यालय रुष्ट छन् । प्रधानमन्त्री कार्यालयले प्रयोग नगर्न भनेको अवस्थामा समेत श्रम मन्त्रालय र मातहतका विभाग र कार्यालयका उपसचिव र शाखा अधिकृतहरुले समेत चार पाङ्ग्रे प्रयोग गरिरहेको पाइएको छ ।






























