नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले भोलि (साउन ११ गते) का लागि ६ घण्टे लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। अत्यधिक गर्मी, रोपाईंको चटारो र आकाशे पानी नपरेकाले सिँचाइका लागि बिजुली माग एकाएक बढेपछि लोड व्यवस्थापन गर्न तालिका सार्वजनिक गरिएको हो।
बिज्ञापन
बितरण केन्द्रअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा भोलि ६–६ घण्टा लोडसेडिङ हुने भएको छ।
बिज्ञापन
कतिबेला कहाँ लोडसेडिङ ?
- नारायणी–माडी फिडर: बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:००
- मेघौली–विजयनगर–शुक्रनगर फिडर: बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:००
- जगतपुर–रामपुर फिडर: दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:००
प्राधिकरणका अनुसार भरतपुर १३२/३३ केभी सब स्टेशनबाट वितरण केन्द्रमा आउने ३३ केभी डग कन्डक्टर तारको क्षमता ३०० एम्पिएरसम्म मात्र भए पनि हाल त्यसमा ४५० एम्पिएरसम्म लोड प्रवाह भइरहेको छ। अत्यधिक लोडले गर्दा तारले धान्न नसकेपछि क्षतिको जोखिम न्यूनीकरण गर्न बिस्तारित लोडसेडिङ गरिएको हो।
बिज्ञापन
वितरण केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षमा नै बसेनी सबस्टेशनबाट वैकल्पिक रूपमा विद्युत् आपूर्ति गर्न अर्को ३३ केभी प्रसारण लाइनको निर्माण थालिएको छ। सो लाइन निर्माण सम्पन्न भएपछि हाल देखिएको लोडको चाप व्यवस्थापन गर्न सहज हुने बताइएको छ।
प्राधिकरणले उपभोक्तालाई सम्भव भएसम्म विद्युत् खपत कम गर्न, सिँचाइ प्रयोजनमा विद्युत् प्रयोग गर्दा सतर्कता अपनाउन र समन्वयमा सहयोग गर्न आग्रह गरेको छ।