अरनिको राजमार्गअन्तर्गत कोदारी क्षेत्रमा भइरहेको पहिरो नियन्त्रणको कामका क्रममा सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियर तथा कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै कार्यालयले प्रशासनसँग शान्ति–सुरक्षा कायम गरिदिन माग गरेको छ।
बिज्ञापन
सडक डिभिजन चरिकोटका प्रमुख इन्जिनियर नारायण दत्त भण्डारीले जिल्ला प्रशासन कार्यालय चौतारा, सिन्धुपाल्चोकलाई पत्र पठाउँदै कोदारी क्षेत्रमा करिब ४८ करोड रुपैयाँ लागतको पहिरो नियन्त्रण परियोजना कार्यान्वयन भइरहेको जानकारी दिएका छन्।
कार्यालयका अनुसार उक्त क्षेत्रमा जमिनमुनिको पानीका कारण पहिरो निरन्तर बगिरहने अत्यन्तै जोखिमयुक्त अवस्था रहेको छ। पछिल्ला दुई दिनको वर्षाका कारण सडक भासिँदा अरनिको राजमार्ग अवरुद्ध भएको थियो। अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीले आफ्ना उपकरण प्रयोग गरी मर्मत कार्य गरिरहेको र कार्यालयका तीन जना प्राविधिक इन्जिनियर साइटमै खटिएर निर्देशन दिँदै काम भइरहेको जनाइएको छ।
पत्रमा उल्लेख गरिएअनुसार पहिरोको प्रकृति जटिल भएकाले एकैपटक धेरै उपकरण प्रयोग गर्न नसकिने अवस्था रहेको छ। यस्तो अवस्थामा मिति २०८२ चैत १५ गते कार्यालय प्रमुख स्वयं साइटमा पुगेर कामको अनुगमन तथा निर्देशन गरिरहेका बेला स्थानीय व्यक्ति सेते गुरुडसहितको समूहले डिभिजन प्रमुख र इन्जिनियरहरूमाथि अपशब्द प्रयोग गरेको आरोप लगाइएको छ।
बिज्ञापन
उक्त समूहले “किन ढिला काम गरेको, सबै भ्रष्टाचारीलाई खोलामा फाल्छु” जस्ता अभिव्यक्ति दिएको र इन्जिनियरहरूको मुखैअगाडि मोबाइल तेर्स्याएर “अहिलेसम्म कहाँ गएको थिइस, तिमीहरूलाई यहीँ गाड्नु पर्छ” जस्ता धम्कीपूर्ण शब्द प्रयोग गरी अपमान गरेको पत्रमा उल्लेख छ।
सडक डिभिजनले घटनास्थलमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतले त्यतिबेला ती व्यक्तिलाई सम्झाउनेभन्दा उल्टै कर्मचारीलाई हप्काएर कर्मचारीको मनोबल घटाउने काम गरेको गुनासो गरेको छ।
कार्यालयले यस्तो वातावरणमा साइटमा काम गर्न कठिन भएको भन्दै दुर्व्यवहारमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गरी निर्माण कार्य निर्वाध रूपमा सञ्चालन हुने वातावरण बनाउन जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको छ।



























