रसुवाको सीमावर्ती क्षेत्र केरुङ नाका अहिले फेरि एकपटक चर्चामा आएको छ। तर, योपटक कारण फरक छ — मानवीय पीडाको संवेदनशीलताको कारण मात्र होइन, समस्या समाधानका लागि देखिएको एक जिम्मेवार जनप्रतिनिधिको सक्रियता र प्रभावशाली समन्वयको कथाले यो खबर बनेको हो।
बिज्ञापन
अविरल वर्षाले बगाएको बाटो, थुनिएको नाका र बन्द भएको आवाजाहीका कारण चीनको केरुङमा अलपत्र परेका दर्जनौं नेपालीहरू स्वदेश फर्कन नसक्ने अवस्थामा थिए। उनीहरू न त अगाडि जान सक्ने अवस्थामा थिए, न त फर्किन सक्ने। साथमा थिए– सीमित आर्थिक स्रोत, अप्ठ्यारो मौसम, अपरिचित भूगोल र भविष्यको अनिश्चितता।
बिज्ञापन
यस्तै समयमा अगाडि आउँछन् रसुवाका संघीय सांसद माननीय मोहन आचार्य। समस्या सार्वजनिक भएपछि सांसद आचार्यले समस्या ‘हेरेर बस्ने’ शैली रोजेनन्, बरु उनी स्वयम् संयोजक र दवावकर्ता बने।
सांसद आचार्यले सुरु गरे सरकारी संयन्त्रसँगको संवाद — परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अध्यागमन विभाग, सुरक्षा निकाय र चीनस्थित नेपाली दूतावाससम्म। उनी एकातिर मानव पीडाको आवाज बने, अर्कोतर्फ राजनीतिक, कूटनीतिक र प्रशासनिक समन्वयकर्ता।
यसबीचमा सांसद आचार्यले सञ्चार माध्यमहरूमा निरन्तर आवाज उठाउँदै आए — “हामी आफ्ना नागरिकलाई यसरी सिमा पारि अलपत्र पारेर राख्न सक्दैनौं। तत्काल पहल हुनुपर्छ।”
बिज्ञापन
यस निरन्तर प्रयासको प्रतिफलस्वरूप, अहिले प्राप्त जानकारी अनुसार, ती सबै नेपालीहरू चीन समय अनुसार भोलि बिहान १० बजे केरुङबाट प्रस्थान गरी तातोपानी नाका हुँदै नेपाल फर्किने तयारीमा छन्।
यी नेपालीहरूका लागि सांसद आचार्य नेताभन्दा बढी एक अभिभावक बने। उनी ‘पदमा रहेका प्रतिनिधि’ मात्र नभएर ‘जनताको पक्षमा लड्ने नेता’ को प्रतिमूर्ति बने।
यो घटनाले राज्य संयन्त्र, कूटनीतिक कार्यालय, स्थानीय प्रशासन, सुरक्षाकर्मी र जनप्रतिनिधिबीच कसरी सकारात्मक र परिणाममुखी समन्वय हुन सक्छ भन्ने उदाहरण दिएको छ।
सांसद आचार्यले नारा होइन, कार्य गरेर देखाए। अलपत्र परेका नेपालीहरूलाई सहज, सुरक्षित र सम्मानजनक तरिकाले स्वदेश फर्काउनु सानो उपलब्धि होइन।
यो एउटा उद्धार मात्र होइन, राजनीतिक जिम्मेवारी, मानवीय उत्तरदायित्व र सार्वजनिक सेवा भावनाको जीवित दस्तावेज हो। सांसद आचार्यजस्ता जनप्रतिनिधिहरूको यस्तो सक्रियता नेपाली जनताको राज्यप्रति बढ्दो अविश्वासलाई केही हदसम्म कम गर्न सक्ने आधार पनि हो।
अन्त्यमा, जब समस्यामा परेका नेपालीहरू स्वदेश फर्किएर आफ्ना परिवारको काखमा पुग्नेछन्, त्यो क्षण सांसद मोहन आचार्यको राजनीतिक जीवनको सबैभन्दा मर्मस्पर्शी र गौरवपूर्ण क्षणमध्ये एक हुनेछ।