यो प्रकरणमा रविलाई मात्रै कसरी उन्मुक्ति दिन मिल्छ

निडर र हक्की स्वभावका दिनेश त्रिपाठीको एकै रिटले केपी शर्मा ओलीका २१ भाइ मन्त्रीको जागिर गयो । केपीले नै दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्दा रिट हाल्ने र पैरवीमै उत्रिने पनि यिनै हुन् ।  द्वन्द्वकालिन हत्याकाण्डमा माओवादी नेता बालकृष्ण ढुंगेललाई जेल पठाउने, माइतीघरमा भेला हुन प्रतिबन्ध लगाउने सरकारी निर्णय खारेज गराउने काम यिनले नै गरेका थिए । राजा ज्ञानेन्द्रको शासनकालमा टेलिफोन लाइन काटिँदा होस् वा बन्दी प्रत्यक्षीकरणमा थुनिएका ४ सयलाई थुनामुक्त गराउने रिट उनकै थियो । सहकारी ठगी प्रकरणमा पीडितको पक्षबाट कास्कीमा बहस गरेका त्रिपाठीले कान्छा न्यायाधीश नितिश राईको इजलासबाट आएको आदेशलाई स्वाभाविक मानेका छैनन् । आदेश पढ्दा न्यायिक मस्तिष्क वा मन प्रयोग नभएको,  स्पिकिङ अर्डरमा तर्क र आधार नखोलिएको, भोलिपल्टको फैसला अघिल्लै दिन तयार भएको लगायत विषयमा टेकेर ‘रविलाई धरौटीमा छोडिएको कुरालाई स्वाभाविक मान्न सकिँदैन’ भन्छन् उनी । झण्डै ४ दशकदेखि कानुनी अभ्यास गर्दै आएका उनी आगामी बार निर्वाचनमा अध्यक्षका निम्ति भिड्न बल गर्दै छन् । 

बिज्ञापन

० सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कान्छा न्यायाधीश नितिश राईको इजलासबाट आएको आदेशलाई कसरी हेर्नुभएको छ ? 

बिज्ञापन

– रवि पक्राउ परेको महिना दिनसम्म उनी पक्षधरहरूले पोखरामा प्रदर्शन गरे । रविविरुद्ध राज्य पूरै लागेको छ,  उनी निर्दाेष छन् भन्ने भाष्य बनाए । कमसे कम उक्त भाष्यलाई अदालतले खण्डित गर्‍यो । लामिछानेले मेरो खातामा पैसा कहाँबाट आयो, थाहा छैन । यो सहकारीलाई चिन्दा पनि चिन्दिनँ भन्दै आएका थिए । उक्त बयानलाई पनि खण्डन गर्दै, सहकारीबाट तिम्रै खातामा पैसा आएको छ । सो पैसा आफन्तको नाममा समेत ट्रान्सफर गरेका छौ । तिमी गोर्खा मिडिया (ग्यालेक्सी टिभी)को जागिरे मात्र होइनौ कि प्रबन्ध निर्देशकको हैसियतमा ८१४ वटा चेक काटेका छौ । उक्त मिडियामा जोडिनु भन्दा अगाडि पनि चेक काटेका छौ भनिदिएको छ । यसबाट रविको ‘मलाई थाहा छैन’ भन्दै दाबी पूर्णतया झुटो सावित भएको छ । बैंक र अन्य संस्थालाई ठग्न उति सहज छैन । सबैभन्दा कमजोर क्षेत्र, गरिबहरूको पैसा जम्मा भएको सहकारी नै हो । त्यहाँ कुनै नियमन थिएन । योजनाबद्ध ढंगबाट उक्त सहकारीको पैसा टेलिभिजनमा ल्याउने काम भएको छ । अदालतको ठहर छ– तत्काल तिमीलाई निर्दाेष मान्न सकिएन । नेपालजस्तो न्यून आय भएको मुलुकमा साधारण मान्छेले ६५ लाख कमाउन तीन पटक जन्मनुपर्छ । यो धेरै ठूलो धनराशिको धरौटी हो । अर्काे नमिल्दो कुराचाहिँ अदालतबाट आदेश आएको आधा घण्टाभित्रै सबै पैसा म्यानेज भयो । प्रमाणको गम्भीरता र अदालतको ट्रेण्ड (पाँच– दश लाख सहकारी ठगीमा मुछिएका धेरै मान्छेलाई थुनामा पठाएको) यही सूर्यदर्शन सहकारी प्रकरणमा हाजिर भएका सबै मान्छे जेलमा छन् । अपचलनकर्ता त यिनीहरू नै हुन् । पैसा उडेर रविहरूको खातामा आउने । तर, अरु थुनिने काम भएको छ । यो ठूलो अपराध हो जहाँ हजारौँ मान्छे सहकारीबाट ठगिएका छन् । यो प्रकरणमा रविलाई मात्रै कसरी उन्मुक्ति दिन मिल्छ ?

० ६५ लाख धरौटीमा छुट्दा कतिपयले रवि निर्दाेष ठहरिए भनेर उत्सव मनाइरहेको देख्दा कस्तो लाग्छ ? 

बिज्ञापन

– अदालतले यी–यी तथ्य र प्रमाणका आधारमा यिनी कसुरदार होइनन् भन्न सकिएन त्यसमा उत्सव मनाउनुपर्ने कुरा के छ र ? अरु केसमा जस्तो पछिसम्म त्यो कसुर बदलिँदैन । जस्तोः कुनै ज्यान केसमा प्राप्त प्रमाणमा एकथरी देखिए पनि भोलि ती प्रमाण खण्डित हुन्छन् । उजुरकर्ता, साक्षीहरू नै अदालतमा उपस्थित हुँदैनन् । बयान बदल्छन्, होस्टाइल भइदिन्छन् तर सूर्यदर्शन सहकारीबाट रविको खातामा पैसा आएको देखि अपचलन भएकोसम्म स–प्रमाण उल्लेख छ । त्यो डकुमेन्ट्री एभिडेन्स हो । जुन पछिसम्म परिवर्तन हुँदैन । यो तथ्यका आधारमा उनले सफाइ पाउन अब गाह्रो छ ।

० लिड लयर सुशील पन्त र कान्छा न्यायाधीशबीच ‘गुरु चेला’को साइनो । पन्तको ‘जुरिष्ट एण्ड कम्पनी’ मा प्रशिक्षार्थी थिए राई । अहिले सुशीलले रविको पक्षबाट बहस गर्ने, उनै राईले आदेश सुनाउने । यसमा स्वार्थको द्वन्द्व भएन र ? 

– यो एकदम गम्भीर विषय हो । कन्फ्लिक्ट अब इन्ट्रेष्टको इस्यु पनि हो । यस्तो स्थितिमा सुनुवाइको प्रक्रियाबाट न्यायाधीश अलग हुनुपथ्र्याे । आदेश, टाइप, हस्ताक्षरमा समेत २४ पुसकै मिति छ । फैसला भने २५ गते सुनाइएको छ । यो कुराले पनि थप आशंका जन्मिएको छ ।

० रातको समय ६५ लाख धरौटी माग्नेबित्तिकै तत्कालै जोहो गरेर प्रतिवादीहरू तत्कालै छुट्नुलाई संयोग मात्र मान्न सकिएला र ?

– एकातिर मिति शंकास्पद छ, अर्काेतिर चार बजे बन्द हुने बैंक त्यति ठूलो धरौटी रकम दिन कसरी तयार भयो ? १८ हजार मान्छे ठगिएको मुद्दामा न्यायिक प्रक्रियामाथि नै गम्भीर प्रश्न उठ्ने स्थिति पैदा भएको छ । आकाशै खसे पनि न्याय हुनुपर्छ भनिन्छ । यी गम्भीर विषयमा न्याय परिषद्ले गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ ।

० नातेदार, झगडियाको बहस नसुन्ने यसअघिको परम्परा साझेदार र न्यायाधीश नितिश राईको बेञ्चबाट तोडियो होइन त उसो भए ? 

– शुरुमा यो कुरा बाहिर आएको थिएन । साविक जानकारीमा भएको भए प्रश्न उठ्थ्यो । जाहेरीवालाले नै प्रश्न उठाउँथ्यो । यो कुरा अरुलाई जानकारी भए पनि न्यायाधीशलाई त थाहा थियो । न्यायिक निष्पक्षता र पवित्रताका लागि भए पनि उहाँ आफैँ अलग हुनुपथ्र्याे । जतिखेर केपी शर्मा ओलीले संसद भंग गर्नुभयो, रिट हरिकृष्ण कार्कीको बेञ्चमा हुने भयो । मैले उहाँलाई आग्रह गरें, तपाईं उहाँको महान्यायाधिवक्ता, तपाईंले बेञ्चमा बस्न मिल्दैन । सुझाव स्वीकारेर उहाँ आफैँ अलग हुनुभयो ।

० सूर्यदर्शन ठगीमा जोडिएका कुमार रम्तेललगायतलाई त्यही कास्की जिल्ला अदालतले जेल पठाएको छ तर कान्छा न्यायाधीशले पर्याप्त सुबत–प्रमाण हुँदाहुँदै रविलाई छोड्नुको मतलब भीडको दबाब त होइन ? 

– मैले यो प्रश्न उठाएको थिएँ । कतिपय सञ्चालक जसको माइन्युटमा कुनै हस्ताक्षर छैन । उनीहरूले सहकारीबाट कुनै फाइदा लिएको पनि देखिँदैन । तर उनीहरूलाई नै थुुनामा पठाइएको छ । उता रविको खातामै पैसा आएको, अपचलन गरेको प्रष्ट हुँदाहुँदै धरौटीमा छाडिएको छ । यसले एउटै मुलुकमा दुई थरी न्यायप्रणाली छ भन्ने देखिएको छ ।

० ८१४ वटा चेकमा हस्ताक्षर चल्ने रविलाई ६५ लाख, कतै हस्ताक्षर नदेखिएको छविलाई २३ लाख बढी अर्थात् ८८ लाख धरौटी । लिँदा कुरा मिल्यो त ? 

– आदेशमा न्यायिक मस्तिष्क वा मनको प्रयोग भएको देखिँदैन । स्पिकिङ अर्डरमा तर्क र आधार खोजिएको छैन । हचुवाको भरमा आदेश आएको देखिन्छ ।

० यो प्रकरणमा पूर्वप्रधानन्यायाधीशहरूको समूह परिचालन भएजस्तो यहाँलाई लाग्छ कि लाग्दैन ? 

– जानकारी नभएको कुरामा बोल्न मिलेन ।

० रविलाई कास्की, काठमाडौं, चितवन हुँदै बुटवललगायत पाँच–पाँच वटा जिल्ला घुमाउँदा मानवअधिकार हनन भयो कि ! 

– यो कुरा मानवअधिकारसँग होइन अपराधसँग सम्बन्धित छ । पीडितको न्यायसँग सम्बन्धित छ । एउटै प्रकृतिको अपराध धेरै क्षेत्रमा गरिएको छ । यो त स्मार्ट ठगीको एउटा नमुना हो । रियल अपराधी अदृश्य हुन्छ, पर्दापछाडि बस्छ र अरुलाई परिचालित गर्छ । गरिबको पैसा अपचलन गर्छ । रविका भक्तहरू भन्दैछन्, उनलाई फसाइयो । फसाएको भए एक ठाउँमा पो नाम पर्न जान्छ होला । पाँच–पाँच ठाउँमा कसरी नाम पर्छ ? बुटवल, पोखराको कारोबारमा ठेगानासमेत ढाँटेको छ । कतै पोखरा सिर्जना चोक बस्ने रवि लामिछानेको कतै बुटवल ११ बस्ने रवि लामिछाने भनेर ठेगाना ढाँटी पैसा लिएको छ । संगठित ढंगबाट ठगी भइसकेपछि जहाँ–जहाँ उजुरी पर्छ तत् तत् जिल्लाका निकायले त्यसलाई हेर्ने हो, क्षेत्राधिकारअनुसार । काठमाडौँमा भएको अपराधमा कास्कीले क्षेत्राधिकार ग्रहण गर्न सक्दैन । बुटवलको अपराधको क्षेत्राधिकार काठमाडौं जिल्ला अदालतमा पर्दैन । रविको मानवअधिकारको कुरा उठाउनु हाँस्यास्पद र कानुनी सामान्य ज्ञानको अभाव हो । पाँच वटै सहकारीको लाखौं पीडित छन् । उनीहरूको विषयमा कोही बोलिरहेको छैन । अत्यन्त न्यून आय भएका लाखौं गरिबको शिक्षा, औषधोपचारको अधिकार खोसिएको विषयमा कोही प्रश्न उठाउँदैनन् । भोलि अनुसन्धान क्रममा अन्यत्र पनि ठगिएको देखिए त्यता पनि लैजानुपर्ने हुन्छ ।

० हालै न्यायपरिषद्मा कांग्रेस सभापति शेरबहादुर देउवाका छिमेकी दामोदर खड्कालाई पठाइएको छ । न्यायपरिषद् मान्छेको अनुहार हेरेर उसलाई गुण लगाउने ठाउँ हो ? 

– हाम्रो हरेक इन्स्टिच्युटको विश्वसनीयतालाई गम्भीर रूपमा संकटग्रस्त बनाइएको छ । संस्थाको मर्यादालाई समाप्त पारिएको छ । यहाँ कुनै पनि नियुक्ति प्रक्रिया पारदर्शी हुँदैनन् । योग्य मान्छे लगिँदैनन् । संवैधानिक आयोगमा ५२ भाइ नियुक्त गर्दा ठाडै कानुन मिचिएको हो । संसदीय सुनुवाइसमेत नगरी यसरी नियुक्त भएको चार वर्ष भइसक्दासमेत अदालतले मुद्दाको फैसला गर्दैन । यो त डरलाग्दो विडम्बना हो ।

० बारको चुनाव लाग्दै छ । तयारी के छ ? 

– अध्यक्षको दावेदार छु । साथीहरूसँग छलफल चल्दै छ । सक्षम न्यायपालिका बनाउन सक्षम बार चाहिन्छ । राजनीतिको छायाँमा परेका, एजेण्ट आउनु भएन ।

० वकिलहरूको मनपरी शुल्क लिने गरेको गुनासो छ । यसरी मनपरी पैसा उठाउन, कर नतिर्ने छुट नेपालमा मात्र हो कि अन्यत्र पनि हुन्छ ? 

– संसारभर नै वकिलको फि यति नै भनेर तोकिएको हुँदैन । योग्यता, क्षमता, अनुभव, विश्वसनीयता र मुद्दाको गम्भीर्यता हेरेर पनि हुन्छ । जटिलता हेरेर कति मिहिनेत गर्नुपर्ने मुद्दा हो सोअनुसार क्लायन्ट र लयर्सको सहमतिमा लेनदेन हुने हो । पारिश्रमिक लिनु घुस खानु होइन ।

० अध्यादेशमार्फत शासन चल्नुलाई कसरी लिनुहुन्छ ? 

– केपी शर्मा ओली आफूले २–२ चोटि विघटन गरेको संसदलाई देखिसहनु हुन्न । अहिले पनि संसदको अवहेलना हुने गरी छलेर कानुन बनाउनुुभएको छ । यो संविधानले कानुन बनाउने समानान्तर संस्थाको कल्पना गरेको छैन । यसरी एउटा नयाँ किसिमको निरंकुशतावाद र अधिनायकवाद यो मुलुकमा हावी हुँदै छ । बाध्यतात्मक स्थितिमा मात्र जारी हुने अध्यादेशलाई अपवाद बनाउँदै हुनुहुन्छ । कार्यपालिकाले कानुन बनाउने होइन, कानुन कार्यान्वयन गर्ने हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जन्तीबाख्रो सार्वजनिक

प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

उत्कृष्ट राष्ट्रसेवकको तक्मा-पुरस्कार थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

१५ शाखा अधिकृत उपसचिवमा बढुवा

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

बिशेष