संघीय निजामती सेवा विधेयकमा देखिएको ‘कुलिङ अफ पिरियड’ सम्वन्धी विवादको विषयमा मुख्यसचिव एकनारायण अर्यालले यसमा मानवीय त्रुटि भएको स्वीकार गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयक पारित गर्दा नरहेको व्यवस्था पछि प्रतिनिधिसभाबाट पारित विधेयकमा समावेश भएपछि उत्पन्न विवादबारे स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन्।
बिज्ञापन
प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेले गठित सात सदस्यीय छानबिन समितिसँगको छलफलमा अर्यालले उक्त त्रुटि नियतवश नभई कर्मचारीहरूप्रति विश्वासको कमीका कारण भएको दाबी गरे। उनले भने, “कर्मचारीहरूप्रति विश्वास नगर्दा समस्या आयो, विश्वासको खडेरीले त्रुटि निम्तियो।”
बिज्ञापन
मुख्यसचिव अर्यालले ‘कुलिङ अफ पिरियड’ राख्न नहुने विषयमा पहिलेदेखि नै आफ्नो अडान स्पष्ट रहेको पनि बताए। “कुलिङ अफ पिरियड राख्नु हुँदैन भन्ने हाम्रो माग पहिले पनि थियो, अझै पनि उही माग कायम छ,” उनले भने।
उनले उक्त विषयमा सभामुख, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी विधेयकमा यस्तो व्यवस्था नराख्न आग्रह गरिएको पनि जानकारी गराए। “सभामुखज्यूसँग देउसी भैलो गर्न गएकै होइन, पदीय हैसियतले विधेयकमा कुलिङ अफ पिरियड नराख्न भन्न गएका थियौं,” उनले स्पष्ट पारे।
बिज्ञापन
राज्य व्यवस्था समितिबाट पारित प्रतिवेदनमा यस्तो व्यवस्था नरहे पनि प्रतिनिधिसभाबाट पारित विधेयकमा उपधारा ४ र ५ मार्फत कुलिङ अफ पिरियड समावेश भएपछि विवाद उत्पन्न भएको हो। उक्त व्यवस्थाअनुसार कुनै निजामती कर्मचारी अवकाश वा राजीनामा दिएपछि दुई वर्षसम्म उनलाई पुनः नियुक्ति दिन नपाइने उल्लेख गरिएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा गठित छानबिन समितिले यस विषयमा गहिरो अनुसन्धान गरिरहेको छ। प्रारम्भिक छलफलमा नैतिक जिम्मेवारी मुख्यसचिवको रहेको निष्कर्षतर्फ संकेत गरिएको छ।