स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको बाँकी सम्पूर्ण वक्यौता आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ ।

बिज्ञापन

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीवार बसेको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले बीमा प्रणालीमा सुधार र दिगोपनका लागि मन्त्रालयले चालेका कदमबारे जानकारी गराउनुभएको हो । सचिव देवकोटाकाअनुसार गत आर्थिक वर्षमा बीमावापत करिव २४ देखि २५ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ । हाल करिव १५ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेकोमा १० देखि १२ अर्ब रुपैयाँ भदौभित्रै राफसाफ गरिने उहाँले बताउनु भयो । बीमा कार्यक्रममा निजी अस्पतालहरूको भुमिकाबारे स्पष्ट पार्दै सचिव देवकोटाले हाल निजी अस्पतालतर्फको भुक्तानीलाई नियन्त्रण गरिएको जानकारी दिनुभयो । कुल सेवाग्राहीमध्ये ७ प्रतिशत मात्र निजी अस्पताल जाने गरेको तथ्यांक प्रश्तुत गर्दै उहाँले सरकारी अस्पतालको सेवा सुदृढ गरी ती सेवाग्राहीलाई पनि सरकारी क्षेत्रमै आकर्षित गर्ने नीति लिइएको बताउनु भयो ।

बिज्ञापन

मन्त्रालयकाअनुसार विगतमा मासिक २ अर्ब रुपैयाँ हुने गरेको बीमा खर्च हाल घटेर करिव ८८ करोडदेखि १ अर्ब रुपैयाँमा झरेको छ । सेवाको गुणस्तरमा सम्झौता नगरी खर्च व्यवस्थापनमा ध्यान दिइएको उहाँले दाबी गर्नुभयो । बीमा प्रिमियम र सरकारले विनियोजन गरेको बजेट सदुपयोग गर्दा चालू आर्थिक वर्षमा बीमा कार्यक्रम आत्मनिर्भर हुने मन्त्रालयको विश्वास छ । हाल ५५ प्रतिशत घरधुरी मात्र बीमामा आवद्ध रहेको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले औपचारिक क्षेत्रका कर्मचारीहरूको पारिश्रमिकबाटै प्रिमियम कट्टी हुनेगरी अनिवार्य बिमाको व्यवस्था गर्न गृहकार्य गरिरहेको छ । यसबाट वार्षिक थप २ देखि ३ अर्ब रुपैयाँ संकलन हुने र कोष मजबुत हुने सचिव देवकोटाको भनाइ छ । साथै, सामाजिक सुरक्षा कोष र नागरिक लगानी कोष जस्ता निकायहरूसँग समन्वय गरी दोहोरो सुविधा रोक्ने योजना पनि अघि सारिएको छ ।

उहाँले भन्नुभयो, ‘गत वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि सकारात्मक वर्ष रह्यो । करिव २४–२५ अर्ब दाबी भुक्तानी गरिएको छ भने हाल करिव १५ अर्ब बजेट उपलब्ध छ । अघिल्लो वर्षको करिब १०–१२ अर्ब भुक्तानी बाँकी रहेकोमा रुजु सम्पन्न भएपछि भदौभित्र सबै बाँकी रकम भुक्तानी गर्ने लक्ष्य राखिएको छ । त्यसपछि पनि करिव ५ अर्ब बजेट बाँकी रहने अपेक्षा गरिएको छ । थप ५–७ अर्ब स्रोत सुनिश्चित भए चालु आर्थिक वर्षमै बीमा कार्यक्रमलाई थप दिगो बनाउन सकिने विश्वास गरिएको छ । यस क्रममा सेवाग्राहीले सेवा पाउनबाट वञ्चित नहुने विषयलाई प्राथमिकतामा राखिएको छ । बीमा सुधारका क्रममा निजी अस्पतालमा जाने बीमा खर्च र सेवा अस्थायी रूपमा सिमित गरिएको छ । हाल बिमाबाट निजी अस्पतालमा जाने सेवाग्राही करिव ७ प्रतिशत मात्र भएपनि त्यहाँ कुल बीमा खर्चको करिव एक चौथाइ खर्च हुने गरेको छ । त्यसैले सरकारी अस्पतालको सेवा सुदृढ गरी ती सेवाग्राहीलाई सरकारी प्रणालीमै सेवा दिने नीति अपनाइएको छ । यसका साथै बीमा कार्यक्रमको मासिक खर्च करिव २ अर्बबाट घटेर करिव १ अर्ब (हाल करिव ८८ करोड) मा झरेको छ । खर्च घटे पनि सेवामा कुनै कमी आउन नदिने मन्त्रालयको प्रतिवद्धता रहेको छ । हाल पुससम्मको सबै दाबी भुक्तानी सम्पन्न भइसकेको छ । माघदेखि असारसम्मका दाबीहरू रुजु प्रक्रियामा रहेका छन् र भदौभित्र सबै भुक्तानी सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बीमालाई दीगो बनाउन ८८बिमा सहभागिता (भ्लचयििmभलत) बढाउने८८ योजना पनि अघि सारिएको छ । हाल करिव ५५ प्रतिशत घरपरिवार मात्र कार्यक्रममा आबद्ध छन् । सरकारी कर्मचारीलगायत सबैका लागि बीमा सहभागिता अनिवार्य गर्ने, गरिब तथा विपन्न नागरिकको प्रिमियम सरकारले व्यहोर्ने व्यवस्था गर्ने तथा आवश्यक नीतिगत सुधार गर्ने प्रश्ताव गरिएको छ । साथै रोकथाम र स्वास्थ्य प्रवद्र्धनका सेवाहरू (जस्तै नियमित स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेहलगायतका प्रारम्भिक जाँच) निःशुल्क उपलब्ध गराउने र उपचार आवश्यक परेपछि मात्र बीमा प्रयोग गर्ने व्यवस्था विकास गर्ने सोच अघि सारिएको छ । यसले बीमा कोषमा अनावश्यक भार कम हुने, बिरामीले छिटो सेवा पाउने र कार्यक्रम दीगो बन्ने अपेक्षा गरिएको छ । समग्रमा, स्वास्थ्य बीमा कार्यक्रममा वित्तीय व्यवस्थापन, सेवा गुणस्तर र दिगोपन सुधारतर्फ सकारात्मक संकेत देखिएका छन् ।’

बिज्ञापन

सचिव देवकोटाले स्वास्थ्य बीमा ऐनमा संशोधनको प्रश्ताव गरिएको जानकारी दिँदै सामान्य स्वास्थ्य परीक्षण र होलबडी चेकअपलाई स्थानीय तहका ५, १० र १५ शैय्याका आधारभूत अस्पतालमार्फत निःशुल्क गर्ने योजना रहेको बताउनु भयो । देवकोटाले सुर्तीजन्य पदार्थबाट संकलित कर कानूनले तोकेबमोजिम स्वास्थ्य क्षेत्रमा खर्च हुन नसकेको बताउनु भयो । सचिव देवकोटाकाअनुसार हाल नेपालमा सुर्तीजन्य पदार्थमा ३५ देखि ३८ प्रतिशतसम्म मात्र कर लगाइएको छ, जबकि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७० देखि ७५ प्रतिशतसम्म कर लगाउनुपर्ने मापदण्ड तोकेको छ । विद्यमान ऐनमा सुर्तीजन्य पदार्थबाट संकलित करको २५ प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा लगानी गर्ने र त्यसबाट हुने रोगहरूको उपचारमा खर्च गर्ने स्पष्ट व्यवस्था भएपनि उक्त रकम अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयको बजेट सिलिङभित्रै व्यवस्थापन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । सचिव देवकोटाले देशमा क्यान्सर उपचारको अवस्था र पूर्वाधारको अभावबारे पनि चर्चा गर्नुभयो । हाल सरकारी तहमा बाँकेको सुशील कोईराला प्रखर क्यान्सर अस्पताल, चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल गरी तीनवटा मात्र विशिष्टीकृत अस्पताल रहेका छन् । यसबाहेक वीर, कान्ति, पाटन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) लगायतका केही अस्पतालमा मात्र क्यान्सरको उपचार हुने गरेको छ ।

सचिव देवकोटाले भन्नुभयो,‘ स्वास्थ्य क्षेत्रमा सुर्तीजन्य पदार्थमा लगाइने कर अझ प्रभावकारी बनाउन आवश्यक देखिएको छ । हाल सुर्तीजन्य पदार्थमा कर करिव ३५–३८ प्रतिशत रहेको छ भने विश्व स्वास्थ्य संगठनले ७०–७५ प्रतिशत कर लगाउन सिफारिस गरेको छ । प्रचलित कानुनअनुसार सुर्तीजन्य पदार्थबाट उठेको २५ प्रतिशत कर स्वास्थ्य क्षेत्रमा, विशेषगरी सुर्तीजन्य पदार्थका कारण हुने रोगको रोकथाम र उपचारमा खर्च गर्नुपर्ने व्यवस्था भएपनि यो रकम छुट्टै रूपमा उपलब्ध हुन सकेको छैन । त्यसैले उक्त रकम स्पष्ट रूपमा छुट्याएर स्वास्थ्य क्षेत्रमा लगानी गर्ने व्यवस्था आवश्यक छ । हाल नेपालमा सरकारी तीनवटा विशेष क्यान्सर अस्पताल सञ्चालनमा छन् । साथै वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल र वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालबाट पनि क्यान्सर उपचार सेवा प्रदान हुँदै आएको छ । तर सेवा अझै पर्याप्त रूपमा विस्तार हुन सकेको छैन । विपन्न नागरिकका लागि उपचार सहायता पाउने बिरामीमध्ये करिव ४२ हजार सेवाग्राही छन्, जसमा ठूलो हिस्सा क्यान्सरका बिरामी छन् । क्यान्सर उपचार महँगो हुने भएकाले हाल उपलब्ध १ लाखसम्मको सहायता पर्याप्त छैन । त्यसैले क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान, उपचार सेवा विस्तार तथा आवश्यक आर्थिक सहयोगलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकता छ । साथै सुर्तीजन्य पदार्थ, विषादी, प्रदूषण र विकिरण जस्ता जोखिम कारक नियन्त्रणमा पनि विशेष ध्यान दिनुपर्छ ।’

विपन्न नागरिक स्वास्थ्य उपचार कार्यक्रमअन्तर्गत करिव ४२ हजार बिरामीले सेवा लिइरहेको र त्यसमा ठूलो हिस्सा क्यान्सरका बिरामीको रहेको उहाँले बताउनु भयो । क्यान्सरका बिरामीलाई सरकारले दिने एक लाख रुपैयाँको अनुदान अपुग रहेको उल्लेख गर्दै उहाँले मिर्गौला रोगको तुलनामा क्यान्सरको उपचारमा राज्यको लगानी अझै न्युन रहेको स्पष्ट पार्नुभयो । विषादीको प्रयोग, बढ्दो प्रदूषण र विकिरणका कारण क्यान्सरको जोखिम बढ्दै गएकाले यसको रोकथाम र उपचारमा विशेष ध्यान दिनुपर्ने र करबाट संकलित रकम यसै क्षेत्रमा सुनिश्चित गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

बिशेष