काठमाडौं । निजामती सेवा ऐन र नियमावलीअनुसार प्रत्येक कर्मचारीले चाडपर्व खर्चको सुविधा पाउने व्यवस्था भए पनि व्यावहारिक रुपमा सो व्यवस्था पूर्णरूपमा कार्यान्वयन नहुँदै आएको अवस्थामा अब भने तलबि प्रतिबेदनमै स्पष्ट खुलाउने अनिवार्य व्यवस्था सुरु भएको छ।
बिज्ञापन
राष्ट्रिय कितावखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार अबदेखि प्रत्येक निजामती कर्मचारीले तलबि प्रतिबेदनमै आफूले सुविधा लिन चाहेको चाडपर्वको नाम र त्यो चाडपर्व पर्ने सम्भावित महिना स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
बिज्ञापन
निजामती सेवा ऐन, २०४९ को दफा ३२ अनुसार हरेक निजामती कर्मचारीले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाउने मुख्य चाडपर्वको अवसरमा वर्षमा एकपटक एक महिनाको तलब बराबरको रकम चाडपर्व खर्च स्वरूप प्राप्त गर्ने व्यवस्था छ। यस्तै, निजामती सेवा नियमावली, २०५० को नियम १२८(३) मा नियम प्रारम्भ भएयता बहालमा रहेका वा हालै नियुक्त भएका कर्मचारीले हाजिर भएको मितिले तीन महिनाभित्र आफ्नो मुख्य चाडपर्व र त्यसको सम्भावित महिना लिखित रूपमा कार्यालयलाई जानकारी दिनुपर्ने उल्लेख छ।
तर, व्यावहारिक रूपमा यस व्यवस्थाको कार्यान्वयन कमजोर रहँदै आएको भन्दै महानिर्देशक पोखरेलले अबदेखि तलबि प्रतिबेदनकै ढाँचामा परिमार्जन गरेर सो विवरण खुलाउने व्यवस्था अनिवार्य गरिएको जानकारी दिनुभयो।
बिज्ञापन
महालेखापरीक्षकको कार्यालयबाट समेत ‘शिटरोल प्रमाणित’ ढाँचामा नै चाडपर्व मनाउने सम्भावित महिना तथा चाडपर्वको नाम उल्लेख गर्न सुझाव प्राप्त भएको सन्दर्भमा चाडपर्व खर्च भुक्तानीमा एकरूपता ल्याउन, पूर्वानुमान गर्न मिल्ने बनाउने र कोष व्यवस्थापनलाई सहज बनाउन यो कदम चालेको पोखरेलले बताए।
राष्ट्रिय कितावखानाले परिमार्जित तलबि प्रतिबेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ। साथै, तलबि प्रतिबेदन पारित गर्नुपर्ने जिम्मेवारी रहेका ७७ वटै कोलेनिकाहरुलाई समेत सो परिमार्जित ढाँचा अनिवार्य रूपमा लागू गर्न अनुरोध गरिएको छ।
महानिर्देशक पोखरेलले अब उप्रान्त कुनै पनि कर्मचारीले चाडपर्व खर्च भुक्तानीको लागि छुट्टै निवेदन दिनुपर्ने झन्झट नभई तलबि प्रतिबेदनमै स्पष्ट उल्लेख गरेर प्रक्रिया अगाडि बढाउने व्यवस्था गरिएको स्पष्ट गर्नुभयो।