अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले सहसचिव झलकराम अधिकारी प्रतिवादी रहेको घुस तथा रिसवतसँग सम्बन्धित मुद्धामा सरकारी साक्षीका रुपमा रहेका विकास चापागाईविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियारले गत चैत्र ८२ मा सहसचिव अधिकारीलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको थियो । अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोपमा अख्तियार विशेष अदालतमा पुगेको थियो । एच के इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा विभागमा उजुरी परेको थियो । त्यसपछि मुद्दाबाट जोगिन उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैयाँ दिएको र सो रकम विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतको सल्लाहमा उनीहरूको खातामा राखिएको अख्तियारको दावी थियो ।
बिज्ञापन
सोही मुद्धामा सरकारी साक्षीका रुपमा आयोगले उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थायी वतन भएका विकास कुमार चापागाईलाई अगाडि सारेको थियो ।
तर गत जेठ १३ गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान तथा मिसिल संलग्न प्रमाण कागजहरुको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्दै अख्तियारले उनीविरुद्ध ५० लाख मागबादी सहित मुद्धा दायर गरेको छ ।
बिज्ञापन
आयोगका अनुसार, यस अघि सरकारी साक्षीका रूपमा पेस गरिएको थियो चापागाईलाई तर,तर, अदालतमा आयोगमा दिएको बयानभन्दा फरक बयान गरेपछि उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । आयोगले उनीविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ । ‘प्रतिवादी झलकराम अधिकारीले राजस्व चुहावटका विषयमा अनुसन्धान कारवाही नगर्ने नगराइ दिने लगायतका काम वापत गैरकानुनी लाभ लिने मनसाय राखी एचके इन्टरप्राइजेज प्रालिका सञ्चालकको व्यापारिक कारोबारमा सहजीकरण एवं मोलाहिजा गरी दिनको लागि उक्त प्रालिका सञ्चालकबाट घुस/रिसवत वापतको ५० लाख रुपैयाँ रकम बराबरको चेक प्रतिवादी विकास कुमार चापागाईको नाममा काट्न लगाई उक्त चेक निज विकास कुमार चापागाईले बुझी लिई सो रकम आफ्नो बैंक खातामा दाखिला गरी गराई प्रतिवादी झलक राम अधिकारीको निर्देशन बमोजिम खरिद गरे गराएको जग्गाको रकम भुक्तानी भएको’ अख्तियारले भनेको छ ।























