भन्सार जाँच नगरी आठ कन्टेनर छुटाइएपछि खैलाबैला, मुस्ताङको ‘सेटिङ’ अब राजस्वको जिम्मामा

मुस्ताङ भन्सारबाट नियन्त्रणमा लिइएका आठवटा कन्टेनर र तिनका चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर पठाइएको छ। अवैध वस्तु ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले गरेको जाँचका क्रममा ती कन्टेनर भन्सार यार्डमा आवश्यक चेकजाँच नगरी सिधै सिल लगाएर पठाइएको पाइएको थियो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले कन्टेनरसहित चालकलाई नियन्त्रणमा लिएपछि उनीहरूलाई प्रहरी टोलीकै साथ राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको हो। पक्राउ परेका कन्टेनरमा कम्प्युटर सामग्री बोकेका चारवटा, टफेटा कपडा बोकेको एउटा र रेडिमेड सामग्री बोकेका चारवटा गाडी रहेको स्रोतको दाबी छ।

बिज्ञापन

स्रोतका अनुसार ती गाडीमध्ये दिलीप शेर्पाको नाममा दुई, सन्तोष पराजुलीको नाममा दुई, अमृत कार्कीको नाममा १ र भाटभटेनीसँग सम्बन्धित तीनवटा गाडी रहेका छन्। यद्यपि, यी विवरण तथा मालवस्तुको वास्तविक परिमाणबारे राजस्व अनुसन्धानबाट हुने विस्तृत अनुसन्धानपछि मात्रै वास्तविकता स्पष्ट हुने देखिन्छ।
यस घटनासँगै राजस्व अनुसन्धान विभागको नेतृत्व र अनुसन्धान अघि बढाउने अधिकारलाई लिएर समेत प्रश्न उठेको छ। तत्कालीन महानिर्देशक तीर्थराज चिलवाल प्रदेशमा सरुवा भएपछि विभागको नेतृत्व रिक्त रहेको र हाल नरेन्द्र पाण्डे निमित्त महानिर्देशकका रूपमा कार्यरत छन्। स्रोतका अनुसार निमित्त महानिर्देशकलाई कारबाही प्रक्रिया अघि बढाउन तथा कानुनी दफा प्रयोग गरी जरिवाना वा अन्य कारबाही गर्न पाउने अधिकारबारे मन्त्रालयस्तरमा समेत छलफल भएको छ। यही विषयमा निमित्त महानिर्देशक सोमबार मन्त्रालय पुगेको स्रोतको भनाइ छ। स्रोतका अनुसार उनलाई आवश्यक अधिकारसमेत दिइएको बताइएको छ।

मुस्ताङ भन्सार पछिल्लो समय पटक–पटक विवादमा तानिँदै आएको छ। कर्मचारी प्रेसले यसअघि समाचार प्रकाशन गरेपछि यही भन्सार कार्यालयबाट छुटेका दुई मालवाहक गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो। घोषणापत्रमा उल्लेख गरिएको मालवस्तुको परिमाण र वास्तविक मालवस्तुबीच फरक भेटिएपछि एउटा गाडीलाई ८ लाख र अर्को गाडीलाई ६ लाख रुपैयाँ गरी कुल १४ लाख रुपैयाँ जरिवाना तिराइएको स्रोतले जनाएको छ।
तर, घोषणापत्र र वास्तविक मालवस्तुबीचको फरक प्रारम्भिक जाँचकै क्रममा पहिचान गर्न नसक्ने जाँचकी वा संलग्न कर्मचारीमाथि भने हालसम्म कुनै कारबाही नभएको स्रोतको दाबी छ। यसले भन्सारको जाँच प्रणाली, कर्मचारीको भूमिकादेखि निगरानी संयन्त्रमाथि नै गम्भीर प्रश्न उठाएको छ।

बिज्ञापन

मुस्ताङ भन्सारसँग जोडिएको अर्को विवादास्पद विषय बजेट आउनुअघि यही नाकाबाट ठूलो संख्यामा विद्युतीय सवारीसाधन (ईभी) छुटाइएको विषय पनि हो। स्रोतका अनुसार त्यतिबेला ६४९ वटा ईभी यही नाकाबाट छुटेका थिए। सोही प्रकृतिको प्रकरणमा रसुवा भन्सार कार्यालयका कर्मचारीमाथि कारबाही हुँदा मुस्ताङ भन्सारका कर्मचारीमाथि भने कुनै ठोस एक्सन नलिइएको भन्दै प्रश्न उठ्दै आएको छ। बरु अर्थ मन्त्रालयले छानबिन समिति बनाएर मुस्ताङ भन्सारका कर्मचारीलाई क्लिन चिट दिएको स्रोतको दाबी छ।

यसअघि यही भन्सार नाकाबाट ठूलो परिमाणमा भेप तस्करी भएको विषयसमेत सार्वजनिक भएको थियो। लगातार एउटै भन्सार कार्यालयसँग जोडिएर यस्ता घटना सार्वजनिक भइरहनुले भन्सारको निगरानी र जाँच प्रणाली प्रभावकारी छ कि छैन भन्ने प्रश्न थप गम्भीर बनाएको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडाल हुन्। उनी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वमा आएपछि मुस्ताङ भन्सारको प्रमुखको जिम्मेवारीमा पुगेका हुन् ।

भन्सारमा हुने विवादास्पद गतिविधि प्रायः शुक्रबार वा सार्वजनिक बिदाको समयमा हुने गरेको समेत स्रोतको दाबी छ। सीमित कर्मचारीको उपस्थितिको फाइदा उठाउँदै सेटिङमा यस्ता गतिविधि हुने गरेको आरोप लाग्दै आएको छ।

अब पक्राउ परेका आठ कन्टेनरमा के–कस्ता सामग्री छन्, घोषणापत्रमा उल्लेख भएको विवरण र वास्तविक मालवस्तुबीच कति फरक छ, भन्सार यार्डमा आवश्यक जाँच किन भएन र कन्टेनरलाई कसको निर्देशनमा सिधै सिल लगाएर पठाइयो भन्ने प्रश्नको जवाफ राजस्व अनुसन्धानको अनुसन्धानले दिनेछ।
त्यससँगै अनुसन्धानले चालक र व्यवसायीमाथि मात्र कारबाही गर्छ कि भन्सार जाँचमा संलग्न कर्मचारी र सम्भावित सेटिङमा संलग्न अन्य व्यक्तिको भूमिकासमेत खोतल्छ भन्ने विषय पनि चासोको विषय बनेको छ। मुस्ताङ भन्सारसँग जोडिएका पछिल्ला घटनाको श्रृंखला हेर्दा यसपटकको अनुसन्धानले केवल एउटा घटनाको फाइल बन्द गर्ने कि भन्सारभित्रको सम्भावित सञ्जालसम्म पुग्ने भन्ने परीक्षा पनि राजस्व अनुसन्धान विभागका लागि हुने देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भन्सार जाँच नगरी आठ कन्टेनर छुटाइएपछि खैलाबैला, मुस्ताङको ‘सेटिङ’ अब राजस्वको जिम्मामा

२२ उपसचिव र २३ अधिकृतको सरुवा,४२ जनालाई खटाइयो स्थानीय तह

सम्पादक श्रेष्ठलाई छाड्न सर्वोच्च अदालतको आदेश

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर,लेखापालसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सहसचिव दाहाललाई धरौटीमा छाड्न आदेश

बहुमत पुर्याउन नसकेपछि बाहिरिए बानिँया

विमानस्थलबाट पक्राउ परे दुई कर्मचारी

कर्णाली अटोमोबाइल्स एशोसिएशनको नयाँ नेतृत्व : यस्ता छन् नयाँ योजना

बिशेष