मुस्ताङको जोमसोममा भन्सार जाँचपासबिनै भित्रिएका आठवटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ। घरपझोङ गाउँपालिका–४ स्थित पर्यटक चेकपोस्टबाट शनिबार चालकसहित आठ कन्टेनर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
बिज्ञापन
अवैध वस्तु ओसारपसार भइरहेको गोप्य सूचना पाएपछि शनिबार दिउँसो करिब १२ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले जोमसोम पर्यटक चेकपोस्टमा जाँच थालेको थियो। त्यसक्रममा कन्टेनरका कागजपत्र जाँच तथा चालकसँग सोधपुछ गर्दा ती कन्टेनर भन्सार यार्डमा चेकजाँच नगराई सिधै सिल लगाएर ल्याइएको प्रारम्भिक रूपमा खुलेको प्रहरीले जनाएको छ।
बिज्ञापन
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा कन्टेनरभित्र अवैध वस्तु हुनसक्ने आशंका देखिएपछि सबै कन्टेनर र चालकलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका कन्टेनर तथा चालकलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी नियन्त्रणमा लिइएका कन्टेनरमा ना ६ ख ४७४१ नम्बरको कन्टेनरका चालक धादिङ धार्के गाउँपालिका–२ का ३० वर्षीय ईश्वर थापा, को १ ख ५६९६ नम्बरको कन्टेनरका चालक दोलखा शैलुङ गाउँपालिका–३ का ४३ वर्षीय रत्नबहादुर तामाङ, बाप्र ०१००६ ख २२४८ नम्बरको कन्टेनरका चालक दोलखा भीमेश्वर नगरपालिका–८ का २९ वर्षीय उद्धव बस्नेत र बाप्र ०१००६ ख ६२७३ नम्बरको कन्टेनरका चालक पाल्पा तानसेन नगरपालिका–८ का ३६ वर्षीय धर्मबहादुर नेपाली छन्।
बिज्ञापन
त्यस्तै ना ३ ख ७१६० नम्बरको कन्टेनरका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३५ वर्षीय कर्म शेर्पा, ना ६ ख २०२२ नम्बरको कन्टेनरका चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का ३३ वर्षीय निरोज नेपाली, बाप्र ०१००६ ख ६६११ नम्बरको कन्टेनरका चालक काभ्रे पाँचखाल नगरपालिका–८ का २३ वर्षीय विशाल तामाङ र बाप्र ०१–००५ ख २२४५ नम्बरको कन्टेनरका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ३६ वर्षीय गोपाल श्रेष्ठ रहेका छन्।
यस घटनाले मुस्ताङ भन्सार कार्यालयको जाँच प्रणालीमाथि समेत गम्भीर प्रश्न उठाएको छ। यसअघि पनि भन्सार कार्यालयबाट जाँचपास भएर छुटेका दुई मालवाहक गाडीलाई समाचार सार्वजनिक भएपछि पुनः नियन्त्रणमा लिएर १४ लाख रुपैयाँ जरिवाना असुल गरिएको स्रोतले जनाएको छ।
कर्मचारी प्रेसले समाचार लेखेपछि एउटा गाडीलाई ८ लाख र अर्को गाडीलाई ६ लाख रुपैयाँ गरी कुल १४ लाख रुपैयाँ जरिवाना तिराइएको थियो। समाचार सार्वजनिक भएपछि भन्सार विभागका महानिर्देशक यामलाल भुसालले मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडाललाई सम्पर्क गरी सम्बन्धित गाडी नियन्त्रणमा लिन निर्देशन दिएको स्रोतको दाबी छ।
प्रारम्भिक जाँचका क्रममा छुटिसकेका ती गाडीलाई पुनः परीक्षण गर्दा घोषणापत्रमा उल्लेख गरिएको मालवस्तुको परिमाण र वास्तविक मालवस्तुबीच फरक भेटिएको बताइएको छ। सोही फरकका आधारमा ‘छुट असुल’ शीर्षकमा रकम असुल गरिएको स्रोतको भनाइ छ।
तर, प्रारम्भिक जाँचमै मालवस्तुको परिमाणमा भएको फरक पत्ता लगाउन नसक्ने जाँचकी वा सम्बन्धित कर्मचारीमाथि भने हालसम्म कुनै कारबाही नभएको स्रोतको दाबी छ। यसले भन्सारबाट हुने जाँचपासको प्रभावकारिता र कर्मचारीको जिम्मेवारीमाथि प्रश्न उठाएको छ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालको नेतृत्वमा भन्सार क्षेत्रमा पछिल्लो समय विकृति बढेको आरोपसमेत स्रोतले लगाएको छ। आठ कन्टेनर भन्सार जाँचपासबिनै जोमसोमसम्म कसरी आइपुगे भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएसँगै भन्सारको जाँच प्रणाली, कर्मचारीको भूमिका र कन्टेनरको वास्तविक मालवस्तुबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।
घटनाबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान अघि बढाएपछि कन्टेनरभित्र रहेको वस्तुको प्रकृति, त्यसको स्रोत, भन्सार प्रक्रिया छलिएको हो वा होइन तथा यसमा भन्सारका कर्मचारी वा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयसमेत स्पष्ट हुने देखिएको छ। स्रोतका अनुसार करिब १ करोडभन्दा माथि राजस्व हिनामिना भएको दाबी रहेको छ।
समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना



























