नेपालको निजामती सेवामा रहेर विदेशको ‘स्थायी आवासीय अनुमति (डिभी तथा पिआर) लिने कर्मचारी सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अगाडि बढेको छ । यस अघि भूमि व्यवस्था तथा सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डिभी र पिआरधारी चार जना कर्मचारीलाई सेवाबाटै बर्खास्तको प्रक्रिया अगाडि बढाइएकोमा सञ्चार मन्त्रालय मातहतको मुद्रण विभागले एक पीआरधारी कर्मचारीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।
बिज्ञापन
मुद्रण विभागले सहायक पदमा कार्यरत किरण वाग्ले ३० दिने स्पष्टीकरण सोधेको छ । विभागले शिक्षा सेवा, मुद्रण व्यवस्थापन समूह, मुद्रण व्यवस्थापन उपसमूहका राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) मुद्रण सहायक पदमा कार्यरत वाग्ले स्वीकृत असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा अनुपस्थित रहेका र विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएको देखिएको भन्दै निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) को खण्ड (ग) बमोजिम कसुर गरेको विभागको भनाइ छ ।
बिज्ञापन
यसअघि विभागले उक्त कसुरमा कारबाही किन नगर्ने भन्ने विषयमा उचित आधार र कारणसहित सफाइ पेश गर्न वाग्लेलाई निर्देशन दिएको थियो । तर, तोकिएको समयावधिभित्र उनले सफाइ पेश नगरेको विभागले जनाएको छ । अब निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय किन नगर्ने भन्ने विषयमा वाग्लेलाई स्पष्टीकरण पेश गर्न भनिएको छ । विभागले ३० दिनभित्र स्पष्टीकरण पेश गर्न वाग्लेलाई निर्देशन दिएको हो ।
यस अघि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएका ३ जना नापी अधिकृत र एकजना तथ्याङ्क अधिकृतलाई सेवाबाटै बर्खास्तीको प्रक्रिया अगाडि बढाएको थियो । अध्ययनका लागि भन्दै विदेश पुगेका नापी अधिकृतहरू निमिषा वाग्ले, आभाष जोशी र रमेशकुमार पोखरेलले पिआर लिएर उतै बसेको,तथ्याङ्क अधिकृत सुरेन्द्रप्रसाद पाण्डेयले पनि अस्थायी आवासीय अनुमति लिएको फेला परेसँगै उनीहरुलाई सेवाबाट बर्खास्ती प्रक्रिया अगाडि बढाएको छ ।


























