त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा स्वीकृत दरबन्दीभन्दा बढी उपसचिव खटाइएको खुलासा भएको छ।
बिज्ञापन
हाल सो कार्यालयमा ६ जनाको उपसचिव दरबन्दी मात्र रहेकोमा ८ जना उपसचिव कार्यरत रहेको पाइएको हो। प्राप्त स्रोतका अनुसार हाल कार्यरत उपसचिवहरूमा अञ्जन न्यौपाने, अच्युत श्रेष्ठ, खेमराज उपाध्याय, चूर्णबहादुर खत्री, सुरेश आचार्य, निराजन श्रेष्ठ, इश्वरीदत्त पनेरु र फणीन्द्र पौडेल रहेका छन्।
बिज्ञापन
दरबन्दीभन्दा बढी उपसचिव खटाइएकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले गृह सचिव गोकर्णमणि दुवाडी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई कारबाहीको चेतावनीसहित पत्र काटेका छन्।
जेठ २१ गते पठाइएको पत्रमा सचिव कार्कीले सात दिनभित्र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन दिएका छन्। साथै, दरबन्दी बमोजिम कर्मचारीको व्यवस्थापन नगरेमा कारबाही गरिने उल्लेख गरिएको छ।
बिज्ञापन
भिजिट भिसा प्रकरणका कारण तिर्थ भट्टराई चर्चामा आउनु पूर्व नायब सुब्बा (नासु) पदमा स्वीकृत दरबन्दी ९ मात्र रहे पनि २४ जना कार्यरत थिए। हाल यो संख्या घटेर १० मा झरेको छ। त्यस्तै, अध्यागमन अधिकृतको दरबन्दी १२१ रहेकोमा कुनै समय १४२ जना कार्यरत थिए भने अहिले यो संख्या घटेर ११९ पुगेको छ। बाँकी २ जना अधिकृत भोलिसम्ममा पठाइने तयारी भइरहेको स्रोतको भनाइ छ।विभिन्न अनियमितता सार्वजनिक भएपछि हाल अध्यागमनका नासु र अधिकृतहरूले सरुवा मागेर कार्यालय छाड्न थालेका छन्।
यस अघि अध्यागमन विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा जान कर्मचारीहरूको तछाडमछाड हुने गर्दै आएको थियो ।जब जब अख्तियार तात्छ,तब तब यो कार्यालयमा यस्तो घटना देखिदैं आएको छ । यस अघि नरवीर खड्का लगायतमाथि मुद्धा चल्दा यसैगरी कर्मचारीहरु भागाभाग चलेको थियो । अहिले माथिबाटै प्रहार भएपछि फेरि उस्तै घटनाक्रम दोहोरिएको बताउँछन्,कर्मचारीहरु ।
मन्त्री,गृहको कर्मचारी प्रशासन र मन्त्रीको सचिवालयलाई मोटो रकम पेलेर अध्यागमनमा पुग्न,एक पटक त्यहाँको स्वाद पाए पछि कतिपय अधिकृतहरु दोहोर्याएर मात्र होइन तेहेर्याएर पनि त्यहाँ कार्यरत रहँदै आएका थिए । सिस्टममा चलाइने हो भने सबै अधिकृतहरु एक पटक अध्यागमन काम गर्ने अवसर पाउँथे तर सेटिङ कलामा निर्पूण एकै जना कर्मचारीहरु सो कार्यालयमा एक पटकमात्र होइन पटक पटक त्यहाँ बसेर चलखेल गरे । यसरी अध्यागमनमा दोहोरिएर मात्र होइन तेहेरिएर काम गर्ने अधिकृतहरुमा आनन्द विष्ट,अम्बिका खत्री,कुमारी जानकी,गणेशविक्रम शाह, चञ्चल खड्का, चिरञ्जीवी जीएम,दीपेश बिँडारी,दीपक पाण्डे, सीताराम शर्मा, सुन्दर वान्तवा, सुवास शर्मा पौडेल, सन्देश जोशी, शम्भु ठगुल्ला, सुरेन्द्र थापा, मार्सल पन्त,प्रभा अर्याल, रेश्मा बुढाथोकी, लोकेन्द्र विष्ट, लोकहरि थापा, दुर्गा थापा, , मुना कुँवर, ज्योत्स्ना भट्ट, हरि पोखरेल, दीपेन्द्र शाही, सुजन ब्लोन लगायतको नाम आउँछ ।
कतिपय अधिकृतहरुको अनुसार एक बर्ष अध्यागमनमा काम गर्न पाउँदा झण्डै एक करोड हाराहारी रकम आर्जन गर्न सकिने भएका कारण यो कार्यलय कर्मचारीहरुको लागि सबैभन्दा आकर्षक अड्डाको रुपमा रहँदै आएको छ । त्यहाँ बसेर निस्किएका अधिकृतहरुका अनुसार,यसरी खेतीपाती गर्नका लागि त्यहाँ टिम नै बनाइएको हुन्छ र सो टिममार्फत घुस रकम बाँडफाँड हुँदै आएको छ । सो को हिसाब बार्षिक लाखमा होइन,करोडमा पुग्छ । त्यही कारण कतिपय कर्मचारीहरु सबै शक्ति लगाएर अध्यागमन कार्यालयमा पुग्दै आएका थिए । कर्मचारी सरुवालाई पारदर्शी र प्रभावकारी बनाउनका लागि यस अघि पटक पटक मापदण्डहरु नबनाइएको होइन तर ती मापदण्ड कागजीमात्र बनाइयो । जसरी सिडियोको सरुवालाई प्रभावकारी बनाउन भन्दै मापदण्ड बनाइएको थियो उसैगरी अध्यागमनमा पनि कर्मचारी खटन पटन गर्दा केही आधार र मापदण्ड तय गरिएको थियो तर मन्त्री,सचिव,सचिवालय,कर्मचारी प्रशासन र कर्मचारी युनियनसँगको मिलमतोमा उक्त मापदण्डलाई कागजीमै सीमित गराइदैं आएको छ ।