निजामती प्रशासनको सबैभन्दा उच्च पद मुख्यसचिवमा ३५औँ वरीयताका सचिव गोविन्दबहादुर कार्की नियुक्त भएपछि प्रशासनिक वृत्तमा देखिएको असन्तुष्टि थप स्पष्ट हुँदै गएको छ। मुख्यसचिव बन्ने प्रमुख दाबेदार मानिएका नेपाल सरकारका वरिष्ठ सचिव किरणराज शर्मा शुक्रबारदेखि बिदामा बसेका छन्। उनी सचिव पदको पाँच वर्षे कार्यकाल पूरा हुने साउन ४ गतेदेखि अनिवार्य अवकाशमा जानेछन्।
बिज्ञापन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार शर्माले शुक्रबारदेखि साउन ३ गतेसम्मको बिदा स्वीकृत गराएका छन्। यस अवधिमा उनी कार्यालयमा उपस्थित हुने छैनन् र बिदामै रहँदा उनको सचिव पदको कार्यकाल समाप्त हुनेछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले पनि शर्मा बिदामा बसेको पुष्टि गरेका छन्।
बिज्ञापन
शर्मा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको पदबहाली कार्यक्रममा समेत सहभागी भएनन्। स्रोतका अनुसार अवकाशअघि आवश्यक प्रशासनिक तथा व्यक्तिगत प्रक्रिया पूरा गर्न उनले बिदा लिएका हुन्। यद्यपि, मुख्यसचिव नियुक्तिपछि देखिएको असन्तुष्टिसँग उनको अनुपस्थितिलाई पनि जोडेर विभिन्न अड्कलबाजी भइरहेका छन्।
तत्कालीन मुख्यसचिव सुमनराज अर्याल असार २६ गतेदेखि अनिवार्य अवकाशमा जानुअघि मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको थियो।
बिज्ञापन
राष्ट्रिय किताबखाना (निजामती)को अभिलेखअनुसार विशिष्ट श्रेणी (सचिव)मा कार्यरत ५७ सचिवमध्ये कार्की ३५औँ वरीयतामा थिए। उनीभन्दा माथि ३४ सचिव रहेका अवस्थामा गरिएको नियुक्तिले निजामती प्रशासनभित्र नेतृत्व छनोटको मापदण्ड र परम्पराबारे व्यापक बहस सुरु भएको छ।
वरियतामा पहिलो स्थानमा रहेका किरणराज शर्मालाई मुख्यसचिवको सबैभन्दा बलियो दाबेदारका रूपमा हेरिएको थियो। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै रहेर सरकारको नीति तथा कार्यक्रम तयारी, अन्तरमन्त्रालय समन्वय तथा प्रशासनिक नेतृत्वका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए। तर सरकारको निर्णयमा उनी मात्रै होइन, कार्कीभन्दा माथिका अन्य ३३ सचिवसमेत मुख्यसचिव नियुक्तिबाट बाहिरिए।
सरकारको निर्णयपछि मुख्यसचिव नियुक्तिमा वरियताक्रमलाई प्राथमिकता नदिइएको भन्दै प्रशासनिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले नेतृत्व छनोटमा सरकारले आफ्नो विवेक प्रयोग गर्न सक्ने संवैधानिक अधिकार रहेको बताएका छन् भने अर्काेतर्फ लामो समयदेखि स्थापित प्रशासनिक परम्परा र वरिष्ठताको मूल्यांकन कमजोर बनाइएको टिप्पणी पनि भइरहेको छ।
नयाँ मुख्यसचिव कार्कीले पदभार ग्रहण गरिसकेका छन् भने वरिष्ठ सचिव किरणराज शर्मा भने बिदामै रहँदा सचिव पदबाट अनिवार्य अवकाशमा जाने तयारीमा छन्। यस घटनाले निजामती प्रशासनमा नेतृत्व चयनको आधार, वरिष्ठताको सम्मान र भविष्यमा मुख्यसचिव नियुक्तिको अभ्यासबारे थप बहस सिर्जना गरेको छ।





























