वीरगन्ज भन्सार कार्यालय पर्सामा आयातित मालसमानको परिमाण कम देखाएर भन्सार पास गरिएको गम्भीर अनियमितता फेला परेको छ। भारतको दिल्लीस्थित सचदेवा वियरिङ्ग कर्पोरेशनबाट आयात गरिएको डिप बोरिङ्ग जडान मेशिनका १८८ थान सामानलाई एक थान मात्र देखाएर भन्सार पास गरिएको तथ्य खुलेको हो।
बिज्ञापन
स्रोतका अनुसार वीरगन्ज भन्सार कार्यालयका अधिकृत लेखनाथ पौडेलले उक्त मालसमान रहेको पिबि ११ बिआर ७९८६ नम्बरको भारतीय गाडीलाई भन्सार पास गरेका थिए भने अर्का कर्मचारी नविन लम्सालले चेकजाँच तथा पासमा सहजीकरण गरेका थिए। काठमाडौं महानगरपालिका–४ सिनामंगल ठेगाना राखिएको ३७२ नम्बर एजेन्ट कोड भएका भन्सार एजेन्ट भोजराज भट्टराईमार्फत उक्त मालसमान भन्सार पास गरिएको हो।
बिज्ञापन
भन्सार कार्यालयको प्रज्ञापनपत्र अनुसार, सामान आयातकर्ता, एजेन्ट र भन्सार कर्मचारीहरूबीच मिलेमतोमा मालको वास्तविक परिमाणभन्दा निकै कम देखाएर भन्सार प्रक्रिया अघि बढाइएको हो। प्रज्ञापनपत्रमा स्पष्ट रूपमा एक थान मात्र देखाइए पनि बिल तथा प्याकिङ सूचीमा १८८ थान मालसामान रहेको उल्लेख छ।
बिशेष सूचनाको आधारमा शुक्रबार राति प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका लिंकरोडस्थित सुरज मेशिनरीको नाममा आएको मालसामान पावरहाउस चोक नजिकको कादम्बरी स्कुलको गल्लीमा अनलोड गर्दैगर्दा नियन्त्रणमा लिएको थियो। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं नेतृत्वको टोलीले गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाएको थियो।
बिज्ञापन
यद्यपि नियन्त्रणमा लिएको केही घण्टामै प्रहरीले गाडी छाडेको पाइएको छ। पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बिलबिजकअनुसार सामान देखिएको पुष्टि भएपछि गाडी छाडिएको हो। तर स्रोतहरूका अनुसार, पर्साका एक मन्त्रीको प्रत्यक्ष दबाबमा रातारात गाडी छाडिएको दाबी गरिएको छ। प्रहरीले नियन्त्रणमा लिँदै गर्दा ती मन्त्रीले जिल्ला प्रहरी प्रमुखलाई तत्काल गाडी र मालसामान छाड्न निर्देशन दिएका थिए।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लमिछानेले सामानको परिमाण घटाएर भन्सार पास गरिएकोबारे आफूलाई जानकारी नभएको बताए। उनले भने, “के प्रज्ञापनपत्रमा के देखाइएको हो, त्यसलाई अध्ययन नगरी अहिले केही भन्न सक्दिनँ।”
यो घटनाले भन्सार प्रणालीमा व्याप्त भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र प्रशासनिक लापरबाहीको गम्भीर तस्वीर प्रस्तुत गरेको छ। भन्सार र प्रहरी दुवै संयन्त्रमाथि प्रश्न उठ्दै गर्दा, नागरिक समाज, पत्रकार र सरोकारवालाहरूले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
यसअघि पनि वीरगन्ज भन्सारमा यस्ता मिलेमतोका घटनाहरू समय–समयमा सतहमा आउने गरेकाले, यसलाई उदाहरणीय कारबाहीको माध्यम बनाइनुपर्ने आवाज चर्किएको छ।