स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रमा संरचनागत सुधारको प्रक्रिया अघि बढाएको छ ।

बिज्ञापन

बिहीवार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य क्षेत्रको विद्यमान अवस्था, नीतिगत सुधार र आगामी योजनाबारे जानकारी गराउनुभएको हो । सचिव डा. देवकोटाकाअनुसार सरकारले स्वास्थ्य क्षेत्रमा तीन वटा महत्वपूर्ण नयाँ संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ । जसमा रोग नियन्त्रण केन्द्र (सिडिसी मोडल), स्वास्थ्य प्रत्यायन प्राधिकरण (एक्रिडिटेसन अथोरिटी) र खाद्य तथा औषधि प्राधिकरण (एफडीए) रहेका छन् । मन्त्रालयले जनशक्ति व्यवस्थापनलाई अर्को मुख्य चुनौतीका रूपमा लिएको छ । हाल नेपालभर स्वास्थ्यतर्फ ३५ हजार हाराहारीमा जनशक्ति कार्यरत रहे पनि आवश्यकता भने ९० हजारभन्दा बढीको रहेको सचिव देवकोटाले बताउनु भयो । १ हजार ८ सय ८ ‘पुल दरबन्दी’ को व्यवस्थापन दुई महिनाभित्रै सक्ने लक्ष्य रहेको जानकारी दिँदै उहाँले थप ५ सयदेखि ६ सय नयाँ दरबन्दी थप्ने योजना रहेको उल्लेख गर्नुभयो । तर अर्थ मन्त्रालयको हरेक वर्ष एक तिहाइ मात्र पदपूर्ति गर्ने नीतिका कारण लक्षित जनशक्ति पु¥याउन समय लाग्ने उहाँको भनाइ छ । उहाँले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीका लागि विशेष प्रोत्साहन र वृत्ति विकासका प्याकेज ल्याउने तयारी भइरहेको समेत जानकारी दिनुभयो । आधारभुत स्वास्थ्य सेवा विस्तारका लागि निर्माण भइरहेका ५, १० र १५ शैय्याका अस्पतालहरूको प्रगति भने सुस्त देखिएको छ । सचिव देवकोटाले ८० वटा ५ शैय्याका अस्पतालमध्ये १८ वटा, १५३ वटा १० शैय्याका मध्ये २४ वटा र ४२४ वटा १५ शैय्याका मध्ये ६७ वटा मात्र निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । करिव १७ प्रतिशत मात्र भौतिक प्रगति देखिए पनि पछिल्लो समय काममा तीव्रता आएको मन्त्रालयको दाबी छ ।

बिज्ञापन

यस्ता अस्पतालहरूको सञ्चालन मोडालिटी र स्थायी दरबन्दी सिर्जनाका लागि अर्थ मन्त्रालयसँग समन्वय गरी कार्यविधि बनाइएको उहाँले बताउनु भयो । स्रोत सुनिश्चितता नभएका २ सय ६१ वटा अस्पतालमध्ये यस वर्ष मानव विकास सूचकांक कम भएका सातवटा पालिकामा काम अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । यी सबै अस्पताल निर्माणका लागि करिव ९८ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने देखिन्छ ।

सचिव देवकोटाले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयले तीनवटा नयाँ संरचनागत पहल अघि बढाएको छ । रोग नियन्त्रण केन्द्र, अनुसन्धान, शैक्षिक संस्था र सेवा प्रवाहलाई एकीकृत गर्ने उद्देश्यले रोग नियन्त्रण केन्द्र स्थापना गर्ने तयारी गरिएको छ । यो अवधारणा विगत ७–८ वर्षदेखि चर्चामा भएपनि कार्यान्वयन हुन सकेको थिएन । अब आवश्यक कानुनी व्यवस्था वा कार्यविधिमार्फत यसलाई स्थापना गर्ने लक्ष्य राखिएको छ । स्वास्थ्य प्रत्यायन प्राधिकरणः सरकारी तथा निजी स्वास्थ्य संस्थाको सेवा गुणस्तर, जनशक्ति र पूर्वाधारको मापदण्ड निर्धारण तथा प्रत्यायन गर्ने उद्देश्यले स्थापना गरिनेछ । खाद्य तथा औषधि प्राधिकरणः औषधि व्यवस्था विभाग र खाद्यसम्बन्धी नियमनलाई एकीकृत गरी मोडलमा नयाँ प्राधिकरण स्थापना गर्ने प्रश्ताव गरिएको छ । हाल स्वास्थ्य क्षेत्रमा एक हजार आठ सय ८ नयाँ दरबन्दी स्वीकृत भएका छन् । प्रधानमन्त्री कार्यालयले ती दरबन्दी ६ महिनाभित्र पदपूर्ति गर्न निर्देशन दिएको भए पनि मन्त्रालयले २ महिनाभित्र प्रक्रिया पूरा गर्ने लक्ष्य राखेको छ । यसअघि ८ सय ३१ र त्यसपछि ९ सय ७७ दरबन्दी थप भइसकेका छन् भने आगामी दिनमा थप ५००–६०० दरबन्दी सिर्जना गर्ने योजना पनि रहेको छ । तर अर्थ मन्त्रालयले हरेक वर्ष स्वीकृत दरबन्दीको एकतिहाई मात्र पदपूर्ति गर्नुपर्ने व्यवस्था गरेकाले आवश्यक जनशक्ति व्यवस्थापनमा चुनौती देखिएको छ । हाल नेपालभर करिव ३५ हजार स्वास्थ्यकर्मी कार्यरत छन्, जबकि आवश्यकता ९० हजारभन्दा बढी रहेको अनुमान छ । दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीका लागि प्रोत्साहन र वृत्ति विकासका विशेष प्याकेज ल्याउने तयारी भइरहेको छ । साथै स्वास्थ्य जनशक्तिलाई राष्ट्रिय प्राथमिकतामा राख्ने तथा गैरआवासीय नेपाली स्वास्थ्यकर्मीहरूसँग सहकार्य र साझेदारी विस्तार गर्ने विषयमा पनि छलफल अघि बढाइएको छ ।’

बिज्ञापन

मन्त्रालयले आयुर्वेद क्षेत्रको विकासका लागि छुट्टै ‘आयुर्वेद प्रतिष्ठान’ बनाउने र सिंहदरबार वैद्यखानाको स्तरोन्नति गर्ने योजना अघि सारेको छ । वैद्यखानामा हाल ३५ प्रकारका औषधि उत्पादन भइरहेको र यसलाई निर्यातयोग्य बनाउन वैज्ञानिक भण्डारण र प्रशोधन केन्द्र निर्माण गरिने सचिव देवकोटाले बताउनु भयो । स्वास्थ्य पर्यटनलाई प्रवद्र्धन गर्न पाथीभरादेखि खप्तडसम्मका १० वटा प्रमुख पर्यटकीय एवं हिमाली क्षेत्रमा स्वास्थ्य सेवाको स्तरोन्नति गरिने भएको छ । यसबाट विदेशी तथा स्वदेशी पर्यटकले हिमालमा भोग्ने स्वास्थ्य समस्या (जस्तैः फ्रस्ट बाइट, लेक लाग्ने) को प्रभावकारी उपचार स्थानीय तहमै सम्भव हुने विश्वास गरिएको छ । मन्त्रालयले खरिद प्रक्रियालाई विकेन्द्रित गर्दै स्वास्थ्य सेवा विभागबाट हुने उपकरण खरिदलाई कटौती गरी सम्बन्धित अस्पताल र निकायलाई नै जिम्मेवार बनाउने नीति लिएको समेत जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

बिशेष