काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विभिन्न प्रशासनिक तथा समसामयिक विषयमा निर्णय हुने बताइएको छ।
बिज्ञापन
आजको बैठकले प्रशासन सेवातर्फ रिक्त सचिव पदमा बढुवासम्बन्धी निर्णय गर्ने सम्भावना छ। सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरिसकेको छ।
बिज्ञापन
लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले कमलप्रसाद भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपाललाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो।
पहिलो नम्बरमा सिफारिस भएका भट्टराई हाल बागमती प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिवका रूपमा कार्यरत छन्। दोस्रो नम्बरमा रहेकी घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्। तेस्रो नम्बरमा सिफारिस भएका नेपालको दरबन्दी अर्थ मन्त्रालयमा भए पनि उनी हाल एसियाली विकास बैंक (एडीबी)को मनिला कार्यालयमा कार्यरत छन्।
बिज्ञापन
सिफारिस भएका तीनै जना मन्त्रिपरिषद्ले सचिवमा बढुवा गर्ने सम्भावना रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
त्यस्तै, आजको बैठकमा कार्यावधि पूरा भएका केही सचिवको सरुवाका विषयमा समेत छलफल हुन सक्ने बताइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यावधि पुगेका सचिवहरूको जिम्मेवारी हेरफेर तथा मन्त्रालयगत सरुवाको चर्चा चलिरहेको छ।
मन्त्रिपरिषद् बैठकले सचिव बढुवा र सम्भावित सरुवाबारे निर्णय गरेमा प्रशासनिक क्षेत्रमा ठूलो हेरफेर हुने देखिएको छ।



























