भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन प्रशासन मन्त्रालयले ४ सय जना कर्मचारीको अनलाइन प्रणालीबाटै सरुवा गरेको दावी गरेको छ । गत असार १६ मा यो प्रणाली विकास गरे यता सरुवाका लागि २ हजार भन्दा बढी कर्मचारीहरुले आवेदन दिएकामा यो अवधिमा खरिदारदेखि उपसचिव तहका गरी ४ सय प्लस कर्मचारीको अनलाइन प्रणालीबाटै सरुवा गरिएको मन्त्रालयले दावी गरेको छ ।
मन्त्रालयका अनुसार सरुवा प्रणालीमा हालसम्म ६ बढी कर्मचारीहरु जोडिएका छन् । ट्रान्सफर म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम’ नामक सफ्टवेयर सञ्चालनमा ल्याए यता ४ सय जना कर्मचारीहरुको प्रणालीमार्फत सरुवा गरेको मन्त्रालयलले जनाएको छ । सरुवाका प्रक्रियामा एक सयभन्दा बढी निवेदनहरु रहेको मन्त्रालयको दावी छ ।
यद्यपि सरुवामा परेका कर्मचारीहरु भने यो तथ्य मान्न तयार छैनन् । कर्मचारी प्रेसका सम्पर्कमा आएका केही कर्मचारीहरुका अनुसार मन्त्रालयले कर्मचारीबाट सरुवाका लागि अनलाइन फाराम भर्न लगाएको थियो । यसरी अनलाइन आवेदन दिएको महिनौसम्म केहीको सरुवा नभएको,केहीको मागिएको भन्दा अन्यन्त्र सरुवा भएको त केही कर्मचारीहरुले माग नै नगरी सरुवा गरेको भन्दै सो प्रणालीमाथि नै प्रश्न उठाइरहेका छन् ।
बिज्ञापन
यो प्रणाली विकास गरिए यता असार २९ मा मात्र मन्त्रालयले ११२ जना अधिकृत तहका कर्मचारीहरुको सरुवा गरेको थियो । यस्तै असार २६ मा ३९ जना कर्मचारीहरुको सरुवा गरेको मन्त्रालयले जनाएको छ । यस्तै १६ असार पछाडि विभिन्न मितिमा २६ जना गरी कूल १७७ जना कर्मचारीको अनलाइनबाटै सरुवा गरेको थियो । यस्तै साउन महिना लागे पछि मन्त्रालयले थप २ सय ३३ जना कर्मचारीहरुको सरुवा गरेको जनाएको छ,त्यो पनि अनलाइन प्रणालीबाटै । मन्त्रालयले पछिल्लो दिनमा मात्र शाखा अधिकृत र उपसचिव तहका ४५/ ३७ जना नायब सुब्बा तहका कर्मचारीहरुको सरुवा गरेको थियो । यस्तै साउनमा उपसचिवहरुको सरुवा गरेको थियो मन्त्रालयले । सो समयमा उपसचिवहरु महेन्द्र विश्वकर्मा, विवेक घिमिरे, माधव ढकाल, अनुषा कोइराला लगायतलाई मन्त्रालयबाट बाहिर पठाइएको छ । तर,एक दशक भन्दा बढी समयदेखि मन्त्रालयमा जरा गाढेर बसेका तुलसी भट्टराई, दीपक ढकाल, अश्विन पोखरेललाई सामान्यमै राखिएको,अर्थबाट मुक्ति सुवेदीलाई समेत दुई जना सहसचिवहरुको जोडबलमा सामान्यमा भित्र्याइएको छ । सामान्यमा भित्रिएकाहरु अधिकांश काँग्रेस निकटका हुन भने बाहिरिएकाहरु प्रगतिशील विचार बोक्ने कर्मचारीहरु रहेको बताइन्छ । विशेषगरी सरुवाका लागि अनलाइन आवेदन माग गरिए पनि आवेदनमा उल्लेख गरिएको रोजाइ र प्राथमिकतालाई पर्याप्त आधार नबनाई मनपरी ढंगले सरुवा गरिएको सरुवामा परेका कर्मचारीहरु गुनासो पोख्न थालेका छन् ।



























