संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ३ जना न्यायाधीश र एक न्याय परिषद् सदस्य गरी चार जनाविरुद्ध आजदेखि उजुरी दिन सकिने जनाएको छ । समितिले आज सूचना प्रकाशित गर्दै नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरू उपयुक्त नठानेमा प्रमाणसहित लिखित उजुरी दिन सबैलाई आग्रह गरेको हो।
बिज्ञापन
सुनुवाइ समितिको सूचनामा भनिएको छ मर्यादित भाषामा स्पष्ट आधार र सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा सचिवालयमा वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सकिनेछ । यसअघि सिंहदरबारमा शनिबार बसेको समिति बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस तीनै जना न्यायाधीश र एक न्याय परिषद् सदस्यविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
बिज्ञापन
यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । महेश कुमार नेपाल न्याय परिषद् सदस्यमा सिफारिस भएका थिए ।
समितिले उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्नेछ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशहरू राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।