नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजनामा “सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस” को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोह, उत्कृष्ट कार्यसमिति घोषणा, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ।
बिज्ञापन
कार्यक्रमको अध्यक्षता संगठनकी केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले गरिन् भने सञ्चालन महासचिव रामचन्द्र अधिकारीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल सहभागी थिए। उनले सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरे।
बिज्ञापन
कार्यक्रम अन्तर्गत आयोजित राष्ट्रव्यापी रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगिता, कविता प्रतियोगिता तथा अन्तर ट्रेड युनियन ब्याडमिन्टन प्रतियोगिताका विजयी टोली तथा व्यक्तित्वलाई ट्रफी, प्रमाणपत्रसहित सम्मान गरियो।
बिज्ञापन
हाजिरीजवाफ प्रतियोगितामा संघीय संसद सचिवालय, महान्यायाधिवक्ताको कार्यालय, भक्तपुर जिल्ला कार्यसमिति र शिक्षा विभागीय कार्य समितिले क्रमशः पहिलोदेखि चौथो स्थान हासिल गरे। कविता प्रतियोगितामा अन्जु न्यौपाने (प्रथम), गोविन्द न्यौपाने (द्वितीय) र निरज दहाल (तृतीय) घोषित भए। ब्याडमिन्टन प्रतिस्पर्धामा पुरुष डबलमा नेरानिकस र नेनिकयु टिमले तथा महिला डबलमा आयोजक टिम र नेरानिकस टिमले क्रमशः प्रथम र द्वितीय स्थान प्राप्त गरे।
लामो समय निजामती सेवामा योगदान पुर्याएका तथा सेवा निवृत्त भएका निवर्तमान अध्यक्ष लेखनाथ कोइरालासहित आठ जना पूर्व पदाधिकारीलाई सम्मान गरिएको छ। साथै, उपसचिव वढुवामा नाम समेटिएका अनुप ढकाल, सुरेन्द्रबहादुर शाही, खगेन्द्र बर्देवा, पुष्पराज जोशीलगायतलाई समेत सम्मान गरियो।
कमलरी प्रथा अन्त्यपछि राजनितिक क्षेत्रमा योगदान पुर्याएकी नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीलाई विशेष सम्मान गरिएको छ। कम उमेरमा कमलरी भएकी उनी हाल स्नातक तहमा अध्ययनरत छन् र अचार उत्पादन जस्ता स्वउद्यममा समेत संलग्न रहेकी छन्।
कार्यसम्पादनको मूल्याङ्कनका आधारमा सातै प्रदेशका जिल्लाबाट उत्कृष्ट कार्यसमितिहरू घोषित गरिएको केन्द्रीय सचिव एवं प्रचार बिभाग प्रमुख तेज प्रकाश भन्डारीले बताए ।
प्रचार बिभाग प्रमुख भन्डारीका अनुसार कोशीबाट इलाम, मधेशबाट पर्सा, बागमतीबाट ललितपुर, गण्डकीबाट तनहुँ, लुम्बिनीबाट रुपन्देही, कर्णालीबाट कालीकोट, सुदूरपश्चिमबाट बैतडी जिल्लाका कार्यसमितिहरू पुरस्कृत भए।उपत्यका प्रदेशतर्फ संघीय संसद सचिवालय र महालेखापरीक्षकको कार्यालय तथा प्रदेशस्तरमा सुदूरपश्चिम प्रदेश कार्यसमिति उत्कृष्ट घोषित गरियो।
नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा २०७ पिन्ट रगत संकलन गरिएको जानकारी दिइएको छ। अर्थ मन्त्रालयको विभागीय कार्यसमितिले सबैभन्दा बढी दाताको परिचालन गरेको थियो। साथै, सहिद स्मृति पार्क (तिनकुने) मा वृक्षारोपण पनि गरिएको थियो।
कार्यक्रममा सहिद मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विकको योगदान र बलिदानको स्मरण गरियो।सहिद मनोज जोशी २०४८ को ५६ दिने कर्मचारी आन्दोलनको क्रममा खोटाङमा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका थिए।झपेन्द्र कार्की २०४७ मा पञ्चायती व्यवस्थाको विरोधमा भएको आन्दोलनमा वीरगति प्राप्त गरेका थिए।सुरेन्द्र विक २०६४ मा अज्ञात समूहद्वारा हत्या गरिएका तत्कालीन मुगु जिल्ला कार्यसमितिका अध्यक्ष थिए।
स्मृति दिवसको अवसरमा आयोजित यो कार्यक्रममार्फत संगठनले सहिदहरूको योगदानलाई सम्झना गर्दै कर्मचारीहरूलाई एकता, समर्पण र सेवाप्रति प्रतिबद्धता जनाउने प्रेरणा प्रदान गरेको छ।