काठमाडौं । सार्वजनिक प्रशासनलाई प्रविधिमैत्री, छरितो र पारदर्शी बनाउने लक्ष्यसहित राष्ट्रिय कितावखानाले आफ्ना सेवाहरूलाई पूर्ण रूपमा डिजिटल रूपान्तरण गर्दै एकीकृत ई–पेन्सन सेवा औपचारिक रूपमा सुरु गरेको छ । यससँगै अब सरकारी सेवाबाट निवृत्त हुने कर्मचारीहरूले पेन्सन, उपदान तथा अन्य निवृत्तिभरणसम्बन्धी सेवा लिनका लागि काठमाडौंस्थित कितावखाना धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
बिज्ञापन
राष्ट्रिय कितावखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार “सेवालाई समयसीमाभित्र, सहज र झन्झटरहित बनाउन हामीले कोर सेवाहरूलाई ई–सेवामा स्तरोन्नति गरेका छौं । अब हाम्रो सेवा पूर्ण रूपमा फेसलेस मोडलमा आधारित छ, जसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त गराएको छ ।”
नयाँ प्रणालीको प्रारम्भिक चरणमा देशका सबै ७७ जिल्लामा रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई ई–पेन्सन सेवाको सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ । यसले राजधानी केन्द्रित सेवाप्रवाहलाई विकेन्द्रीकरण गर्दै स्थानीय स्तरमै सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
कितावखानाले यसअघि सञ्चालनमा ल्याएको कर्मचारी व्यक्तिगत विवरण प्रणाली (पीआईएस पोर्टल) लाई थप सुदृढ बनाउँदै त्यसमा ‘ई–पेन्सन आवेदन मोड्युल’ थप गरेको छ । उक्त मोड्युल सञ्चालन गर्ने अधिकार जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई दिइएको छ, जसले सेवाग्राहीको पहुँचलाई अझ सहज बनाएको छ ।
बिज्ञापन
अब निवृत्त हुन लागेका कर्मचारीको विवरण सम्बन्धित जिल्लाबाटै अनलाइन प्रणालीमार्फत प्रविष्ट गरिन्छ । त्यसपछि सो विवरण सिधै राष्ट्रिय कितावखानाको कम्प्युटर प्रणालीमा देखिन्छ । कितावखानाले उक्त विवरणलाई आफ्नो अभिलेख प्रणालीसँग मिलान (भेरिफाइ) गरी आवश्यक सेवा स्वीकृत गर्छ ।
स्वीकृत भएका सेवाहरू डिजिटल स्ट्याम्प र डिजिटल हस्ताक्षरमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय तथा पेन्सन व्यवस्थापन कार्यालयमा प्रणालीगत रूपमा पठाइन्छ । यसरी प्रक्रिया पूरा भएपछि सम्बन्धित कर्मचारीले आफ्नै जिल्लाबाट पेन्सनसम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सक्नेछन् ।
कितावखानाले अनलाइनबाट स्वीकृत गरिएका सम्पूर्ण विवरणहरूलाई सम्बन्धित कार्यालयले प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराउने व्यवस्था पनि मिलाएको छ, जसले ई–सेवालाई पूर्णता दिनेछ ।
महानिर्देशक पोखरेलका अनुसार यदि कुनै सरकारी कार्यालयले आफ्ना कर्मचारीलाई अवकाशकै बेला सिधै ई–पेन्सन सेवा उपलब्ध गराउन चाहन्छ भने सो कार्यालयलाई मागका आधारमा ‘अन डिमान्ड एक्सेस’ प्रदान गरिनेछ । यसले सेवा प्रवाहलाई अझै सहज र छरितो बनाउने विश्वास गरिएको छ ।
एकीकृत ई–पेन्सन सेवा अन्तर्गत निवृत्त कर्मचारीले पाउने प्रमुख सेवाहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । यसमा—
निवृत्तभरण अधिकारपत्र (पेन्सन पट्टा),उपदान रकम निर्धारणको किटानी पत्र,संचित घर बिदा तथा बिरामी बिदा वापतको रकम निर्धारण,औषधि उपचार सुविधा किटानी पत्र,रोजेको बैंकमा सिधै पेन्सन खाता खोल्ने सुविधा समावेश गरिएको छ ।
यसले सेवाग्राहीलाई विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै ‘वन–स्टप सेवा’ को अनुभूति दिलाउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय कितावखानाले निकट भविष्यमा पेन्सन कार्ड तथा निवृत्त कर्मचारी परिचयपत्रलाई डिजिटल रूपमा उपलब्ध गराउने तयारी पनि गरिरहेको छ । यसअनुसार नागरिक एपमार्फत पेन्सनसम्बन्धी विवरण हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था गरिनेछ ।
सेवाको विश्वसनीयता र पारदर्शिता बढाउन कितावखानाले क्यूआर कोडसहितको पेन्सन पट्टा लागू गर्ने तयारी गरेको छ । साथै, आवश्यक फारामहरूको ढाँचा परिमार्जन गरिसकिएको जनाइएको छ । यसले नक्कली कागजातको जोखिम घटाउने र डिजिटल प्रमाणीकरणलाई बलियो बनाउने विश्वास गरिएको छ ।
ई–पेन्सन प्रणालीको सुरुवातलाई सार्वजनिक प्रशासन सुधारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले सेवाग्राहीमैत्री, पारदर्शी र प्रविधिमैत्री शासन प्रणालीको अभ्यासलाई बल पुर्याउनेछ ।
विगतमा पेन्सनसम्बन्धी सेवा लिन लामो समय कुर्नुपर्ने, कागजी प्रक्रिया जटिल हुने र विभिन्न कार्यालय धाउनुपर्ने समस्याहरू थिए । नयाँ प्रणालीले ती सबै समस्यालाई न्यून गर्दै सेवा प्रवाहलाई छरितो, प्रभावकारी र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।
महानिर्देशक पोखरेलले आगामी दिनमा सेवाको गुणस्तर र दिगोपना सुनिश्चित भएपछि सबै सम्बन्धित कार्यालयहरूलाई सिधै प्रणालीमा जोड्ने योजना रहेको जानकारी दिँदै यसलाई पूर्ण डिजिटल प्रशासनतर्फको मार्गचित्रका रूपमा प्रस्तुत गरेका छन् ।


























