नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिज्ञापन
आयोगले मंगलबार विशेष अदालतमा दायर गरेको आरोपपत्रमा साहले आफ्नो वैधानिक आम्दानीभन्दा करोडौँ रुपैयाँ बढी खर्च तथा लगानी गरेको उल्लेख गरेको छ। अख्तियारले उनीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ बिगो कायम गरेको छ।
बिज्ञापन
आयोगले साहको सम्पत्ति तथा आम्दानीसम्बन्धी अनुसन्धान गर्दा २०४६ माघ १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिमा उनले विभिन्न स्रोतबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ वैधानिक आय गरेको पाइएको जनाएको छ।
तर सोही अवधिमा साहले जग्गा तथा सेयर खरिद, सवारी साधन खरिद, ऋण तथा सापटी भुक्तानी र अन्य विभिन्न शीर्षकमा गरी ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।
बिज्ञापन
आम्दानीको तुलनामा खर्च तथा लगानीको रकम अस्वाभाविक रूपमा बढी देखिएपछि त्यसको स्रोत पुष्टि गर्न साह असफल भएको अख्तियारले जनाएको छ। आयोगका अनुसार उनको वैधानिक आय र खर्च तथा लगानीबीच ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँको अन्तर देखिएको छ।
अनुसन्धानका क्रममा साहले स्रोत खुलाउन नसकेको रकमबाट आर्जित सम्पत्तिको केही हिस्सा आफ्नी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत राखेको पाइएको अख्तियारको भनाइ छ। गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्ने प्रयोजनका लागि श्रीमतीलाई समेत प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।
अख्तियारले साहलाई गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा बिगोबमोजिम कैद तथा जरिवाना गर्न माग गरेको छ। साथै, स्रोत नखुलेको सम्पत्ति जफत गर्न र झुट्टा सम्पत्ति विवरण पेस गरेको कसुरमा थप सजाय गर्नसमेत आयोगले विशेष अदालतसमक्ष मागदाबी गरेको छ।
आयोगको आरोपपत्रअनुसार लामो समय सरकारी सेवामा रहेका साहको सम्पत्ति र आम्दानीबीचको ठूलो अन्तर नै उनीविरुद्धको मुद्दाको मुख्य आधार बनेको छ।

























