बिज्ञापन
काठमाडौं, २०८२ जेठ १४
सरकारी सेवाबाट उमेर हदका कारण अनिवार्य अवकाश लिएका राष्ट्रसेवक कर्मचारीलाई लक्षित गर्दै राष्ट्रिय कितावखानाले ‘‘एउटै काउन्टर, दुई घन्टाभित्र सेवा’’ भन्ने नारासहित सेवा प्रवाहको नयाँ प्याकेज लागू गरेको छ।
बिज्ञापन
ढिलासुस्ती, शाखा–शाखा धाउनुपर्ने झन्झट, र कर्मचारीको रुखो व्यवहारले हैरान पार्ने अनुभव बोकेका अवकाशप्राप्त कर्मचारीहरूको गुनासोलाई सम्बोधन गर्दै सेवा सहज, प्रभावकारी र समयमै पुर्याउने उद्देश्यले यो प्याकेज लागू गरिएको हो।
महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार, ‘‘भर्खरै सेवाबाट निवृत्त भई पेन्सन पट्टा बनाउन आएका धेरै कर्मचारीहरूले भौतिक फाइल खोज्न, शाखा धाउन र सेवा पाउन दिनौं लाग्ने गरेको गुनासो गरेका थिए। त्यस्ता समस्यालाई अन्त्य गर्न यो प्याकेज सुरु गरिएको हो।’’
बिज्ञापन
प्याकेजअन्तर्गत उपलब्ध प्रमुख सेवाहरू:
१. निवृत्तिभरण अधिकारपत्र (पेन्सन पट्टा) जारी
२. घरबिदा तथा बिरामी बिदाको रकम किटानीपत्र जारी
३. औषधि उपचार वापतको रकम किटानीपत्र जारी
४. निवृत्त कर्मचारीको डिजिटल ID कार्ड जारी
यी सम्पूर्ण सेवा अब एउटै काउन्टरबाट अधिकतम दुई घन्टाभित्र प्रदान गरिनेछ।
सुधारका चार आधार
महानिर्देशक पोखरेलका अनुसार, सेवा प्रभावकारी बनाउन चार महत्वपूर्ण सुधार गरिएका छन्:
- Core App (pis.gov.np) लाई सबै सरोकारवालाको पहुँचमा ल्याएर Live गरिएको।
- Digitization प्रक्रिया तीव्र पार्दै Dedicated Team परिचालन।
- Front Desk अभिमुखिकरण गरी एउटै काउन्टरबाट सेवा दिन सक्ने बनावट।
- Software सुधार गरेर ग्रेड निर्धारण र निवृत्तिभरण गणना सहज बनाइएको।
आगामी योजना र सीमितता
महानिर्देशक पोखरेलले यो प्याकेज प्रारम्भमा उमेरहदले सेवा निवृत्त भएका कर्मचारीका लागि मात्र लागू गरिए पनि आगामी दिनमा अन्य लाभग्राहीहरूका लागि पनि विस्तार गरिने योजना रहेको बताए।
तर, विभागले यो प्याकेजका केही सीमितता पनि औंल्याएको छ। निवृत्त कर्मचारीको सेवाविवरण अद्यावधिक नभएको, आवश्यक कागजात नलिएर आएको, वा पेश गरिएका प्रमाणिक कागजातहरू त्रुटिपूर्ण भएको खण्डमा निर्धारित समयसीमाभित्र सेवा दिन समस्या हुने विभागले स्पष्ट पारेको छ।
त्यसैले विभागले सम्पूर्ण निवृत्त कर्मचारीहरूलाई पूर्वतयारीसहित आउनुहुन अनुरोध गरेको छ।