राहुल राय(नेपाल न्यूज बैंक)
सिरहा । गोलबजार नगरपालिका–१० का ज्ञान यादव सिरहा कारागारबाट रिहा हुने दिन नजिकिदै गर्दा खुशी हुनुको सट्टा तनावमा थिए । तनावको कारण थियो कैदमुक्त हुनु दुई दिनअघि जेलका नाइके विजय महतोलाई बुझाउनुपर्ने नजराना रकम कसरी जुटाउने ? उनले घरमा तारान्तार फोन गरेर १० हजार ५ सय रुपैयाँ मगाए । माघ १६ गते सिरहा कारागारबाट रिहा हुने दिन थियो । दुई दिन अघि नाइके महतोलाई १० हजार ५ सय नजराना बुझाए ।
बिज्ञापन
यो घटना अपवाद होइन । सिरहा कारागार भित्रको प्रमाण हो । यहाँबाट रिहा हुने हरेक कैदीबन्दीले कैदमुक्त हुनु दुई दिनअघि नाइके विजय महतोलाई त्यति रकम बुझाउनैपर्छ । रिहाईको दिन नजिकिएसँगै कैदीबन्दीलाई ठूलो चिन्ता हुन्छ १० हजार ५ सय कसरी जुटाउने ? कैदमुक्त ज्ञान यादव भन्छन,‘रिहाई हुनु दुई दिन अघि नै उसले जेलका नाइके महतोलाई १० हजार ५ सय नजराना चढाउनैपर्छ । रिहा हुने एक साता अघि नै नाइके महतोले चेतावनी दिन्छन् । चेतावनी दिएको तीन दिनभित्र रकम नबुझाए कुटपिट गर्न थाल्छन् । यातना दिन थाल्छन् । कैदी बन्दीले घरमा फोन गरेर रकम मगाउँछन् ।’
बिज्ञापन
धरौटी राख्न ढिला हुँदा दुई दिनका लागि कारागार चलान गरिएका राजदेव यादवले पनि १० हजार ५ सय नाइके महतोलाई दाम चढाउनैपर्यो । भन्छन्, ‘त्यति रकम नदिएसम्म कारागारबाट निस्कनै दिएनन् । मन्दिर बनाउने, कारागारको भित्ता रंगाउने वा मर्मत गर्ने नाममा नाइके महतोले हरेक मुक्त हुने कैदीबन्दीसँग रकम असुल गर्छन् । सिरहा जेलभित्र नेपालको कानून चल्दैन । त्यहाँ विजय महतोले जे बोल्यो त्यही कानून बनेर लागु हुन्छ ।’
हात हतियार खर खजाना मुद्दाबाट सजाय पाएर जेलमुक्त भएका कल्याणपुर नगरपालिकाका कैदी सकिल अन्सारी भन्छन,‘मैंले पनि १० हजार ५ सय बुझाउनै पर्यो ।’ उनले पनि नाइके महतोको यातना भोग्नु परेको सुनाए ।
अन्सारी भन्छन्,‘नाइके महतोसँग जेल प्रशासन, सिडियो र एसपी सबैको मिलोमतो छ । नाइके महतोले जिल्लाका हाकिमहरुसँग फोन संवाद गरिरहन्छन् ।’ अन्सारी भन्छन् ‘जेलभित्र नाइके महतोले ठूलो व्यापार चलाएका छन् । चुरोट सूर्य ४५, शिखर २५, खुकरी २०, प्रति खिल्ली र राज निवास गुट्खा प्रति प्याकेट २५ रुपैयाँमा बिक्री गर्छन् । थरीथरीका मदिरा, लागू औषध जेलभित्र उपलब्ध छ । जसले जे किने पनि नाइकेकै पसलबाट किन्नुपर्छ । बाहिरबाट मगाएको थाहा पाएभने उनले कैदीलाई कुटपिट गर्ने गर्छन । कैदीको गुनासो कसैले सुन्दैन ।’
बिज्ञापन
अन्सारी भन्छन्,‘कसैले बाहिर गएर पत्रकार वा मानव अधिकारकर्मीहरुलाई केही सुनायो भने उसलाई फेरि कुनै मुद्दामा फसाएर जेलभित्र मगाउँछु, त्यसपछि कुट्छु भनेर धम्की दिन्छन् । नाइके महतोले प्रहरी प्रशासन आफ्नै हातमा भएको घमण्ड गर्छन ।’
अन्सारीका अनुसार नाइके महतोले मोवाइल राखेका छन् । जेलभित्रका झण्डै ५५० कैदीले त्यहीबाट घरमा फोन गर्नुपर्छ । चर्को शुल्क लिइन्छ । फोनबाट मात्र उनले करिब तीन लाख महिनाको आम्दानी गर्छन् । सिरहा जेलमा लागु औषध र रक्सी जति पनि पाइन्छ ।
जेलको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले नाम उल्लेख नगर्ने शर्तमा बताए अनुसार नाइके महतोले जेलभित्र असुल गर्ने नाजायज रकम मासिक १० लाखभन्दा अधिक हुन्छ । उनले भने,‘हामी सानाको काम ड्युटी गर्नु हो । ठूलाले मोज गर्छन् । आम्दानीबाट नाइके महतोले जेलर, प्रमुख जिल्ला अधिकारी र एसपीलाई समेत नजराना पठाउँछन् । महिनैपिच्छे घुमुवामार्फत ठूला हाकिमहरुले रकम असुलेर लान्छन् ।’
तीन महिनाअघि सिरहा कारागार भित्र नाइके महतोले लागू औषध र मदिराको व्यापार चलाएको सञ्चार माध्यमहरुमा समाचार आएको थियो । त्यसपछि छानविनका लागि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एक समिति गठन गरेका थिए । तर धेरै दबाब दिंदा पनि प्रजिअ दाहालले सो छानविन समितिको प्रतिवेदन सार्वजनिक गरेनन् ।
प्राप्त जानकारी अनुसार गृह मन्त्रालयबाट आएको पत्रमा कर्तव्य ज्यान मुद्दामा जन्मकैदमा सजाय पाएका नाइके विजय महतोलाई जेल सरुवा गर्न भनिएको छ । तर प्रमुख जिल्ला अधिकारी दाहालले नै उनको जेल सरुवा टार्न खोजेको बताइन्छ ।
यस सम्बन्धमा सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालसँग जिज्ञासा राख्दा उनले भने, ‘हामीले पनि हिजो मात्र यो यस्तो घटना सुन्यौं । जेल प्रमुखलाई छानविन गर्न भनेका छौं । बुझ्ने काम हुँदैछ ।’
त्यसैगरी प्रहरी उपरीक्षक रमेश पण्डितसँग जानकारी राख्दा भने, ‘यसबारे सोधिखोजी सुरु भएको छ । छानविन गर्दैछौं । प्रमाणित भए उनीहरुलाई थप सजाय हुन्छ ।’
कारागार प्रमुख राजन घिमिरेले भने, ‘म भर्खरै आएको छु । दिउँसो जिल्ला प्रशासनमा काम गर्छु । साँझमा कारागार हेर्न पुग्छु । जेलभित्रका कुरा हामीलाई पनि सजिलै थाहा हुँदैन । म शूक्ष्म तरिकाले अध्ययन अनुसन्धान गर्दैछु । तथ्य फेला परेपछि कारवाही गर्छौ ।’