आसन्न दशैँ–तिहारलाई ध्यानमा राख्दै सरकारको उच्च प्रशासनिक तहबाट उपभोग्यवस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रणका लागि विशेष निर्देशन जारी भएको छ।
बिज्ञापन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकलाई सम्बोधन गर्दै मुख्यसचिव एकनारायण अर्यालले बजार व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन सम्बद्ध निकायलाई आह्वान गरे।
बिज्ञापन
मुख्यसचिव अर्यालका अनुसार चाडपर्व नजिकिँदै गर्दा उपभोग्यवस्तुको अभाव, कृत्रिम मूल्यवृद्धि र नापतौलमा हुने ठगी रोक्न सबै संयन्त्रले देखिने गरी काम गर्नुपर्ने आवश्यकता छ। उनले भने, “यसपटक उपभोक्ताले सहज रूपमा सुपथ मूल्यमा वस्तु पाउनुपर्छ। यसमा तपाईंहरू गम्भीर भएर लाग्नुस्।”
तीन दिनभित्र संयुक्त अनुगमन
मुख्यसचिवले प्रमुख जिल्ला अधिकारी (सीडीओ), वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई तीन दिनभित्र संयुक्त बजार अनुगमनको तयारी पूरा गर्न निर्देशन दिए।
बिज्ञापन
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आवश्यक वस्तुको सहज आपूर्ति गर्न तोकिएको छ। उनले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री रोकथाम र मूल्य स्थिरीकरणका लागि प्रभावकारी समन्वय अनिवार्य रहेको उल्लेख गरे।
चाडपर्वमा यात्रुहरूको चाप बढ्ने भएकाले बस टिकट बिक्री प्रणालीमा अनियमितता रोक्न पनि विशेष जोड दिइएको छ। मुख्यसचिव अर्यालले अनलाइन टिकट प्रणालीलाई मजबुत बनाउन र क्षमताअनुसार मात्र टिकट बिक्री गर्न यातायात व्यवस्था विभागलाई तत्काल व्यवस्था मिलाउन निर्देशन दिएका छन्।