काठमाडौँ । निर्वाचन आयोगले सरकारी शिक्षक तथा कर्मचारीलाई निर्वाचनसम्बन्धी कुनै पनि प्रकारको प्रचार–प्रसारमा संलग्न नहुन कडा अनुरोध गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्रीलाई आचारसंहिता उल्लङ्घनको आशंकामा स्पष्टीकरण सोधिएसँगै आयोगले सबै सरकारी निकायका कर्मचारी र शिक्षकलाई आफ्नो पेसागत मर्यादा नबिर्सन चेतावनी दिएको हो।
बिज्ञापन
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता भइसकेको अवस्थामा केही सरकारी शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा खुलेर प्रचारमा लागेको गुनासो आयोगसम्म पुगेको जनाइएको छ। यस्तो गतिविधि निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै आयोगले तुरुन्तै त्यसमा संलग्न नहुन आग्रह गरेको छ।
आयोगका अनुसार सरकारी सेवा र शिक्षण पेशामा आबद्ध व्यक्तिहरूले निष्पक्षता र तटस्थता कायम गर्नुपर्ने संवैधानिक तथा कानुनी दायित्व छ। यदि कुनै कर्मचारी वा शिक्षकले राजनीतिक दलको प्रचार–प्रसार गरेको प्रमाणसहित उजुरी परेमा कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी आयोगले दिएको छ। आवश्यक परे जागिर जानेसम्मको अवस्था आउन सक्ने आयोगको स्पष्ट सन्देश छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै सरकारी निकायका कर्मचारी र शिक्षकले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने आयोगको जोड छ।


























