नेपाल सरकारका पूर्व सचिव डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित नयाँ पुस्तक ‘निजामति प्रशासनमा कोतपर्व’ हालै सार्वजनिक भएको छ। पुस्तकले सन् २००७ सालदेखि हालसम्म नेपालको निजामती प्रशासनमा भएका संरचनागत परिवर्तन, सुधार प्रयास र त्यसका उपलब्धिहरूलाई समेटेर एक समग्र अध्ययन सामग्रीको रुपमा प्रस्तुत गरेको छ।
बिज्ञापन
पुस्तकमा विश्लेषणात्मक अध्ययनसँगै ऐतिहासिक दस्तावेज पनि समावेश गरिएका छन्, जसले नेपालकै निजामती प्रशासनप्रति चासो राख्ने कर्मचारी, नीति निर्माता, शोधार्थी तथा विद्यार्थीहरूका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीको काम गर्नेछ।
बिज्ञापन
प्रशासन सुधार आयोग २०४८ का पूर्व सदस्य तथा प्रशासन सुधार अनुगमन समितिका पूर्व अध्यक्ष गोरक्षबहादुर न्हुछेप्रधान लेख्छन्, “यस पुस्तकमा समाविष्ट विषयवस्तुको विवेचनात्मक वर्णन तथा संलग्न ऐतिहासिक दस्तावेज निजामती प्रशासनमा संलग्न हुने र यस विषयमा चासो राख्ने सबैका लागि उपयोगी छन्।”
त्यस्तै, सामाजिक विकास विज्ञ तथा पूर्व निजामती कर्मचारी पद्मामोहिनी माथेमा को धारणा अनुसार, “यो पुस्तक २००७ सालदेखि अहिलेसम्मका सरकारले नेपालको निजामती सेवामा गरेका सुधारका प्रयास र उपलब्धिहरू समेटिएको एकीकृत अध्ययन सामग्रीका रुपमा देखा परेको छ।”
बिज्ञापन
पुस्तकका लेखक डा. ढुंगेलले नेपालको निजामती सुधार प्रक्रियामा देखिएका राजनीतिक प्रभाव, विदेशी सहायता नियमन, संस्थागत सुधार प्रयासहरू र त्यसका व्यावहारिक परिणामहरूमाथि तथ्य र विश्लेषणको संयोजनमार्फत गहिरो मूल्यांकन प्रस्तुत गरेका छन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यापार, वाणिज्य तथा जनप्रशासन अध्ययन संस्थानका पूर्व डिन डा. प्रचण्ड प्रधान लेख्छन्, “नेपालको निजामती प्रशासन सम्बद्ध ऐतिहासिक दस्तावेज र सुधारसम्बन्धी प्रयत्नको विवरण यस पुस्तकमा समावेश गरेर लेखकले नीति निर्माता र अनुसन्धानकर्तालाई ठूलो गुण लगाएका छन्।”
राणाकालीन इतिहासका अध्येता सन्तोष धिताल ‘खडेरी’ पुस्तकमा प्रजातन्त्रोत्तर नेपालको निजामती प्रशासन विकासक्रम, विदेशीको संलग्नता, प्रशासन–राजनीति सम्बन्ध र त्यसबाट सिर्जित समस्याबारे गरिएको विश्लेषणलाई अत्यन्त सशक्त ठान्छन्।
त्यस्तै, प्रशासनविद् डा. हीरामणि घिमिरे लेख्छन्, “नेपालको निजामती प्रशासनमा २००७ देखि २०५० को दशकसम्म गरिएका सुधारका प्रयास र यससँग सम्बन्धित विषयवस्तु बुझ्न यो पुस्तक उपयोगी सन्दर्भ सामग्री बनेको छ।”
‘निजामति प्रशासनमा कोतपर्व’ एक समसामयिक र ऐतिहासिक यथार्थको संयोजन हो, जसले नेपाली प्रशासनको गहिरो तहसम्म पुगेर मूल्यांकन गरेको छ। नेपालमा प्रशासनिक सुधारको खोजी गरिरहेकाहरूका लागि यो पुस्तक मार्गदर्शन मात्र होइन, एक विचारपूर्ण बहसको आधार पनि बन्न सक्नेछ।