सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति बदर गरिदिएको छ। सर्वोच्चका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार श्रेष्ठको नियुक्ति कानुनसम्मत नभएको ठहर गर्दै रिट जारी गर्ने फैसला सुनाएको हो।नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिट अनुसार ८१ वर्षीय कार्यकारी अध्यक्ष श्रेष्ठ पदमुक्त भएका हुन्। सर्वोच्चले श्रेष्ठको अध्यक्ष पदको नियुक्ति बदर गरे पनि उनी निगमको सञ्चालक समिति सदस्यका रूपमा भने कायम रहने स्पष्ट गरेको छ।
बिज्ञापन
कार्यकारी प्रमुखका लागि ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्डविपरीत नियुक्ति गरिएको भन्दै निगम सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले असार ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए। निगमको कार्यकारी अध्यक्ष नियुक्तिका लागि भएको छनोट प्रक्रियामा आफू योग्यताक्रममा पहिलो नम्बरमा रहेको अवस्थामा आफूलाई पन्छाएर पछिल्लो क्रममा रहेका श्रेष्ठलाई नियुक्त गरिएको भन्दै उनले उक्त निर्णय बदर गर्न माग गरेका थिए। उनले अयोग्य उम्मेदवारलाई गरिएको सिफारिस उत्प्रेषण तथा परमादेशलगायतका आदेशमार्फत बदर गरी छनोट प्रक्रियामा योग्यताक्रमका आधारमा पहिलो नम्बरमा रहेका आफूलाई कार्यकारी अध्यक्ष नियुक्त गर्न माग गरेका थिए।
बिज्ञापन
रिटमा कार्कीले सरकारले निगमको सञ्चालक समिति सदस्यलाई कार्यकारी प्रमुख तथा महाप्रबन्धकका रूपमा नियुक्त गर्न गरेको सिफारिस नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ र ६ का विभिन्न उपदफा, पर्यटन मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड, २०७३ तथा निगमको महाप्रबन्धक छनोटसम्बन्धी कार्यविधि, २०८२ विपरीत रहेको दाबी गरेका थिए। सोही रिटको सुनुवाई गर्दै ८१ बर्षे श्रेष्ठको नियुक्ति बदर भएको हो ।
बूढाखाडाहरुले देश बिगारे भन्दै नेतृत्वमा युवाहरु पुगे तर तिनै युवाहरुको रोजाईमा ६५ बर्ष नाघेका व्यक्तिहरुलाई लाभको पदमा पुर्याइएको घटनाले समेत सरकार आलोचित छ । शिक्षाजस्तो क्षेत्रको संवेदनशील र गरिमामय पदमा राजनीतिक पृष्ठभूमिका उमेरहद नाघेका व्यक्तिलाई नियुक्त गरिएपछि विरोध भइरहेको समयमा समेत उस्तै गल्ती दोह्रोर्याइएको थियो, नेपाल वायुसेवा निगमको कार्यकारी निर्देशकको नियुक्तिमा ।
बिज्ञापन
कुनै पनि सार्वजनिक निकायको पदाधिकारी बन्न ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने कानूनी व्यवस्था छ । तर, त्रिवि सेवा आयोग र नेपाल वायुसेवा निगमको कार्यकारी निर्देशकमा नवनियुक्त भएकाहरु ६८ बर्ष नाघिसकेको पाइन्छ । किशोर थापा ६८ वर्ष उमेर पार भइसकेका छन् । शहरी योजनाविद्का रुपमा परिचित उनले सचिवको पाँच वर्षे पदावधि पूरा गरेर अवकाश पाएकै १२ वर्ष बितिसकेको छ ।उनी ०७४ सालको स्थानीय तह चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका उनी पराजित भएका थिए । त्यतिबेला रविन्द्र मिश्र नेतृत्वको तत्कालिन साझा पार्टीमा आबद्ध भएपनि उनी स्वतन्त्र लड्नुपरेको थियो । यसरी एकातिर उमेरहद नाघेको, अर्कोतिर आफ्नालाई विश्वविद्यालयको गरिमामय पदमा नियुक्त गरेर आलोचित बनेको सरकारले मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा भएको कार्यकारी अध्यक्ष नियुक्त गरेको महेश्वरभक्त श्रेष्ठको नियुक्ति अदालतले बदर गरेको हो ।
यो निर्णयझैं नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षको नियुक्तिझैं विवादमा परेको छ,प्राधिकरणको अध्यक्षमा त्यहीँका कर्मचारी अर्जुन घिमिरेलाई अध्यक्षमा नियुक्त गरे । तर उनको नियुक्ति अरु दाबेदार प्रतिस्पर्धीको अन्तर्वार्ता नसकिँदै नियुक्ति दिएको खुलासा भएको छ । गत २४ असारको निर्णय अनुसार अध्यक्षमा घिमिरेको नियुक्ति गरिएको थियो । जबकी सोही समयमा अध्यक्षको लागि नौ प्रतिस्पर्धीमध्ये सुशीलप्रसाद साहको अन्तर्वार्ता चलिरहेको थियो । गत असार २४ असार साँझ ४ः५५ बजेदेखि ५ः ४५ बजेसम्म उनीसहित अरु उम्मेदवारको अन्तर्वार्ता चलिरहँदा उता क्याविनेटले भने अर्जुन घिमिरेलाई नियुक्ति दिइसकेको खुलासा भएको हो । यस हिसाबले जान्नेलाई छान्नेहरुले गरेको नियुक्तिमा मेरिटोक्रेसीलाई प्रथामिकता दिने भनिए पनि आफू अनुकुलका पात्रहरुलाई ठाउँ ठाउँमा पुर्याइएको खुलासा भएको हो ।
उसो त यस अघि बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा डा आनन्द सिंह भाटलाई नियुक्त गर्दा पहिलो नम्बरका विकास अधिकारीलाई फालिएको थियो ।


























