महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी र सचिव लक्ष्मी कुमारी बस्नेतबीच कार्यसम्पादन सम्झौता भएको हस्ताक्षर भएको छ । नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम मार्फत नेपाल सरकारको नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका र बजेट वक्तव्यमा उल्लेख भएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका वार्षिक योजना तथा कार्यक्रमहरु निर्धारित समय, लागत र गुणस्तर अनुरुप सम्पन्न गरी चालु आर्थिक वर्ष २०८२/ ८३ को लागि कार्यसम्पादन सम्झौता गरिएको हो ।
बिज्ञापन
कार्यसम्पादन सम्झौतामा प्रथम त्रैमासिक ०८२ साउन १ गते देखि असोज ३० गतेसम्मको अवधिमा सम्पन्न गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि तथा दोश्रो त्रैमासिक र बाँकी अवधिमा गरिने कार्यहरु समावेश गरिएको छ । कार्यसम्पादन सम्झौतामा मुख्य गरी दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका १०० प्रतिशत गर्भवती तथा सुत्केरी महिलाहरुको हवाइ उद्धार, सडक बालबालिकाको उद्धार, पुनर्स्थापना, संरक्षण तथा व्यवस्थापन, बालबालिकाहरुको पारिवारिक पुनर्मिलनका उद्धार कार्यहरु रहेका छन् ।
यसका अलवा सिंहदरबार र ललितपुरमा सञ्चालित दिवा शिशु स्याहार केन्द्र भक्तपुर र दुई प्रदेश स्तरमा विस्तार गर्ने कार्य रहेको छ ।
बिज्ञापन
कानून निर्माण तर्फ मर्यादित महिनावारी निर्देशिका तयारीका लागि अवधारणा पत्र, लैङ्गिक हिंसा सम्बोधनका लागि एकीकृत कानून निर्माण, महिलामा लगानी तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण कार्यक्रमको कार्यविधि लगायत रहेको छ ।
यस्तै पूर्वाधार तर्फ बाल सुधार गृह ढकालटार भवन, मंगला सहाना पुनर्स्थापना केन्द्रको भवन निर्माण कार्य कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा स्थानीय तहको साझेदारी, हिंसा पीडितका लागि सुदूरपश्चिम, मधेश प्रदेशमा पुनर्स्थापना केन्द्र भवन निर्माण, १५ वटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भवन निर्माण कार्य नेपाल प्रहरीका कार्यालयहरुमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका ५ वटा भवन निर्माण गर्ने कार्यहरु रहेको छ ।
सम्पत्ति शुद्धिकरण सम्बन्धी गैरनाफामुलक संस्थाहरुको जोखिम मूल्याङकन तथा अभिलेख व्यवस्थापनको कार्यहरु समेत कार्यसम्पादनमा रहेको छ । महिलामा लगानी कार्यक्रमको तालिम संचालन तथा ब्याड्रिङको कार्य अन्तरपुस्ता सीप हस्तान्तरण र अन्तरक्रिया सञ्चालनका माध्यमबाट परम्परागत कला संस्कृति र सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रहरु बनाउने कार्य रहेको छ ।
कार्यक्रममा सचिव लक्ष्मी कुमारी बस्नेत र प्रशासन तथा योजना महाशाखा प्रमुख चक्र बहादुर बुढा र सामाजिक समन्वय महाशाखा प्रमुख ज्ञानहरि घिमिरे बीच समेत कार्यसम्पादन सम्झौता भएको थियो । कार्यक्रममा शाखा प्रमुखहरु समाज कल्याण परिषद् पशुपति वृद्धाश्रम बालअधिकार परिषद् तथा राष्ट्रिय योजना आयोग लगायतको उपस्थिति रहेको थियो ।