संघीय सरकारले स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रणाली संचालनमा ल्याएको भए पनि कतिपय स्थानीय तहले यो प्रणालीका कारण दुख पाएको गुनासो पोख्न थालेका छन् । आर्थिक बर्षको अन्त्यमा सो प्रणाली नचल्दा कर्मचारीहरूले रातभरी बसेर काम गरे पनि भुक्तानी प्रक्रिया रोकिएको र सेवाग्राहीसमेत प्रत्यक्ष रूपमा प्रभावित भएको भन्दै केही जनप्रतिनिधि,प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृतदेखि गाउँपालिका महासंघले समेत महालेखा नियन्त्रकको कार्यालयलाई पत्रै लेखेका छन् ।
बिज्ञापन
यसरी पत्र लेख्नेमध्यका एक हुन पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ । चालु आर्थिक बर्षको अन्तिममा सम्पन्न भएका योजनाहरुको भुक्तानी दिनुपर्नेमा सुत्र प्रणालीमा आएको समस्याका कारण धेरैको भुक्तानी रोकिएको भन्दै नगर प्रमुख गुरुङले महालेखा नियन्त्रक कार्यालयसँग सुत्र प्रणाली नचल्नुको कारण माग गरेका छन् ।
बिज्ञापन
नगर प्रमुख गुरुङद्वारा हस्ताक्षरित पत्रमा चालु आर्थिक वर्ष समाप्त हुने समयसम्म समेत असार २० गतेदेखि २५ गतेसम्म सुत्र प्रणाली नियमित रूपमा सञ्चालन हुन नसकेको उल्लेख गरिएको छ । प्रणाली नचल्दा कर्मचारीहरूले रातभरी बसेर काम गरे पनि भुक्तानी प्रक्रिया रोकिएको र सेवाग्राहीसमेत प्रत्यक्ष रूपमा प्रभावित भएको जनाइएको छ । नगर प्रमुखले सुत्र प्रणाली सञ्चालनमा नआउँदा रोकिएका भुक्तानीको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाइएका । नगरपालिकाले दिन र रात दुवै समयमा प्रणाली सञ्चालन हुन नसकेको अवस्थाले स्थानीय तहको वित्तीय व्यवस्थापनमा समस्या उत्पन्न भएको उल्लेख गर्दै सुत्र प्रणाली कहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्नेबारे यथाशीघ्र जानकारी गराइदिन महालेखा नियन्त्रक कार्यालयसँग अनुरोध गरेको छ ।

बिज्ञापन
यस अघि सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखी सुत्र प्रणाली ‘यथाशीघ्र संचालन गरिदिन’ अनुरोध नै गरेको छ । कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी र लेखा अधिकृत टेकेन्द्र कुमार कार्कीले हस्ताक्षर गरी महालेखा नियन्त्रकको कार्यालयलाई पठाएको पत्रमा उल्लेख छ ।
स्थानीय सरकारको कुनै कमजोरी वा लापरबाही नभई प्रणालीगत समस्याका कारण कानुनी दायित्व प्रभावित भएको भन्दै यसको प्रत्यक्ष असर सेवा प्रवाह, वित्तीय अनुशासन र स्थानीय सरकारप्रतिको जनविश्वासमा परेको चौतर्फी गुनासो उठेको छ । यस अघि हिजोमात्र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहमा सञ्चालनमा रहेको सूत्र प्रणालीमा देखिएका प्राविधिक समस्याका कारण स्थानीय सरकारको वित्तीय व्यवस्थापन, सेवा प्रवाह तथा कानुनी दायित्व पूरा गर्न कठिनाइ उत्पन्न भएको भन्दै तत्काल समाधान गर्न महालेखा नियन्त्रक कार्यालयको ध्यानाकर्षण गराएको छ।
महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सोमबार महालेखा नियन्त्रकलाई पठाएको पत्रमा आर्थिक वर्ष २०८२ /८३ को अन्तिम चरणमा सूत्र प्रणाली अत्यन्तै सुस्त सञ्चालन हुँदा भुक्तानी प्रक्रिया प्रभावित भएको, स्थानीय तहले समयमै वित्तीय दायित्व पूरा गर्न नसकेको तथा अन्तिम समयमा अस्वाभाविक भुक्तानी चाप सिर्जना भएको उल्लेख गरेको छ।
स्थानीय सरकारहरुले आफ्नो आम्दानी र खर्च सुत्रमा प्रविष्ट गर्नै पर्ने व्यवस्था छ । असार २५ गतेभित्रमा प्रविष्ट भएका खर्च मात्रै चालु आर्थिक वर्षमा भुक्तानी गर्न पाइन्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष सकिने ७ दिन अघिसम्म प्रविष्ट भएको खर्च मात्रै सो आर्थिक वर्षमा भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ ।
आर्थिक बर्षको अन्त्यमा भुक्तानीका फाइलको चाङ लाग्ने,एकैपटक धेरैवटा भुक्तानीको प्रविष्ट गर्नुपर्ने हुन्छ । र, यही समयमा चल्दैन संघीय सरकारले बनाइदिएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र घुमेको घुम्यै गर्ने तर नचल्ने समस्या देखिएको भन्दै स्थानीय तहले यो प्रणालीमाथि नै प्रश्न उठाएका छन् ।
तर महालेखाका प्रतिनिधिहरुले भने स्थानीय तहले भने सूत्र चलाउन नजानेको कतिपय पालिकामा समस्या देखिएको भन्दै पन्छिएको छ ।




























