गृह मन्त्रालयका केही कर्मचारीहरुले दुर्गममा दरबन्दी राखेर सिंहदरबार अर्थात सुगममा काजमा कार्यरत रहेको भेटिएको छ ।
बिज्ञापन
दुर्गममा दरबन्दी कायम भए पनि पहुँच र शक्तिकेन्द्र मिलाएर सुगममा कार्यरत रहेका ६ उपसचिव,१६ जना शाखा अधिकृत र १५ नायब सुव्वा तहका कर्मचारी गरी ३७ कर्मचारीको दरबन्दी फिर्ता गरेको गृहले अझैं केही उपसचिव र शाखा अधिकृतहरुको दरबन्दी भएकै स्थानमा खटाउन सकेको छैन ।
दुगर्म जिल्ला जुम्ला प्रशासनमा दरबन्दी राखेर सिंहदरबारभित्रैका कर्मचारी थन्काउने थलोको रुपमा परिचित राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरण र कसुरजन्य सम्पत्ति व्यवस्था विभागमा दुई जना कर्मचारी कार्यरत रहेको खुलेको छ ।
गृह मन्त्रालयका अनुसार उपसचिव शान्ति महत चार महिनादेखि दुर्गममा दरबन्दी राखेर सिंहदरबारमा काजमा कार्यरत छिन् भने शाखा अधिकृत रेश्मा बूढा ६ महिनादेखि दुर्गम जिल्ला जुम्लामा दरबन्दी भए पनि काजमा सिंहदरबारस्थित कसुरजन्य सम्पत्ति विभागमा कार्यरत रहेको खुलेको छ । महतलाई गत मंसिर ८ मा जिल्ला प्रशासन कार्यालय जुम्लामा खटाइएको भए पनि कर्मचारी थन्काउने कार्यालयका रुपमा चिनिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिव, प्रवक्ता तथा सूचना अधिकारीको भूमिकामा रहेको पाइएको छ भने जिल्ला प्रशासन कार्यालय जुम्लाकी शाखा अधिकृत रेश्मा बुढा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत रहेको पाइएको छ । दुवैजनाको सेवा–सुविधा, तलब जिल्ला प्रशासन कार्यालय जुम्लाले नियमित पठाउँदै आएको छ ।
























