लुम्बिनी प्रदेशको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजनको क्रममा शंकास्पद ढंगले सशस्त्र प्रहरीको विन्ध्यवासिनी बाहिनी मुख्यालयलाई करोडौं रुपैयाँको बजेट विनियोजन गरिएको खुलासा भएको छ। शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाईं तथा सशस्त्र प्रहरीका डिआइजी दीपेन्द्र कुँवरको ‘मन जित्न’ यस्तो बजेटको व्यवस्था मिलाएको आरोप लागेको छ।
बिज्ञापन
मन्त्री थापाले प्रदेश सरकारको खानेपानी तथा शहरी विकास मन्त्रालयमार्फत चन्द्रौटामा अवस्थित सशस्त्र बाहिनी मुख्यालयलाई ३ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरेका छन्। उक्त रकमबाट नाचघर, मल्टिपर्पोज हल, अपरेशन हल, जिन्सी कक्ष, गेट, सडक, शौचालय, पानी योजनालगायतका संरचना निर्माण गर्ने योजना छ।
बिज्ञापन
बजेट तयारीका लागि थापाले लमहीको लुम्बिनी ग्रिन रिसोर्टमा गोप्य छलफलसमेत गरेको स्रोतले बताएको छ। डिआइजी कुँवरले सिफारिस गरेका योजना बजेटमा परेका छन्। त्यसमध्ये, मनोरञ्जन कक्ष निर्माणका लागि ४० लाख, मुख्यालयमा अपरेशन हल बनाउन ९० लाख, सडक निर्माणमा ५० लाख र मल्टिपर्पोज हल निर्माणमा ७५ लाख विनियोजन गरिएको छ।
थापाको सक्रियतामा आन्तरिक मामिला मन्त्रालयबाट समेत उक्त बाहिनीमा अतिरिक्त बजेट पठाइएको छ। कपिलवस्तुका प्रदेश सांसद जानकी यादवले यस्तो कार्य ‘चाकडीको पराकाष्ठा’ भएको भन्दै विरोध जनाए। “यदि प्रदेश सरकारले सबै काम गर्ने हो भने संघीयता किन चाहियो?” यादवको जिज्ञासा छ।
बिज्ञापन
डिआइजी कुँवर तीन महिना अघिमात्र सुदूरपश्चिमबाट लुम्बिनी आएका हुन्। उनले प्रदीप पाललाई हटाएर प्रभावको भरमा आफू सशस्त्र प्रदेश प्रमुखको रूपमा नियुक्त भएको भन्दै राजनीतिक पहुँचकै भरमा यस्ता योजना ल्याएको आरोप लाग्दै आएको छ।
तर, कुँवर मातहतका १२ जिल्लामा रहेका सशस्त्र प्रहरी बीओपी तथा पोष्टहरू भने दयनीय अवस्थामा छन्। कतिपय टहरा कच्ची छन्, छाना चुहिन्छ, शुद्ध खानेपानीको अभाव छ, पक्की ब्यारेक छैन। यस्ता समस्यालाई बेवास्ता गर्दै मनोरञ्जन गृहका लागि ४० लाख बजेट विनियोजन गर्नु गम्भीर प्रश्नको विषय भएको छ।
बजेट पास गर्ने क्रममा सत्तापक्षीय लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत एउटै बैठकमा प्रतिपक्षको भूमिकामा उभ्याइँ बजेट पारित गरिएको थियो। त्यसयता बजेटको चौतर्फी आलोचना चर्किरहेको छ।
मन्त्री थापाले आफ्नो गृहजिल्ला प्यूठानका लागि २ अर्ब ५५ करोड बजेट ल्याएको दाबीसमेत गरेका छन्। तर, त्यसलाई त्यहीँका संघीय सांसद सूर्य थापाले सामाजिक सञ्जालमा खण्डन गर्दै “गोयबल्सहरुको प्यूठान झुठ” भन्दै विरोध जनाएका छन्।
यसरी आन्तरिक सन्तुलन, आवश्यकता र समान वितरणको मर्म विपरीत प्रदेश बजेटको प्रयोग पहुँचधारीहरूलाई रिझाउने माध्यम बन्नु लुम्बिनी प्रदेशमा सुशासन र पारदर्शिता कति कमजोर अवस्थामा छ भन्ने प्रमाणका रूपमा हेरिएको छ।
बजेटमा मनपरी गरेका खानेपानी मन्त्री सरोज थापाले कपिलवस्तुको शिवराज ५ स्थित आफ्नो निजी जग्गामा १ करोड बजेट र लुम्बिनी ग्रीन रिसोर्टका सन्चालक इश्वरी पाण्डेसंग मिलेर खेतमा ७० लाख बजेट हाली विवादमा आएका छन् । उनले बजेट निर्माणकै क्रममा अर्थ मन्त्री तथा अन्य मन्त्रीहरुलाई भने अनुसारको बजेट नहाले गोली हान्ने धम्कीसमेत दिएको विषय सार्वजनिक भएको थियो ।